अलैंचीको मूल्य घटे पनि किसानको आकर्षण बढ्दो

 साउन २४, २०७५ बिहिबार ७:१:५३ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – हिमाली जिल्ला ताप्लेजुङको मुख्य नगदेवाली अलैंचीको मूल्य घटेपनि कृषकहरुले खेती विस्तार गरिरहेका छन् । धान, मकै तथा कोदोलगायतका अन्न बाली उब्जानी हुने खेती योग्य जमिनलाई मासेर अलैंची लगाउने प्रकृया रोकिएको छैन । अन्य बालीले भन्दा अलैंचीको मूल्य घटे पनि आम्दानी बढी हुने भएकोले पनि अलैंचीको विस्तार नरोकिएको हो ।

खोल्सीको कालो सुन भनेर चिनिने अलैची धान फल्ने खेत मात्र होइन, खोल्सा खोल्सीलगायत सबै ठाउँमा लाग्ने र खेर गएको ठाउँसमेत सदुपयोग गर्न सकिने भएका कारण अलैंचीको विस्तार नरोकिएको हो । 
जिल्लाका धेरै घरका करेसावारीमा अलैंचीले ढाकेको छ । जेठको तेश्रो हप्तादेखि साउन पहिलो सातासम्म अलैंचीको बिरुवा रोप्ने गरिन्छ ।

यसवर्ष अलैंचीको विरुवा उत्पादन भए जति सबै बिक्री भएको छ । फुङ्लिङ नगरपालिका–६ स्थित माउन्टेन मल्टी एग्रिकल्चर फर्मले ६० हजार अलैंचीको बिरुवा बिक्री गरेको छ । गएका वर्षहरुमा  प्रतिवटा १५ रुपैयाँमा बिक्री भएको अलैंचीको बिरुवा यस वर्ष प्रतिवटा ४ देखि ८ रुपैयाँमा बिक्री भएको एग्रिकल्चरका प्रोपाईटर विमल भण्डारीले बताउनुभयो ।

भार्लाङ जातको अलैंचीका बिरुवा प्रतिवटा ८ रुपैयाँ, गोलसाई ५ र रामसाई ४ रुपैयाँका दरले बिक्री गरेको फर्म प्रोपाईटर विमल भण्डारीले बताउनुभयो ।

तीन वर्षअघि अलैंचीको दानाबाट विरुवा उत्पादन सुरु गरेका भण्डारीले आगामी वर्ष १ लाख बिरुवा उत्पादन गर्ने बताउनुभयो । उहाँले करिब ४ लाख रुपैयाँ खर्चेर टनेलभित्र बिरुवा उत्पादन गरेको पनि बताउनुभयो ।
किसान भिङमारे लिम्बुले ५० हजार विरुवा बिक्री गरेको बताउनुभयो । वार्षिक १ लाख ३४ हजार रुपैयाँमा जग्गा भाडामा लिएर विरुवा उत्पादन गर्दै आएका लिम्बूले गएको वर्ष ११ लाख रुपैयाँको विरुवा बिक्री गर्नुभएको थियो ।

 यद्यपि यसवर्ष रोग र कम हेरचाहका कारण उत्पादन घटेको उहाँको भनाइ छ । बर्सेनि अलैंचीको मूल्य घट्दै गएकाले विरुवा उत्पादन आउँदो वर्ष कम गर्ने सोचमा पुगेको लिम्बूले बताउनुभयो ।

आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका जनार्धन प्रसाईले पनि यसवर्ष साढे ५ लाख रुपैयाँभन्दा बढीको अलैंचीका विरुवा बिक्री गरेको बताउनुभयो । तर, गएको वर्षको तुलनामा डेढ लाख घटी बिरुवा बिक्री गर्नुभएको हो । ‘नबेचौं लगानी डुब्छ, बेचौ पहिलेजस्तो मूल्य छैन ।’

४ वर्षयता खुल्ला रुपमा अलैंची बिरुवा उत्पादन गर्दै आएको मादेन एग्रोभेटका अनुसार अलैंचीको मूल्य घटे पनि खेती गर्नेको संख्यामा कमी आएको छैन । एग्रोभेट सञ्चालक चन्द्र मादेनका अनुसार रोगकिरा नियन्त्रण गर्न सके अन्य बालीको तुलनामा अहिलेकै मूल्यमा फाइदाजनक रहेको छ ।
 
 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया