नगरको नयाँ विकास : पैसा खोलामा, खोला खेतमा

 साउन २१, २०७५ सोमबार १८:३०:११ | दीपक भट्ट

रामेछाप – हचुवाको भरमा रणजोर खोला आसपासका खेतीयोग्य जमिन जोगाउने नाममा मन्थली नगरपालिकाले दुई आर्थिक वर्षमा गरेको लाखौँ रुपैयाँ रकम खोलाले बगाएर स्वाहा भएको छ भने किसानको खेतमा खोलो बगेको छ । 

मन्थली नगरपालिका वडा नम्बर ३ को कठजोर र वडा नम्बर ४ को सालुको घ्याप्चे शीर हुँदै मन्थली नगरपालिका वडा नम्बर १ मन्थलीघाटमा आएर तामाकोशी नदीमा टुंगिने रणजोर खोलाले बर्सेनि किसानहरुको खेतीयोग्य सयौं रोपनी जमिन कटान गर्दै आएको छ । नगरपालिकाले किसानहरुको खेतीयोग्य जमिन कटान रोक्ने उद्धेश्यले गरेको दुई आर्थिक वर्षको मसान्तमा लाखौँ रुपैयाँ रकम खर्चेको भए पनि प्रभावकारी बनेको छैन ।

खोला खोल्ने नाममा मन्थली नगरपालिकाले आर्थिक वर्ष २०७३-०७४ मा ७ लाख रुपैयाँ र आर्थिक वर्ष २०७३-७४ मा ५ लाख रुपैयाँ गरी १२ लाख रुपैयाँ रकम खर्च गरेको थियो । दुई आर्थिक वर्षमा गरेको यति धेरै रकमको चिनो नै नराखी सबै रकम खोलाले बगाएर तामाकोशी नदीमा मिसाएको छ । नगरपालिकाले खोला खोल्ने नाममा हचुवाको भरमा रकम खर्च गरेको स्थानीयहरुको आरोप छ । 

यसअघि पनि खेतीयोग्य जमिन जोगाउने उद्धेश्यले जिल्ला कृषि विकास कार्यालय, जलउत्पन्न प्रकोप विभाग, तत्कालीन जिल्ला विकास समिति र गाउँ विकास समिति, भूसंरक्षण कार्यालय, सिंचाइ डिभिजन विभाग लगाएतले करोडौँ रुपैयाँ लगानी गरेको भए पनि खोला नियन्त्रण हुन सकेको   थिएन । विगतलाई हेर्दै नहेरी नगरपालिकाले हचुवाको भरमा लाखौँ रुपैयाँ रकम खोलामा हाल्नु गलत भएको जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सयौँ वर्षदेखि बहँदै आएको खोलालाई छेक्न र खोलालाई हामीले भनेको ट्रयाकमा हिडाउँन सकिँदैन । नगरपालिकाले दुई वर्ष लगानी गरेको एक चिम्टी पनि केही नराखी खोलाले बगाएपछि यसवर्षबाट नगरपालिकाले किसानहरुको खेत जोगाउन छुट्टै विकल्प खोज्नु पर्छ । हचुवाको भरमा लगानी गर्न हुँदैन ।’

नगरपालिकाले आएको रणजोर खोलालाई तामाकोशी नदी किनारवाट खोल्दै खोलाको गेगर दुवैतर्फ उकास्दै वडा नम्बर –१, मा रहेको भैश्वेस्वर चोकसम्म ल्याएको थियो । खोला बहने बहाव एकतिर पारेर किसानहरुको खेत जोगाउने उद्धेश्य राखेको नगरपालिकाको उक्त योजना दुवै वर्ष विफल भएको छ । खोलाको बीच भागमा एक्साभेटर लगाएर खाल्डो बनाएपछि खोलाले दुवै तर्फको सयौं रोपनी खेतीयोग्य जमिन कटान गरेर झारेपछि किसानहरु झनै चिन्तित भएको स्थानीय किसान धनबहादुर श्रेष्ठले बताउनुभयो । 
 

खोलाले मन्थली –३, को शिरानदेखि तामाकोशी नदी छेउसम्मको झण्डै १ हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन कटान गरेको छ । हिउँदभर डोजर र कामदार लगाएर खेतका  ठूला–ठूला गह्रा बनाएर वर्षापछि धान रोपाइँ गरेका किसानहरुको खेत खोलाले धानसँगै बगाएपछि किसानहरुलाई झनै चिन्तित बनाएको कृषक कृष्णबहादुर श्रेष्ठले बताउनुभयो । 
    

खोलामा खर्चेको  पैसाका बविषयमा जानकारी लिन खोज्दा मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त न्यौपानेसँग सम्पर्क हुन सकेन ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया