होटल क्षेत्र खुल्यो, 'ग्राहक तान्न अस्वस्थ प्रतिस्पर्धा हुने डर छ'

 साउन १५, २०७७ बिहिबार १४:२८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको लकडाउनकाे चार महिनापछि होटल तथा रेस्टुरेन्ट व्यवसाय सञ्चालनमा आएका छन् । होटल व्यवसाय सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय हवाई उडान सुरु नहुँदासम्म ठूला होटलहरुले ग्राहक नपाउने निश्चित छ ।

हवाई उडान सुरु भएपछि पनि ग्राहक कम हुने भएकाले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना देखिएको व्यवसायीहरुले बताएका छन् ।

सरकारले साउन ६ गतेदेखि औपचारिक रुपमा लकडाउन हटेकाे घोषणा गर्दै विभिन्न क्षेत्र खाेलेकाे थियो । त्यस्तै साउन १५ गतेदेखि पर्यटन क्षेत्र सञ्चालन गर्न स्वीकृति दिने निर्णयसमेत गरेको थियो । त्यसैले बिहीबारदेखि होटल तथा रेस्टुरेन्टलगायत ट्रेकिङ, ट्राभल र पर्वतारोहणका कार्यालयहरु सञ्चालनमा आउने भएका छन् ।

सरकारले पर्यटन क्षेत्रलाई सुरु गर्न दिए पनि होटल सञ्चालन गर्न समस्या रहेको होटल व्यवसायीहरुले बताएका छन् । खास गरी तारे होटलका ग्राहक पर्यटक भएकाले अन्तर्राष्ट्रिय उडान सञ्चालन नहुँदासम्म होटल सञ्चालन गर्नुको कुनै अर्थ नभएको व्यवसायीहरुले बताएका छन् । बाह्य उडान सञ्चालनमा आएपछि पनि पर्यटक आउने सम्भावना कम भएकाले होटलमा ग्राहक नै नहुने हुन् कि भन्ने चिन्तामा व्यवसायीहरु छन् ।

व्यवसायीहरुले पर्यटकको सङ्ख्या बढाउन अन्तर्राष्ट्रिय बजारमा नेपालमा कोभिड–१९ सङ्क्रमणको जोखिम कम रहेको सन्देश सरकारले प्रवाह गर्नुपर्ने बताएका छन् । व्यवसायीहरुले अन्तर्राष्ट्रिय उडान सुरु भएपछि केही पर्यटकहरु आउन सक्ने भएकाले ती पर्यटकलाई आफ्नो होटलमा तान्न पाँच तारे होटलहरुबीच प्रतिस्पर्धा हुन सक्ने देखिएको बताएका छन् । सीमित ग्राहकलाई आफूतिर तान्न होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना रहेको पनि होटल व्यवसायीहरु बताउँछन् ।

होटल सङ्घकी अध्यक्ष सिर्जना राणाले पाँच तारे होटलहरुबीच शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना देखिएको बताउनुभयाे । होटलको रेटमा अस्वस्थ प्रतिस्पर्धा भए यसले नेपालको होटल क्षेत्रलाई नै बिगार्ने राणाले बताउनुभयो । उहाँले ग्राहक तान्नका लागि रेट घटाउने काम भए होटल क्षेत्रलाई लामो समयसम्म असर गर्ने बताउनुभयो । होटलको गुणस्तर र सेवा कमजोर हुने गरी रेटमा प्रतिस्पर्धा गर्न नहुने राणाले बताउनुभयो ।

कोभिड १९ सङ्क्रमणको जोखिमका कारण पूर्ण क्षमतामा होटल सञ्चालन गर्न सक्ने अवस्था पनि छैन । यसबाट होटलको सञ्चालन लागत बढ्ने छ । त्यसैले खर्च उठाउनका लागि पनि होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ ।

सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईँले होटलहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुने भएकाले होटलहरुको सुविधा कटौती हुन सक्ने सम्भावना रहेको बताउनुभयो । त्यसैले सकारले नै न्यूनतम मापदण्ड तोकेर होटलहरुलाई निर्देशन दिन सके सम्भावित अस्वस्थ प्रतिस्पर्धामा कमी आउन सक्ने चापागाईँले बताउनुभयो ।

पाँच तारे होटलका लागि मुख्य बजार भारत र चीन भएकाले पनि ती दुई देशको स्थिति सामान्य नहुँदासम्म पर्यटक कम सङ्ख्यामा आउने चापागाईँले बताउनुभयो । त्यसलै सरकारले होटल सञ्चालन गर्न दिएपछि कसरी सर्भाइभ गर्ने भन्ने चुनौती देखा परेको उहाँले बताउनुभयो । धेरैजसो होटलहरुको सञ्चालन खर्च ठुलो भएकाले त्यसलाई कभर गर्न चुनौती रहेको उहाँले बताउनुभयो । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि बनाइएको मापदण्ड पूरा गर्दा कम्तीमा पनि ३० देखि ५० प्रतिशतसम्म सञ्चालन खर्च बढ्न जाने छ ।

नेपालमा कोभिड–१९ सङ्क्रमण देखिए पनि कोरोनाका कारण मृत्यु हुने केस धेरै नदेखिनु नै सबैभन्दा सकारात्मक पक्ष भएकाले यसैलाई लिएर अन्तर्राष्ट्रिय बजारमा नेपाल घुम्नका लागि उपयुक्त छ भन्ने सन्देश दिनुपर्ने चापागाईँले बताउनुभयो । त्यस्तै होटलका तहहरु धेरै भएकाले तीन तारे होटलसम्मलाई आन्तरिक पर्यटनबाट सर्भाइभ गराउन सक्ने गरी सरकारले नीतिगत व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै होटल सञ्चालनकाे खर्च कम गराउनका लागि विद्युतको डिमाण्ड चार्जेजमा विशेष छुट हुनुपर्ने उहाँले बताउनुभयो ।

सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु भदौ १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको र त्यसपछि मात्रै विदेशी पर्यटक नेपाल घुम्न आउने वातावरण बन्ने भएकाले पाँच तारे होटलको बिजनेस पनि त्यसपछि नै सुरु हुने व्यवसायीहरुले बताएका छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया