साउन महिनाको व्यापार : निर्यातमा सुधार, आयात घट्दा राजस्वमा कमी

 भदौ २, २०७७ मंगलबार १४:३२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो महिनामा विदेशबाट वस्तु आयात मनग्य घटेको छ । भन्सार विभागका अनुसार साउन महिनामा वस्तु आयात १९ दशमलव ६ प्रतिशतले घटेको छ ।

गएको वर्षको साउनमा एक खर्ब ६ अर्ब ७२ करोड रुपैयाँको वस्तु आयात भएकोमा यो वर्षको साउन महिनामा ८५ अर्ब ८० करोड ६७ लाख रुपैयाँको वस्तु आयात भएको छ । गएको वर्षको साउनमा आयात ११ दशमलव ५१ प्रतिशतले घटेको थियो । 

यो वर्षको साउन महिनामा निर्यात व्यापार भने गएको वर्षको तुलनामा झण्डै नौ प्रतिशतले बढेको छ । साउन महिनामा नौ अर्ब ६१ करोड ९८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गएको वर्षको साउनमा आठ अर्ब ८३ करोड ६४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । यो वर्ष निर्यात आठ दशमलव ८७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ । 

सुरुको महिनामा व्यापार घाटा ९७ अर्ब १० करोड रुपैयाँ कायम भएको छ । गएको वर्ष यही अवधिमा ९७ अर्ब ९५ करोड रुपैयाँ व्यापार घाटा रहेको थियो । 

आयात व्यापार घटेसँगै भन्सार राजस्व सङ्कलनमा पनि कमी आएको छ । गएको वर्षको साउनको तुलनामा यो वर्षको साउनमा भन्सार राजस्व सङ्कलनमा १७ दशमलव शून्य सात प्रतिशतले कमी आएको छ । साउनमा जम्मा २२ अर्ब ८४ करोड ७० लाख रुपैयाँ भन्सार राजस्व सङ्कलन भएको छ । गएकाे वर्ष यही अवधिमा २७ अर्ब ५४ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया