गौतमबुद्ध विमानस्थलमा मौसमी सूचना प्रणाली जडान गरिँदै

 साउन २२, २०७५ बुधबार ५:३४:१७ | रासस

काठमाडौं - निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडान गर्ने भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै रहेको यो प्रणालीलाई विस्तार गर्ने लक्ष्यका साथ सरकारले रु ४० लाखभन्दा बढी लगानी गरेर उक्त प्रणाली जडान गर्न लागेको हो । सो प्रणाली जडानका लागि अत्यावश्यक उपकरण केही आइसकेको र केही आउने क्रममा छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा मौसम विज्ञान विभागले त्यसका लागि आवश्यक तयारी गरेको हो । विभागका महानिर्देशक ऋषिराम शर्माले हवाई उड्डयन मौसमी सूचना प्रणाली जडानका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको जानकारी दिनुभयो । 

गौतमबुद्ध विमानस्थल आगामी दश महिनाभित्र सञ्चालनमा आउने भएपछि विभागले पनि मौसमी सूचना प्रणाली स्थापना गरी हवाई यातायातलाई थप सुरक्षित र भरपर्दो बनाउने प्रयास गरेको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मंगलबार जल तथा मौसम विज्ञान विभागको अवलोकन भ्रमण गर्नुभएको छ । जलवायु तथा मौसम पूर्वानुमानका क्षेत्रमा भइरहेका कामलाई थप विस्तार गर्ने उद्देश्यले मन्त्री पुनको विभागमा भ्रमण भएको हो । 

नेपालमा विगतमा भएका हवाई दुर्घटनामध्ये करीब ९० प्रतिशत मौसमकै कारण हुने भएकाले त्यसलाई पनि हटाउन लागिएको हो । महानिर्देशक शर्माले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको त्यस्तो सूचना प्रणालीलाई गौतमबुद्ध विमानस्थलमा जडान गर्न लागिएको जानकारी दिनुभयो । 

सो विमानस्थलमा पनि मौसमी सूचना संकलन, विश्लेषण गर्ने जनशक्ति र आवश्यक उपकरण जरुरी पर्दछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल ३७ कर्मचारी कार्यरत छन् । विभागले गौतमबुद्ध विमानस्थलका लागिसमेत २० कर्मचारी आवश्यक रहेको भन्दै प्रक्रिया शुरु गरेको छ । 

“एक वर्ष भित्रै गौतमबुद्ध विमानस्थल सञ्चालनमा आउने तयारीमा छ, सो अगावै हामीले उपकरण, जनशक्ति उपलब्ध गराएर हवाई मौसमी सूचना संकलन शुरु गरिहाल्नुपर्नेछ, त्यसको तयारीमा हामी लागेका छाँै”, महानिर्देशक शर्माले भन्नुभयो । 

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै रहेको विभागको भवनमा पुगेर मन्त्री पुनले काम–कारवाहीका बारेमा जानकारी लिनुभयो । उहाँले विभागका कर्मचारीसँग अन्तरक्रिया पनि गर्नुभयो । विभागमा मन्त्रीको भ्रमण भएको यो पहिलो पटक हो । 

मन्त्री पुनले मौसमी पूर्वानुमान सेवाको क्षेत्र विस्तार गर्दै निजी र व्यावसायिक क्षेत्रलाई समेत सेवा दिने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले प्राविधिक जनशक्ति, सेवा, विस्तार र बजेटका लागि आफूले सहयोग गर्ने बताउनुभयो । 

मन्त्री पुनले हवाई सेवाका लागि मौसमी पूर्वानुमान अनिवार्य भएको भन्दै यसलाई अझै प्रभावकारी बनाउनसमेत आवश्यक निर्देशन दिनुभयो । उहाँले त्यसका लागि आफूले सबै प्रकारको सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । 

सरकारले २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले यसको व्यवस्था तथा सुरक्षा उपाय अपनाउन पनि केन्द्र जरुरी रहेको मन्त्री पुनको भनाइ छ । विभागले २०२५ सालदेखि मौसम पूर्वानुमानको काम गर्दै आएको छ । 

मुस्ताङ र हुम्लामा मौसम पूर्वानुमान केन्द्र 

यस्तै सरकारले मुस्ताङको जोमसोम र हुम्लाको सिमिकोटमा मौसम पूर्वानुमान केन्द्र स्थापना गर्ने तयारी गरेको छ । देशभर नै मौसम पूर्वानुमानको सूचना संकलनका लागि वस्तुनिष्ठ तथ्याङ्क संकलनका लागि त्यस्तो केन्द्र स्थापना गर्न लागिएको हो । 

मन्त्री पुनले ती केन्द्र स्थापनामा सरकारले आवश्यक तयारी गरिरहेको जानकारी गराउनु भएको थियो । विभागले वर्षामापनका लागि देशभर पाँच सय केन्द्र जडान गरेको छ । 

वर्षा र तापक्रम मापनका लागि १५० र वर्षा, तापक्रम, वाष्पीकरण, हावाको गति मापनका लागि २९ वटा र हवाई मौसमी सूचना प्रणाली १६ वटा जडान गरेको महानिर्देशक शर्माले जानकारी दिनुभयो । 

तीमध्ये चालु आर्थिक वर्षमा ८८ वटालाई स्वचालित प्रणालीमा सञ्चालन गरिनेछ । त्यस्तै नदीको जलसतह मापन गर्न ७० वटा केन्द्र जडान गर्ने लक्ष्य राखिएको छ । 

विभागले गत असार ६ गते उडाएको मौसमी बेलुनको ६ महिनाको तथ्याङ्कलाई अध्ययन गरिनेसमेत शर्माको भनाइ छ । नेपालको मौसमी सूचना प्रणालीलाई थप व्यवस्थित गर्न उक्त बेलुनले महत्वपूर्ण सहयोग गर्नेछ । माथिल्लो वायुमण्डलको मौसमी सूचना, मौसम पूर्वानुमानका लागि उपयोगी हुने र पूर्वानुमान अझ भरपर्दो बनाउनसमेत प्रभावकारी हुने विश्वास लिइएको छ । हाल उक्त बेलुन ३१ दशमलव ५ किलोमिटर माथि वायुमण्डलमा पुगेर मौसमी सूचना सङ्कलन गरिरहेको छ । 

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया