सिक्किमले नेपाल जोड्ने पहिलो सडक बनाउँदै

 साउन २२, २०७५ मंगलबार १७:६:२७ | रासस
unn.prixa.net

पाँचथर – भारतको सिक्किम सरकारले पश्चिम सिक्किममा रहेको सुन्दर उत्तरी भेगका गाउँलाई नेपालको सिमानामा रहेको चिवा भञ्ज्याङसँग जोड्न सडक निर्माण गर्न थालेको छ । 

नेपाल सिक्किमबीचको प्रवेशविन्दु चिवा भञ्ज्याङ समुद्र सतहदेखि १० हजार ५०० फिटको उचाइमा छ । उक्त सडकले सिक्किमको पर्यटन र व्यापारमा टेवा पुर्‍याउनुका साथै सिक्किम र नेपाल जोड्ने पहिलो स्तरीय सडक सम्पर्क हुने बताइएको छ । सय किलोमिटरसम्म सिमाना जोडिएको नेपाल र सिक्किमबीच हालसम्म कुनै गुणस्तरीय सडक सम्पर्क छैन । 

उत्तरी–चिवा भञ्ज्याङ मार्ग १८ किलोमिटर लामो हुनेछ । सिक्किम सडक तथा पुल विभागले २५ करोड भारतीय रुपैयाँ विनियोजन गरेको त्यो सडक आगामी माघसम्म निर्माण भइसक्ने आशा गरिएको छ । 

सिक्किमका शहरी विकास र आवास विभागमन्त्री एनके सुब्बाले त्यो सडक धेरै पहिले बनिसक्नुपर्नेमा वातावरणीय अनुमतिमा भएको ढिलाइले निर्माण ढिलो भएको बताउनुभयो । ‘हाल निर्माण तीव्र गतिमा अघि बढिरहेको छ । पुसको मध्यसम्म सडक निर्माण भइसक्ने अनुमान गरिएको छ’, उहाँले भन्नुभयो । स्थानीयवासीका अनुसार खुला सिमानाका कारण दुवैतर्फका जनताले वर्षौँदेखि सानोस्तरमा यहाँबाट व्यापार गरिरहेका थिए ।

तस्बिर - सिक्किम एक्सप्रेस डट कमबाट


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया