अत्यावश्यक वस्तुको ढुवानी सहज बनाउन पालिकाहरुलाई मन्त्रालयको निर्देशन

 भदौ ९, २०७७ मंगलबार ९:८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन निर्देशन दिएको छ । 

विभिन्न जिल्ला तथा पालिकामा निषेधाज्ञाका कारण दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत अवरोध आएको गुनासोपछि मन्त्रालयले अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज बनाउन निर्देशन दिएको हो । मन्त्रालयले सबै पालिकालाई पत्र पठाएर अत्यावश्यक दैनिक उपभोग्य वस्तुको ढुवानी सहज रुपमा हुने व्यवस्था मिलाउन भनेको छ ।

तरकारी, दूधलगायतको ढुवानी सहज नहुँदा किसानको उत्पादन खेर गइरहेको र उपभोक्ताले सामान नपाउने तथा महँगो मूल्य तिर्नुपर्ने गुनासो बढेको छ । ढुवानी सहज नभएकाले कतै उत्पादन खेर जाने र कतै मूल्य बढ्ने गरेको व्यवसायीले बताएका छन् । 

अरु उपभोग्य वस्तुको ढुवानीमा पनि धेरै झन्झट व्यहोर्नुपरेको व्यवसायीको गुनासो छ । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेर औषधि खाद्यवस्तु लगायतका सामग्रीको निर्बाध ढुवानी र किसानको उत्पादन बजारसम्म पुर्याउन सुनिश्चित गराउन अनुरोध गरेको थियो ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया