चुनाव हारेका वामदेव संसदमा किन चाहियो ?

 साउन २२, २०७५ मंगलबार १६:३७:५२ | नवराज फुयाँल
unn.prixa.net

काठमाडौं – तत्कालीन एमाले र माओवादी केन्द्रबीच गठबन्धन बनाएर चुनावमा होमिने योजना बनाउनेमध्येका एक प्रमुख सूत्रधार वामदेव गौतम त्यही चुनावमा पराजित हुनुभयो । 

गएको मंसिरमा भएको प्रतिनिधिसभा चुनावमा बर्दिया क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका तत्कालीन एमालेका वामदेव गौतम कांग्रेस उम्मेदवार सञ्जय गौतमसँग पराजित हुनुभएको थियो ।

देशैभर वाम लहर चल्दा चुनाव हारेका गौतमलाई अहिले उपचुनावबाट संसदमा ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आन्तरिक तयारी थालेको छ । पर्यटन राज्यमन्त्री रहेका नेकपाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर डोल्पामा उपचुनाव गराई गौतमलाई उम्मेदवार बनाउने तयारी गरिएको हो ।  

२०७० को दोस्रो संविधानसभामा तत्कालीन एमाले प्रवेश गरेर सभासद् समेत बनेका बुढा गएको मंसिरमा भएको चुनावमा पनि ११ हजार ७ सय ६१ मत ल्याउँदै विजयी हुनुभएको हो । एमाले प्रवेश गर्नुअघि बुढा लामो समय राप्रपाको राजनीतिमा हुनुहुन्थ्यो । 

अहिले तिनै बुढालाई सांसदबाट राजीनामा गर्न लगाएर डोल्पामा उपचुनाव गराई गौतमलाई उम्मेदवार बनाउने नेकपाले आन्तरिक तयारी थालेको हो । 
वामदेव नै किन ?

तत्कालीन एमाले र माओवादी केन्द्र एक भएर चुनावमा होमिँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता भएको खण्डमा आफ्नो तर्फबाट भावी प्रधानमन्त्रीमा गौतमलाई अघि सार्ने प्रतिवद्धता जनाउनुभएको थियो ।  

अहिले पार्टी पनि एक भइसकेको छ । अहिल्यै प्रधानमन्त्री परिवर्तन नभए पनि गौतमलाई संसदमा ल्याउन पाए आफू बलियो बन्ने बुझाइ प्रचण्डमा रहेको देखिन्छ ।  

दाहाल र गौतमको निकटता लामो समयदेखिकै हो । गौतमकै शब्दमा भन्नुपर्दा ‘प्रचण्डसँगको दोस्ती पुरानो हो, पार्टी एकतापछि त झनै गाढा बनेको छ ।’ उता प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले पनि संसदमा तपाईँको आवश्यकता परेको भन्दै सांसद बनाउने आश्वासन गौतमलाई दिइसक्नुभएको छ । 

चुनावका बेला वाम गठबन्धनको जितको लहरमा वामदेव ‘मिस’ हुँदा गठबन्धनका मुख्य दुबै धार एमाले र माओवादी पंक्ति खिन्न थियो । वामदेव दुई पार्टीको मिलनका सेतु हुनुहुन्थ्यो ।

चुनाव हारे पनि दुबै पार्टीलाई एक गराउने सवालमा खेलेको भूमिकाले गर्दा गौतम तत्कालीन एमाले र माओवादीभित्र प्रशंसाको पात्र बन्नुभयो । त्यसैले अहिले वामदेवलाई जसरी पनि सांसद बनाउने तयारीमा नेकपा लागेको हो । 

‘मेरो अनुभव नै संसद छिर्ने बाटो’ 

गौतमले आफूसँग २०४८ देखि पटक पटकको संसदमा रहँदाको अनुभव रहेकाले पार्टीले अहिले पनि संसदमा लैजान खोजेको बताउनुभयो । २०४८, २०५१ र २०७० मा सांसदको रुपमा काम कारवाही सफल बनाउन आफूले महत्वपूर्ण भूमिका खेलेको बताउँदै गौतमले अहिले पनि पार्टीले आफ्नो आवश्यकता देखेरै संसदमा लैजाने तयारी गरेको खुलाउनुभयो ।  

संविधान निर्माण, शान्ति प्रकृया र गणतन्त्र ल्याउन आफूले निकै ठूलो भूमिका निर्वाह गरेको भन्दै गौतमले अहिलेको संसद सफल बनाउन पनि पाएको भूमिका कुशलतापूर्वक निर्वाह गर्न तयार रहेको बताउनुभयो । संसदलाई दिशा दिन सक्ने, सबैलाई मिलाएर हिँड्ने आफूजस्तो नेताको अहिले खाँचो रहेको उहाँको दावी छ । 

नागरिकले चुनावमा पराजित गराईदिएको भए पनि फेरि सांसद हुन किन मरिहत्ते गरेको भन्ने जिज्ञासामा गौतमले आफू हारेको नभई प्राविधिक कारणले मात्रै पछि परेको र अब यतिकै संसद छिर्ने नभई नागरिकबाटै अनुमोदन भएर जाने बताउनुभयो ।  

मलाई जानकारी नै छैन : बुढा

गौतमलाई अहिले पर्यटन राज्यमन्त्री समेत रहेका नेकपाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न लगाएर डोल्पामा उपचुनाव गराई उम्मेदवार बनाउने आन्तरिक तयारी गरिएको छ ।

तर राज्यमन्त्री बुढाले भने राजीनामाबारे अहिलेसम्म आफूलाई कुनै जानकारी नभएको बताउनुभयो ।

पार्टीले के निर्णय गर्छ त्यसै अनुरुप अघि बढ्ने भन्दै बुढाले आफ्नो योगदान पार्टीले कदर गर्ने विश्वास पनि व्यक्त गर्नुभयो । 

डोल्पाली युवाको आपत्ति

यता डोल्पाका युवाहरुले भने सांसद धनबहादुर बुढालाई राजीनामा गराउने षड्यन्त्र भएको भन्दै यो कुरा आफूहरुलाई मान्य नहुने चेतावनी दिइसकेका छन् ।  

सांसद बुढालाई राजीनामा गराएर त्यस क्षेत्रमा बर्दियाबाट चुनाव हारेका नेकपाका नेता गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन चलखेल भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । 

युवाहरुले गएको शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन नै गरेर यस्तो चेतावनी दिएका हुन् । सांसद बुढाले डोल्पाली नागरिकको विश्वास जितेको र उनलाई पाँच वर्षसम्म काम गर्न दिन पनि युवाहरुले नेतृत्वको ध्यानाकर्षण गराइसकेका छन् ।  

चुनावमा पराजित भएका नेता गौतमलाई सांसद बनाए त्यो नेकपाकै लागि पनि इतिहासको सबैभन्दा ठूलो कलंक हुने युवाहरुको तर्क छ । डोल्पाका स्थानीयले पनि बुढा आफ्ना प्रतिनिधि भएकाले उहाँलाई बाध्यतामा पारेर राजीनामा नगराउन चेतावनी दिइसकेका छन् ।  

   

अन्तिम अपडेट: चैत १४, २०८०

नवराज फुयाँल

फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। 

3 Comments

  • shiva rai

    Aug. 8, 2018, 12:18 p.m.

    अरुबेला बालदिने चुनावकोबेला राज्यशक्तिको रवाफ देखाउदै सेन-प्रहरिको लावालस्कर लिएर धुलो उडाउदै चुनाबि क्षेत्र घुम्ने नेता बामपन्थी हुनसक्दैन .. बाम कमरेडको पतनको कारणै त्यही हो .. र यिनी नसुध्रिए अझै जनताले हराइदिनुपर्छ ।

  •  0 Reply
  • Hari bahadur khdka

    Aug. 8, 2018, 9:37 a.m.

    यो कुरा हुँदैन , हामी मान्दैनौं /

  •  0 Reply
  • Aanis

    Aug. 8, 2018, 3:54 a.m.

    Baseball dolpali janatala k k Harlan heru,sachet hi dolpali janata how.

  •  0 Reply

तपाईको प्रतिक्रिया