पोग्बाको बार्सिलोना जाने रहर

 साउन २३, २०७५ बुधबार १२:३३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यान्चेष्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले बार्सिलोना जाने इच्छा ब्यक्त गरेका छन् । फ्रेन्च खेलाडी पोग्बाले वर्तमान क्लब युनाइटेडसमक्ष आफू बार्सिलोनामा खेल्न इच्छुक रहेको र त्यसका लागि वातावरण मिलाउनका लागि अनुरोध गरेका छन् ।

पोग्बाले बार्सिलोनासँग हप्ताको तीन लाख ५० हजार पाउण्डको मौखिक सहमति गरिसकेको बताइएको छ ।

२५ वर्षे पोग्बाले क्लबका कार्यकारी उपाध्यक्ष एड उडवाडलाई म्यासेज समेत गरिसकेका छन् । तर क्लबले उनको अनुरोधलाई अस्वीकार गर्ने बुझिएको छ ।

दुई वर्षअघि पोग्बा इटालियन क्लब युभेन्टसबाट त्यसवेलाको विश्व कीर्तिमानी रकम ८९ मिलियन पाउण्डमा युनाइटेडमा आबद्ध भएका थिए ।

प्रिमियर लिग सुरु हुन दुई सातामात्र बाँकी रहेको अवस्थामा युनाइटेडले भने पोग्बालाई बिक्री नगरिने स्पष्ट पारिसकेको छ । तर पनि प्रशिक्षक होजे मोरिन्होले केही खेलाडी किन्नु पर्ने धारणा राखिरहेको बेलामा पोग्बा बेचेर नयाँ खेलाडी अनुबन्ध गर्न सक्नेछ ।

मोरिन्होले प्रि–सिजनमा दुई खेलाडी क्लब भित्राइसकेका छन् । उनी थप दुई खेलाडी थप्न चाहन्छन् । तर क्लबले खेलाडी थप्न रकम निकासा नहुने स्पष्ट पारिसकेको छ ।

क्लबका कार्यकारी उपाध्यक्ष उडवार्डले मोरिन्होलाई थप खेलाडी किन्ने हो भने केही खेलाडी बेच भनिसकेका छन् । यो अवस्थामा मोरिन्हो पोग्बालाई बेच्न इच्छुक रहन सक्नेछन् । तर क्लब भने पोग्बालाई बेच्न चाहँदैन ।

पोग्बाले बार्सिलोनामा ८९.५ मिलियन पाउण्डमा पाँच वर्षका लागि सहमति गरेका छन् । यससँगै उनले हप्तानको तीन लाख ४६ हजार पाउण्ड पारिश्रमिक पाउनेछन् ।

पोग्बा लियोनल मेस्सी र युभेन्टसका पूर्व सहकर्मी आर्टुरो भिडालसँगै नोउ क्याम्पमा खेल्न चाहन्छन् । प्रशिक्षक मोरिन्होसँगको उनको सम्बन्ध पनि त्यति राम्रो छैन । विश्वकप सकिएपछिको प्रि–सिजन टुरमा फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भुमिका खेले पनि मोरिन्होले प्रशंसाको एक शब्द पनि खर्च नगरेको आरोप पोग्बाको छ । बरु मोरिन्होले उनको आचरणको आलोचना गरेका थिए । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया