दुर्गम गाउँदेखि राष्ट्रसंघसम्मको अनुभव समेटिएकाे गौतमको जीवनी विमोचित

 साउन २४, २०७५ बिहिबार ७:१६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं– कुलचन्द्र गौतमको जीवनी पुस्तक ‘ग्लोबल सिटिजन फ्रम गुल्मी’ (गुल्मीबाट उदाएको विश्व नागरिक) मंगलबार सत्यमोहन जोशीद्वारा विमोचन भएको छ ।

दुर्गममा जन्मे हुर्केर अन्तर्राष्ट्रिय प्रशासनको उपल्लो ओहदासम्म पुग्न सफल गौतमलाई सम्झने क्रममा वक्ताहरुले यो दुई ठाउँबीचको दूरीलाई अर्थ्याउँदै गौतमले पुर्‍याएका योगदानको चर्चा गरेका थिए । 

कार्यक्रममा गौतमलाई उतिबेलाको गुल्मीवासी, संयुक्त राष्ट्रसंघको उच्च ओहदामा आसिन कर्मचारीदेखि लिएर काठमाडौंमा नागरिकसमाजको अगुवाका रुपमा चिन्ने व्यक्तित्वहरुको होटल हिमालयमा बाक्लो उपस्थिति थियो । वक्ताहरु पनि यी तीनवटै ठाउँको प्रतिनिधित्व गर्थे ।

‘पुस्तक पढ्दा महिला तथा बालबालिकाका क्षेत्रमा उहाँको योगदान र मानवअधिकारका पक्षमा दृढ अठोट झल्कन्छ,’ गुल्मीबाटै उदाएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भन्नुभयाे, ‘राजनीतिक स्थायित्वका लागि संघर्ष गरिरहेको नेपालका लागि अवकाश पछि पनि उत्तिकै सक्रिय गौतमको अनुभव र अठोट अत्यन्त उपयोगी छ ।’ ज्ञवालीले गौतमको बेलाको गुल्मी र अहिलेको गुल्मीमा धेरै अन्तर आइसकेको भएता पनि अहिले पनि धेरै केटाकेटीहरु स्कुलभन्दा बाहिरै रहनुलाई साझा चूनौतिका रुपमा उल्लेख गर्नुभयाे ।

लेखक गौतमले पुस्तकको प्रारम्भमा उहाँको बाल्यकालीन गुल्मीलाई उतारेका छन् जहाँ वरपरसम्म स्कुल थिएन । त्यो गुल्मी जहाँ अत्यन्त रुढीवादी धार्मिक परिवेशमा एकातिर मानिसहरु भूतप्रेतदेखि भाग्यका कुरा गर्थे भने गुरुकुलमा पढ्ने वालक गौतमचाहिँ धर्मग्रन्थका भित्री गुदीहरु बुझ्ने जिज्ञासा बोकेर उहाँका गुरुलाई प्रश्न गरिरहन्थे ।

कार्यक्रमका अर्का वक्ता हुनुन्थ्याे गुल्मीस्थित लेखकको गाउँबाटै अाउनु भएका अर्का मन्त्री गोकर्ण विष्ट । 

‘त्योबेलाको गुल्मीबाट उठेर आफू सँगसँगै आफ्नो ठाउँलाई पनि माथि उठाउन खोज्ने गौतम मेरो निम्ति प्रेरणाको श्रोत हुनुहुन्छ,’ विष्टले लेखकलाई उनकै गाउँसँग जोड्दै भन्नुभयाे, ‘उहाँले सिँगो विश्वलाई जे जति योगदान दिनुभयो त्यसका निम्ति आज गाउँलेका तर्फबाट धन्यवाद दिन म उपस्थित भएको छु।’

यसरी त्योबेलाको दुर्गम गाउँबाट उठेका गौतम कालान्तरमा संयुक्त राष्ट्रसंघको सहायक महाचिव र राष्ट्रसंघीय वालकोष (युनिसेफ)को उप–कार्यकारी निर्देशकसम्म बन्न पुगे ।

‘गौतमले राष्ट्रसंघको मुख्यालयमा मात्र नभएर विश्वका धेरै मुलुकमा महत्वपूर्ण जिम्मेवारीका साथ खटिनुभएको थियो,’ कार्यक्रममा उपस्थित अर्का वक्ता एवं राष्ट्रसंघका नेपालस्थित आवासीय प्रतिनिधि भेलेरी जुलियान्डले भन्नुभयाे, ‘हामीलाई सुनाउनका निम्ति उहाँसँग धेरै अनुभव छन् जुन यस पुस्तकमा पाउन सकिन्छ ।’ गौतम जन्मेहुर्केको गाउँको चित्रण हेर्दा सारा विवरणहरु राष्ट्रसंघका मापदण्डहरुलाई जिस्काउनेगरि अत्यन्त लाजलाग्दो अवस्थामा देखिने र अहिले परिस्थिती धेरै परिवर्तन आउनुले यस बीचमा संयुक्त राष्ट्रसंघले गरेका प्रयासहरुको प्रतिफल झल्कने पनि उहाँले औंल्याउनुभयाे ।

राष्ट्रसंघबाट अवकाश पाएपछिको समय पनि गौतम थामिएका छैनन् । उहाँले अन्तर्राष्ट्रिय प्रशासनको उपल्लो अनुभवलाई नागरिक समाजको सदस्यका रुपमा अहिले पनि मुलुकको हितमा लगाइरहनु भएकाे छ ।

‘यो पुस्तक भित्र एउटा मात्र होइन अनेकानेक पुस्तकहरु छन्,’ मुलुकभित्र राजनीतिक विकासक्रममा थुप्रै महत्वपूर्ण जिम्मेवारी सम्हालेका स्वतन्त्र विश्लेषक निलाम्बर आचार्यले भन्नुभयाे, ‘जस्तै अवरोधलाई पनि छिचोलेर परिवर्तन ल्याउने मानिसको साहस र उपलब्धिहरु यसमा अटाएका छन् ।’

कार्यक्रममा बोल्दै लेखक गौतमले आफ्नो पुस्तक विशेषगरि युवा पुस्ताका निम्ति उपयोगी बन्नसक्ने उल्लेख गर्नुभयाे । ‘पुस्तकको पछिल्लो तीन अध्याय मेरो जीवनको अनुभवमा उभिएको छ,’ गौतमले भन्नुभयाे, ‘नेपालका तन्नेरीहरुलाई निराश बनाइरहेको अहिलेको परिस्थितीमा यी अनुभवहरुले बाधा अवरोध चिर्न सघाइदियो भने म यो पुस्तक सफल भएको ठान्नेछु ।’

पुस्तकको बिक्रीबाट उठेको पैसा नेपालका छोरीहरुको शिक्षामा खर्च गरिने घोषणा पनि गौतमले समारोहमा गर्नुभयाे ।

विमोचनको प्रारम्भ बौद्ध मन्त्र गायिका आनी छोइङ ड्रोल्माको मंगलगीतबाट भएको थियो ।

पब्लिकेशन्स नेपालयका तर्फबाट कार्यक्रममा उपस्थित तथा पुस्तक प्रकाशनमा सघाउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै किरणकृष्ण श्रेष्ठले यो आजदेखि मुलुकभर सबैजसो महत्वपूर्ण पुस्तक पसलहरुमा उपलब्ध हुने र किन्डल तथा अमेजन लगायतबाट पनि पाठकहरुका निम्ति उपलब्ध गराइने जानकारी दिनुभयाे ।

पब्लिकेशन्स नेपालयका तर्फबाट गौतमको यो दोश्रो कृति हो । यसअघि उहाँले लेख्नुभएकाे अर्को पुस्तक ‘लस्ट इन ट्रान्जिसन’ मन पराइएपछि जीवनी प्रकाशित गरेको र यसलाई एक वर्षमै नेपाली भाषामा पनि ल्याइने जानकारी श्रेष्ठले दिनुभयाे ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया