श्रीमानले हेलाँ गरे, देवरले माया : देवरको हत्या भएपछि फेरि अलपत्र

 साउन २४, २०७५ बिहिबार ७:३०:५५ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा नम्वर २ भद्रीखोला निवासी २५ वर्षीय पुनम वादी (पासवान) जिल्ला अस्पतालको प्रसुती वार्डमा अलपत्र अवस्थामा हुनुहुन्छ । उहाँसँग नागरिकता पनि छैन । बस्ने बास र खाने अन्न पनि छैन ।

श्रीमानको हत्या भएपछि उहाँलाई अरुले सहयोग गरेर अस्पतालमा भर्ना गरेका हुन् । 

११ वर्षअघि उहाँले १४ वर्षको कलिलो उमेरमा कपिलवस्तु बहादुरगंज सुरानिया निवासी शंकर पासवानसँग प्रेम विवाह गर्नुभयो । विवाह भएपछि १ छोरा र २ छोरी जन्मिए । पछि श्रीमान शंकरले हेला गर्ने, खान नदिने गर्दै वास्ता गर्न छाडे ।

दाइले भाउजुलाई वास्ता गर्न छाडेको थाहा पाएपछि देवर प्रेम पासवानले भारतबाट केही रकम पठाई दिन थाले । भाउजुलाई चिन्ता नगर्नुस्, छोराछोरी राम्रोसँग पाल्नुहोस् भनेर सम्झाउन थाले ।

मान्छेको  मन न हो, त्यो कुरा पुनमको श्रीमानलाई चित्त बुझेन । अनि अनेक शंका गर्न र गाली गर्न थाले । त्यो कुरा छिमेकीले पनि थाहा पाए । दुईपटक गाउँ भेला भयो । गाउँलेले देवरले भाउजुलाई पैसा पठाइदिनु के नराम्रो कुरा भयो भनेर सम्झाए । तर शंकरको मनमा शंकाले जरा गाडिसकेको थियो ।

अन्ततः भारतबाट भाइलाई झिकाएर श्रीमतीलाई समेत घरबाट निकाले । अनि छोराछोरीलाई समेत लिएर पुनम देवरसँगै भारत जानुभयो ।

‘भारत गएर हामी ४, ५ महिनासम्म पवित्र रूपमा देवर भाउजुको रूपमा बस्यौं । यो कुरा कसैले पनि पत्याउन सक्ने अवस्था थिएन’ पुनमले भन्नुभयो, ‘त्यसपछि हामी श्रीमान र श्रीमतीको रूपमा अगाडि बढ्यौं । पछि ती छोराछोरीले दुःख पाएको थाहा पाएर नेपाल फर्कियौं ।’ 

त्यसपछि उहाँले सन्धिखर्क ५ बलेबाङ खोलामा बालुवा गिट्टिको काम सुरु गर्नुभयो ।  उहाँका अर्का साइला जेठाजु कृष्ण पनि नजिकै काम गर्थे । पुनमका पहिलाका श्रीमानले सन्धिखर्क १० बिहारको ईंटाभट्टामा काम गर्थे  । श्रीमानले मिलेर बस्ने प्रस्ताव गरे । तर त्यो समय अत्यन्तै ढिलो भएको थियो । किनकी पुनमले देवरलाई श्रीमान बनाइसक्नुभएको थियो । पेटमा बच्चा पनि थियो ।

‘मैले उनको प्रस्ताव नमानेपछि उनीहरुले मेरो श्रीमानलाई मारेर मलाई श्रीमती बनाउने मनसाय राखे’ उहाँ भन्नुहुन्छ । नभन्दै २०७४ माघ २५ गते बिहान शंकर र कृष्ण मिलेर प्रेमको हत्या गरे । जोसँग पुनमले सँगै जिन्दगीको यात्रा थाल्नुभएको थियो ।

प्रेमको हत्या गर्ने दुबै दाजुभाइ २० वर्ष कैदको भुक्तानका लागि कारागार चलान भैसकेका छन् । पुनम अहिले १ छोरा र २ छोरीको साथ भद्रीखोलामा भाडा लिएर बस्नुभएको छ ।  उहाँ घर जान पनि सक्नुहुन्न । 

केही दिनअघि उहाँ बिरामी पर्नुभयो । केही सहयोगीले अस्पताल पुर्याए । जिल्ला अस्पतालबाट हुनसक्ने सबै सुविधा पाउँदा पनि औषधि खरिद, विभिन्न परीक्षणलगायत डेरामा रहेका बालबच्चाको निम्ति समेत व्यवस्थापन गर्नुपर्ने भएकोले उहाँले सहयोगको याचना पनि गर्नुभएको छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया