सुत्केरी बेथा लागेको ३ दिनपछि हेलिकप्टरबाट उद्धार, खर्च सरकारले बेहोर्ने

 साउन २३, २०७५ बुधबार २०:५:४० | राजु लामिछाने

रुकुम पूर्व – तीन दिनअघिबाट सुत्केरी बेथा सुरु भएकी रुकु्म पूर्वकी एक किशोरीको उद्धार गरिएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका –६, को विकट गाउँ मयाङकी १९ वर्षीया मालिका नेपालीलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लिइएको छ ।

पहिलो बच्चाको आमा बन्न लागेकी मालिकालाई तीन दिनअघिबाट सुत्केरी बेथा सुरु भएको थियो । तर गाउँमा राम्रो स्वास्थ्य संस्था नहुँदा उपचार हुन सकेको थिएन् । स्थानीय मेडिकलमा सामान्य उपचार गरे पनि अवस्था गम्भीर बन्दै गएपछि आफन्तले प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मालाई खबर गरेका थिए । 

खबर पाएलगत्तै प्रजिअ शर्माले नेपाली सेनालाई आग्रह गरेर हेलिकप्टर बोलाएको बताउनुभयो । मालिकाको उद्धारको लागि पहिलो पटक गएको हेलिकप्टर प्रतिकुल मौसमका कारण अवतरण हुन नसकी सदरमुकाम रुकुमकोट फर्केको थियो । 

त्यसको आधा घण्टापछि फेरि रुकुमकोटबाट हेलिकप्टर मयाङ् अवतरण गराएर उनलाई नेपालगञ्ज पठाइएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । बिरामीको आर्थिक अवस्था कमजोर भएका कारण सबै खर्च सरकारले नै व्यहोर्ने उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया