निशान खड्का हत्या प्रकरण : ‘इन्काउन्टर’ बारे सरकारले छानबिन गर्ने

 साउन २४, २०७५ बिहिबार १३:५४:१८ | उज्यालो सहकर्मी

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले निशान खड्काको अपहरणमा संलग्न दुई व्यक्तिको प्रहरी इन्काउन्टरमा मारिएको घटनाबारे सरकारले छानबिन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 

प्रतिनिधिसभा अन्र्तगत राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा गृहमन्त्री थापाले इन्काउन्टरबारे सरकारले छानविन गर्ने बताउनुभएको हो । बालक अपहरणपछि हत्यामा संलग्न भएको भनिएका गोपाल तामाङ र अजय तामाङलाई  डेराबाट नियन्त्रणमा लिएर प्रहरीले भक्तपुरको पाइलटबाबा आश्रम नजिकको जंगलमा लगेर इन्काउन्टर गरेको घटना शंकास्पद भएको भन्दै समिति सदस्यहरुले स्पष्ट छानबिनको माग गरेपछि गृहमन्त्रीले त्यसमा सरकारको प्रतिवद्धता जनाउनुभएको हो ।

समिति सदस्य देवेन्द्र कँडेलले प्रहरीले भनेको इन्काउन्टर शंकास्पद भएकाले इन्काउन्टरको अवस्था सिर्जना हुनुको कारण बारे सोधपुछ गर्न महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गर्नुभयो ।

प्रहरीले बालक बचाउन नसकेपछि आफ्नो कमजोरी लुकाउन इन्काउन्टरको नाममा उनीहरुको हत्या गरेको भन्दै प्रहरी प्रशासनको सर्वत्र आलोचना भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया