टेलिमेडिसिन कार्यक्रम बन्द हुने अवस्थामा, दुर्गमका हजारौं नागरिक प्रभावित हुने

 साउन २२, २०७५ मंगलबार १३:५५:४२ | बेदानन्द जाेशी
unn.prixa.net

काठमाडाैं - विशेषज्ञ डाक्टरको पहुँचभन्दा टाढा दुरदराजमा रहेका नागरिकलाई स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउँदै आएको टेलिमेडिसिन कार्यक्रम सरकारले पैसा नदिंदा बन्द हुने अवस्थामा पुगेको छ ।

सरकारले पाटन अस्पतालसँग सहकार्य गरेर सुरु गरेको यो कार्यक्रम सरकारको वेवास्ताका कारण बन्द हुने अवस्थामा पुगेको हो । 

पहाडी र हिमाली २५ जिल्लामा सेवा सञ्चालन गर्दै आएको टेलिमेडिसिनका लागि सरकारले रकम उपलब्ध नगराउँदा सञ्चालन गर्न समस्या भएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यक्रम सञ्चालन भएको दुई वर्षसम्म नियमित रुपमा वजेट प्राप्त भए पनि पछि समयमै वजेट नआउँदा कार्यक्रम सञ्चालनमा समस्या भएको हो । 

चार वर्षदेखि सरकारले यो कार्यक्रम सञ्चानमा लाग्ने खर्चको लागि रकम विनियोजन नगरेकाले अस्पतालले नै अहिलेसम्म डाक्टरलाई तलब दिँदै आएको पाटन अस्पतालले जनाएको छ । 

यो कार्यक्रममा कार्यरत सातजना मेडिकल अफिसरको तलब प्राप्त नभएको र जनशक्ति परिचालनको लागि पनि रकम व्यवस्थापन गर्न समस्या भएकाले यो खर्च सधैं अस्पतालले व्यहोर्न नसक्ने निर्देशक शर्मा बताउनुहुन्छ । 

सरकारबाट एक करोड ९६ लाख रुपैयाँ लिन बाँकी रहेको र रकम भुक्तानीका लागि पटकपटक निवेदन दिँदापनि स्वास्थ्य मन्त्रालयले ध्यान नदिएको उहाँले बताउनुभयो । 

‘हामीले त सरकारको कार्यक्रमसँग सहकार्य मात्र गरेका हौं, त्यत्रो खर्च हामी बेहोर्न सक्दैनौं ।’ निर्देशक शर्माले बताउनुभयो । 

ग्रामीण टेलिमेडिसिन कार्यक्रम मार्फत ३१ वटा रोगका विशेषज्ञबाट परामर्श र उपचारका लागि सल्लाह दिने काम हुँदै आएको छ । यो कार्यक्रमबाट औसतमा वर्षको चार हजार जति बिरामीले सेवा लिदै आएको तथ्यांक पाटन अस्पतालसँग छ ।

हिमाली र पहाडी भेगका २५ वटा जिल्ला अस्पतालसँग सहकार्य गरी स्वास्थ्य सेवा विभागले रोगको प्रकृति अनुसार पाटन अस्पतालका विशेषज्ञ डाक्टरबाट परामर्शसहित उपचार दिने गरेको छ ।

विशेषज्ञ डाक्टरको पहुँचमा नरहेका हिमाली र पहाडी भेगका नागरिकलाई टेलिफोन र भिडियोबाटै भएपनि उपचार र परामर्श दिनका लागि २०६५ सालदेखि टेलिमेडिसिन सेवा सुरु गरिएको हो ।  
कार्यक्रमका लागि पाटन अस्पताललाई रकम उपलब्ध गराउनुपर्ने दायित्व रहेको स्वास्थ्य सेवा विभागले दुई वर्षदेखि सरकारबाटै बजेट नआएको बताएको छ । 

विभागका प्रमुख जनस्वास्थ्य प्रशासक रमेश अधिकारीले पाटन अस्पतालबाट रकम भुक्तानीका लागि विभागमा चिठ्ठी आएको तर कार्यक्रम सञ्चालनको लागि मन्त्रालयबाटै बजेट प्राप्त नभएकाले कार्यक्रम बन्द हुने  सम्भावना बढेको बताउनुभयो । 

विविध कारणले गर्दा यो सेवाको लागि बजेट विनियोजन गर्न नसकेको स्वास्थ्य मन्त्रालयका योजना महाशाखा प्रमुख लिलाराज पौडेलले उज्यालोलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार स्थानीय तहका कर्मचारीलाई बजेट अपुग हँुदा सेवाका लागि बजेट नपुगेको हो ।

तर टेलिमेडिसिन जस्तो उपयोगी कार्यक्रम वजेट अभावमा बन्द हुने अवस्थामा पुग्नु लज्जास्पद भएको पौडेलले स्विकार्नुभयो । उहाँले भन्नुभयो टेलिमेडिसिन बन्द नगर्न हामी गृहकार्य गरिरहेका छौं । 


विभागले करोडौं रुपैया लगानी गरेर २५ वटै जिल्लामा कम्प्युटर, टीभी, क्यामरा वितरण गरी सेवा विस्तार पनि गरेको छ ।

तर केही जिल्लामा नेटवर्कको समस्या भएका कारण सेवा सञ्चालन गर्न समस्या हुँदा फोनबाटै सेवा लिन सक्ने गरि हेलो स्वास्थ्य कार्यक्रम पनि सञ्चालनमा छ । 

तर जिल्ला अस्पतालमा प्राविधिक रुपमा दक्ष जनशक्ति नहुँदा हेलो स्वास्थ्य कार्यक्रम सोचेजस्तो भने हुन सकेको छैन । 

निकै प्रभावकारी रहेको टेलिमेडिसिनको सेवा सरकारले झन विस्तार गर्नुको साटो भइरहेकोलाई पनि रकम नछुट्याउनु दुखद भएको पाटन अस्पतालका निर्देशक शर्माले गुुनासो गर्नुभयो । 
 

अन्तिम अपडेट: फागुन २७, २०८०

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया