कुलमान घिसिङकाे कार्यकाल दोहोर्‍याउन कलाकारको माग, सामाजिक सञ्जालमा समर्थन

 भदौ ९, २०७७ मंगलबार १४:५३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

सामाजिक सञ्जाल

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका कुलमानले कुशल व्यवस्थापनमार्फत नेपालमा लोडसेडिङ अन्त्य गरेपछि उहाँको प्रशंसा सुरु भएको थियो । 

नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने र रुग्ण बनेका जलविद्युत् आयोजना तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिएका कारण उहाँको प्रशंसा झनै थपिएको छ । 

उहाँको कार्यकाल सकिनै लाग्दा दोस्रो कार्यकाल पनि प्राधिकरणमा घिसिङलाई नै दोहोर्‍याउनुपर्छ भन्ने माग उठिरहेको छ । सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणको फेसबुक पेजमा ह्यासट्याग नै सुरु भएको छ । 

कलाकारहरुले पनि कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍या​उनुपर्छ भनेर अभियान सुरु गरेका छन् । 

वरिष्ठ कलाकार हरिवंश आचार्यले फेसबुक पेजमा कुलमान घिसिङको फोटो राखेर लेख्नुभएको छ, ‘देशमा अन्धकार ल्याउनेहरु धेरै छन्, तिनीहरुलाई खोजी खोजी हटाउनुपर्छ, उज्यालो ल्याउनेलाई सम्मान गरौँ । उहाँको ऊर्जाले देशको ऊर्जा बढ्नेछ  । 

हास्य कलाकार मनोज गजुरेलले फेसबुकमा लेख्नुभएको छ, ‘बहुमत जनता कुलमानलाई दोहोर्‍या​उनुपर्छ भन्दैछन् भने बहुमतको सरकारलाई यसो गर्न कुन मतले छेक्छ ? ओके छ त भनेर समयको माग र जनताको चाहानाको कदर गरे भैगो । श्री कुलमानलाई नै सदर गरे भैगो ।’  

कुलमानसँग खिचेको फोटो पोस्ट गर्दै नायिका करिस्मा मानन्धरले लेख्नुभएको छ, ‘थोरै आफ्नो सोचेर धेरै अरुको लागि गर्ने कमै मान्छे हुन्छन्, कुलमान घिसिङ फेरि चाहिन्छ ।'  

कुलमानभन्दा अघिल्लो कार्यकालका कार्यकारी निर्देशक मुकेश काफ्ले र कुलमान घिसिङको फोटो राखेर गायक शिव परियारले फेसबुकमा लेख्नुभएको छ, ‘म व्यक्तिगत रुपमा कुलमान घिसिङज्यू फेरि एक पटक विद्युत् प्राधिकरणको हाकिम हुनुपर्दछ भनेर नेपाल सरकारसँग एउटा नेपाली नागरिकको हैसियतमा जोडदार माग गर्दछु । अहिले देशलाई, अहिलेमात्र हैन सधैँभरि देशलाई उज्यालो चाहिएको छ, अब नेपाल सरकारको निर्णय कुरेको छु हेरौँ । आशा छ, उज्यालोप्रेमी हामीजस्ता नेपाली जनताको भावनाको नेपाल सरकारले सम्मान गर्नेछ ।’

गायक प्रमोद खरेलले ट्विटरमा लेख्नुभएको छ, ‘एक सच्चा सपुत कुलमान घिसिङज्यूलाई मिल्छ भने पुन नियुक्ति गर्दा हुन्छ । थाहा छ, व्यक्तिभन्दा विधि ठूलो हो, हो भने नयाँ आउनेले कमसे कम देश र जनताका लागि अर्काे कुलमान बन्न सक्नुपर्छ । नत्र खबरदार ! जनतालाई धोका हुनेछ ।’

कलाकारका पोस्टमा अन्य प्रयोगकर्ताले पनि घिसिङलाई दोहोर्‍याउन माग गर्दै समर्थन जनाएका छन् ।   

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया