बेपत्ता विद्यार्थीको उद्धार गर्न गृह मन्त्रालयमा गुहार

 साउन २१, २०७५ मंगलबार ५:३०:१ | रासस
unn.prixa.net

सोलुखुम्बु - गोक्यो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले गृहमन्त्रालयसमक्ष सहयोग मागेको छ । 

तीन दिनदेखि बेपत्ता उनीहरुको खोजीमा जिल्लाको प्रयास असफल भएपछि सोमबार सुरक्षा समितिको बैठक बसेर गृहमन्त्रालयमा सहयोगका लागि अनुरोधपत्र पठाइएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । 

ताल चिसो र गहिरो भएकाले उद्धारको प्रयास सफल हुन नसकेको प्रजिअ रानाको भनाइ छ । उहाँले भन्नुभयो, “उद्धारका लागि आइतबार नेपाली सेना पनि परिचालन गरिएकोे तर तालीम प्राप्त जनशक्ति र पर्याप्त साधन नहुँदा सकिएन ।” 

उद्धारका लागि गृहमन्त्रलायबाट साधनसहितको थप दक्ष जनशक्ति गोक्यो आउने प्रजिअ रानाले विश्वास व्यक्त गर्नुभयो । घटनास्थल आसपासमा सञ्चार सम्पर्कसमेत नहुने भएकाले सञ्चार सम्पर्क गर्नसमेत करीब २ घण्टाको पैदल यात्रामार्फत तल झर्नु पर्ने प्रहरीले जनाएको छ । 

गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका तीन जना विद्यार्थी शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका हुन् । नुहाउने क्रममा बेपत्ता हुनेमा खुम्जुङ मावि कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराइली रहेका छन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया