सभापोखरीबाट साहित्यिक यात्राको सुरुवात

 साउन २२, २०७५ मंगलबार १५:५८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा - 

पोखरीबीच कमलासन-व्यासले पुराण लाए भन्छन् ।
स्रोता बनी देउता, परी सप्तऋषी आए भन्छन् ।।
भजन, कीर्तन, बालन अनि आरतिका रागहरू ।
मधुर–मधुर स्वरका धनी गन्धर्वले गाए भन्छन् ।। 

ताराबहादुर बुढाथोकीले सभापोखरी पुगेर सिर्जना गरेको गजल हो यो । 

संखुवासभामा साहित्यिक गतिविधि गर्दै आएको मकालु साहित्य समाजले सुरु गरेको समृद्धिका स्वरहरु नामक साहित्यिक यात्राका क्रममा बुढाथोकी जस्तै सभापोखरी पुगेका धेरै श्रष्टाले साहित्य सिर्जना गरेका छन् । 

समाजका ९ जनाले व्यक्तिगत खर्चमा साहित्यिक यात्रा सुरु गरेका हुन् ।

समुद्री सतहबाट ४ हजार २ सय ४० मीटर उचाईमा रहेको धार्मिक तीर्थस्थल सभापोखरीबाट सुुरु भएको यात्रा नेपालका विभिन्न तीर्थस्थल र पर्यटकीय क्षेत्रमा पनि हुने समाजले जनाएको छ । 

साहित्यबाट समाज परिवर्तन गर्ने लक्ष्य लिएर यात्रा सुरु गरिएको समाजका अध्यक्ष ताराबहादुर बुढाथोकीले बताउनुभयो । 

तीर्थस्थलको प्रचारप्रसारका लागि निरन्तर रुपमा साहित्यिक यात्रा गर्ने योजना रहेको अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो । 

अब साहित्यिक यात्रा लिएर भोजपुरको साल्पा, सोलुखम्बुको सगरमाथा आधारशिविर, ताप्लेजुङ्गको पाथीभरा र महाकालीको लिपुलेक पुग्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । 

हामी धार्मिक पर्यटनलाई विशेष महत्व दिएर कविता, गीत, गजल र साहित्यमार्फत प्रचारप्रसार गर्ने उहाँले बताउनुभयो । 

सदरमुकाम खाँदबारीबाट चार दिनको पैदल यात्रापछि सभापोखरी पुग्दा स्वर्ग पुगेको जस्तै आन्नद मिलेको कवि तथा समाजका सदस्य कृष्ण भण्डारीले बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया