डाक्टर केसी डिस्चार्ज, सहमति कार्यान्यवयन नभए कडा विरोधमा उत्रने चेतावनी

 साउन २२, २०७५ मंगलबार १६:५०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – डाक्टर गोविन्द केसीले सरकारले आफूहरुसँग गरेको सहमति कार्यान्वयन गर्न छलछाम गरे कडा विरोधमा उत्रिने चेतावनी दिनुभएको छ ।

१५ औं पटक २७ दिनसम्मको अनसन बसेर गएको १० गते सरकारसँग वार्ता भएपछि अनसन तोडेका डाक्टर केसीले मंगलबार पत्रकार सम्मेलन गर्दै आफूहरुसँग सरकारले गरेको वार्ता अक्षरशः कार्यन्वयन गर्नुपर्ने बताउनुभएको हो ।

डाक्टर गोविन्द केसीले आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा उपचारपछि घर फर्कने क्रममा डाक्टर केसीले पत्रकार सम्मेलन गरी साउन १० गते भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।

केसी र सरकारबीच चिकित्सा शिक्षा विधेयक संशोधन लगायत ९ बुँदामा सम्झौता भएको थियो । आफूहरुसँगको सम्झौता मन्त्रिपरिषदबाट अनुमोदन हुनु पर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने तथा जाँचबुझ आयोगले दोषी ठहर गरेका पदाधिकारीहरुलाई कारबाही गर्ने लगायतका सहमति तत्काल कार्यान्वयनमा लैजान डाक्टर केसीले सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

डाक्टर केसीले चिकित्सा शिक्षा विधेयक २०७५ मा सत्तारुढ दल तथा विपक्षी दलका सांसदहरुबाट संशोधन समेत हालिएको भन्दै अनसन टुंग्याउने क्रममा सत्तारुढ दलका नेताहरुले जनाएको प्रतिबद्धता अनुसार चिकित्सा शिक्षा ऐन जारी हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

डाक्टर केसीको स्वास्थ्य अवस्था समान्य हुन थालेपछि उहाँ मंगलबार डिस्चार्ज हुनु भएको हो । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया