दुर्गम गाउँदेखि राष्ट्रसंघको उपल्लो ओहदासम्मको अनुभव पुस्तकमा

 साउन २१, २०७५ सोमबार ९:३१:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपालको दुर्गम पहाडि गाउँमा जन्मे हुर्केको एउटा केटोले कालान्तरमा राष्ट्रसंघको उच्च ओहोदासम्म आफूलाई पु¥यायो । एक्काइसौं सताब्दीका महत्वपूर्ण विश्व घटनाक्रमहरु नियाल्ने मात्र होइन, त्यसमा सरिक हुने मौकासमेत पायो । अन्तर्राष्ट्रिय प्रशासनको उच्च जिम्मेवारीमा रहेकै बखत हामीले समाचारहरुमा सुन्ने गरेका विश्वकै प्रसिद्ध नामहरुसँग उनी भने सहकार्य गरिरहेका हुन्थे ।

मध्यपहाडी जिल्ला गुल्मीको एउटा कमै सुनिएको गाउँबाट उठेका ती मानिसले कसरी त्यहाँसम्मको यात्रा तय गरे ? के कस्ता चूनौतीहरु सामना गरे ? र, अहिले नेपाली समाजले उनीबाट के कस्ता लाभहरु लिइरहेका छन् ? यी तमाम जिज्ञासाहरुको उत्तर दिनका निम्ति पब्लिकेसन्स नेपालयले गैरआख्यान विधालाई निरन्तरता दिँदै नयाँ पुस्तक प्रस्तुत गर्ने भएको छ– ‘ग्लोबल सिटिजन फ्रम गुल्मी – माइ जर्नी फ्रम दी हिल्स अफ नेपाल टु दी हल्स अफ दी युनाइटेड नेशन्स’ (गुल्मीबाट उठेका विश्व नागरिक – नेपालको पहाडहरु देखि राष्ट्रसंघका बैठकहरु सम्मको मेरो यात्रा)। पुस्तक हो कुलचन्द्र गौतमको जिवनी ।

संयुक्त राष्ट्रसंघको उपमहासचिव र राष्ट्रसंघीय वालकोष (युनिसेफ) को कार्यकारी उपनिर्देशकसम्मको जिम्मेवारी निभाएका गौतमका भोगाइ नै यस पुस्तकमा समेटिएका छन् ।

पुस्तकको प्रस्तावनामा राष्ट्रपति विद्यादेवी भण्डारीले युनिसेफमा गौतमको योगदानले संसारलाई आमा तथा बालबालिकाहरुका निम्ति अझ सुरक्षित स्थानमा परिणत गरेको उल्लेख गरेकी छिन् । ‘नेपालको शान्ति प्रकृयामा गौतमको संलग्नताले राजनीतिमा हिंसाको पुनरावृत्तिलाई नियन्त्रित गर्न सघाउ पुर्याएको छ,’ राष्ट्रपति भण्डारीको भनाइ छ, ‘अवकाशका दिनमा पनि अन्तर्राष्ट्रिय प्रशासनको अनुभव सहित नागरिक समाजको अगुवाका रुपमा योगदान दिइरहने गौतमको जीवनपथ अरुका निम्ति पनि अनुकरणीय हुनसक्छ ।’

आफ्ना सहकर्मीको जीवनी प्रकाशित हुन लागेकामा प्रसिद्ध विकास अर्थशास्त्री सर रिचार्ड जोलीले भूमिका लेख्दै विश्वका धनी मुलुकमा मध्यमवर्गीय सुविधा सहित जन्मेकाहरुको निम्ति यो जीवनी शिक्षा हुन सक्ने औंल्याएका छन् । ‘यस पुस्तकमार्फत विश्वकै नेताहरु र सेलिब्रिटीसँगको कुलचन्द्रका रोचक र गहिरो संसर्गका आनन्द पाठकहरुले पाउने छन्,’ उनले उल्लेख गरेका छन्, ‘नेपालको एउटा गाउँबाट उठेको व्यक्तिले यति उर्जा र दूरदर्शिता प्रस्तुत गर्नसक्छ भने विश्वका अन्यत्र जन्मेका मानिसहरुभित्र यसैगरि लुकेका प्रतिभा उजागर भइदिए झन कस्तो होला ?’

पुस्तक गौतमको ग्रामीण बाल्यकालबाट सुरु हुन्छ । त्यो स्कुल, विजुली वा बाटोघाटो केही नभएको दुर्गम गाउँ थियो । त्यस्तो ठाउँबाट उठेर उनी युनिसेफको उच्च ओहदामा पुग्छन् । त्यसपछिको तीन दसकसम्मका उथलपुथल र उकाली ओराली यात्राहरुका रोचक वर्णन पुस्तकमा उल्लेखित छ । त्यहि यात्रामा नेल्शन मण्डेला, आङ सान सू की, बिल गेट्स, एडवार्ड शेभर्नात्जेदेखि थाइल्याण्डका राजा भूमिबोल अदुल्यादेज अनि युनिसेफका थुप्रै सद्भावनादूतहरु सम्मका रोचक भेटघाटहरुको प्रसंग उल्लेख भएका छन् । आफ्ना यिनै अनुभवका आधारमा गौतमले नेपाल, संयुक्त राष्ट्रसंघदेखि समग्र विश्व समाजकै भविष्यका बारेमा आफ्ना धारणासमेत प्रस्तुत गरेका छन् ।

एक विशिष्ट कुटनीतिज्ञ र विकासे अभियन्ताको हैसियतले गौतमले अहिले पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुमा सक्रिय सहभागिता जनाइरहेका छन् । नेपालको प्रधानमन्त्रीका विशेष सल्लाहकार रहेर विश्व मामिला तथा शान्ति प्रकृयाबारे अवगत गराउने दायित्व पनि उनले निभाएका छन् । त्यसबाहेक नागरिक समाजको एक अनुभवी सदस्यका रुपमा उनले मानवअधिकार, सामाजिक आर्थिक विकास, लोकतन्त्र र सुशासनका क्षेत्रमा पनि योगदान पु¥याउँदै आएका छन् । त्यसैगरि अन्तर्राष्ट्रिय जगतमा पनि उनी राष्ट्रसंघको दीगो विकास लक्ष्यका विशेषगरि वाल अधिकार, स्वास्थ्य, आधारभूत शिक्षा र मानव विकासका कदमहरुमा सक्रिय सहभागीता जनाइरहेका छन् ।

‘एउटा गाउँले केटो कसरी राष्ट्रसंघीय संयन्त्रकै उपल्लो ओहदासम्म पुग्न सक्यो भन्ने प्रेरणादायी जानकारी गौतमको यस जीवनीबाट मिल्छ,’ वरिष्ठ पत्रकार कुन्द दीक्षितले पुस्तकको अन्तिम पातोमा लेखेका छन्, ‘झट्ट हेर्दा नरम बोलीमा प्रकट भएता पनि चट्टानी मान्यताहरु र सामाजिक न्यायका निम्ति कदापी पछि नहट्ने अडानहरु नै गौतमको पहिचान हो ।’

पुस्तक आगामी मंगलबार सार्वजनिक हुँदैछ । सोही दिनदेखि पुस्तक अमेजोनको पीओडी  (प्रिन्ट अन डिमाण्ड) र किण्डल मार्फत संसारभर उपलब्ध हुने छ ।

पातलो गाता पुस्तक को मूल्य ८९५ रुपैया र मोटो गाता पुस्तकको मूल्य १३९५ रुपैयाँ राखिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया