सवारी दुर्घटना रोक्न डोटीमा स्टील बार लगाइँदै

 साउन २२, २०७५ मंगलबार १४:२९:४५ | विमल बिष्ट
unn.prixa.net

डोटी – सवारी दुर्घटना रोक्नका लागि सडक किनाराका छेउ छाउमा स्टील बार लगाउन थालिएको छ ।

डोटीका अति सम्बेदनशील सडक तथा दुर्घटना बढी हुने ठाउँहरुका सडक किनारमा स्टील बार लगाउन थालिएको हो । क्षेत्रीय सडक कार्यालय तथा डिभिजन सडक कार्यालय कुल्पाते दिपायलको सहयोगमा जिल्लाका दिपायल, सिलगढी, शान्तिनगर, फूलौट, रामपुर, कालागाढलगायतका क्षेत्रकका सडक किनारामा स्टिलबार लगाउन थालिएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलका डिभिजन प्रमुख रुपकराज भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यहाँका अति सम्बेदनशिल तथा दुर्घटना बढी हुने सडक किनारामा स्टिलबार लगाउन थालेका छौं, स्टिलबार लगाएपछि दुर्घटनामा केही कमी आउने छ ।’ डोटीमा सडक दुर्घटनाका कारण बर्सेनि दजनौं स्थानीयले अकालमै ज्यान गुमाउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताउनुभयो ।

‘कच्ची सडक मात्र नभएर जिल्लामा रहेका पक्की पीच सडकमा पनि बर्सेनि ठूला सवारी दुर्घटना भएको पाइएको छ’, उहाँले भन्नुभयो, ‘सडकको बनावट र चालकको लापरबाहीले बढी दुर्घटना भएको देखिन्छ, स्टील बारले दुर्घटना भए पनि केही छेक्न सक्छ ।’

डोटीका सडक किनारामा स्टील बार लगाउन थालिएपछि यहाँका चालकहरु पनि खुशी हुन थालेका छन् । अत्तरीया दिपायल हुँदै बाजुरासम्मका दुर्घटना बढी हुने विभिन्न सडकहरुमा स्टील बार लगाइने सडक डिभिजन प्रमुख भण्डारीले बताउनुभयो । उहाँले थप भन्नुभयो, ‘बढी दुर्घटना हुने तथा जोखिम बढी भएका सडकमा हामीले स्टिल बार लगाउँदै छौं, स्टिल बारले सवारी दुर्घटना अवश्य रोक्ने छ ।’

४ महिनामा ४ ठूला घटना : ३३ ले ज्यान गुमाए 

गएको वैशाखयता चार वटा ठूला घटना भएका छन् । ती दुर्घटनामा परि डोटीका ३३ जनाले ज्यान गुमाएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार वैशाख ८ गते शिखर नगरपालिका–३ जोरागाउँमा से १ ज ५२७५ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ज्यान गयो । त्यस्तै बोगटान गाउँपालिका–६, गगुडामा गएको जेठ १४ गते भएको जीप दुर्घटनामा तीन जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गयो ।

त्यसैगरी असार १९ गते डोटीको आदर्श गाउँपालिका–१ चाँसीमा करेण्ट लागेर चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गयो । विद्युत प्राधिकरणले रिलोकेसन गर्दा खाली रहेको पोल अर्को ठाउँमा प्रयोग गर्ने गरी झिक्ने क्रममा पोल ढल्न गई हाइटेन्सन लाइनमा छुँदा पाँच जनाको ज्यान गयो । 

त्यसैगरी साउन १ गते डोटी आदर्श गाउँपालिका–४, देहीकी एक महिलाले आफ्ना दुई छोरा र एक छोरीसहित सेती नदीमा हाम फालिन् । यी घटनाका श्रृंखला हेर्दा डोटी जिल्लामा प्रत्येक महिना एक ठूलो दुःखद् घटना हुने गरेको छ ।

यस्तै छिमेकी जिल्ला डडेल्धुरामा भएको सवारी दुर्घटना डोटीबासीका लागि पाँचौ पीडादायी घटनाभयो । जेठ १५ गते गन्यापधुरा गाउँपालिका–३, गज्रौला, डडेल्धुरामा से १ ज ३३० नम्बरको शैलेश्वरी यातायातको जीप दुर्घटनामा मृत्यु भएका चार जनामध्ये डोटीका तीन जना परे । 

प्रहरीका अनुसार बिष सेवन गरेर दुईजनाले आत्महत्या गरेका छन् । झुण्डिएर दुई जनाले ज्यान गुमाए । अन्य दुई सवारी दुर्घटनामा, रुखबाट लडेर एक जना, ढुंगा लागेर एक जना, पानीमा डुबेर एक जना र कर्तव्य ज्यानमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीको तथ्यांकमा उल्लेख छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया