एसिया कप छनोटका लागि नेपाली टोलीकाे घाेषणा, शरद अटेनन्

 साउन २४, २०७५ बिहिबार १४:१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एसिया कप छनोटका लागि नेपाली क्रिकेट टोलीको प्रारम्भिक छनोट गरिएको छ ।

मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १९ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।

१९ सदस्यीय टोलीमा अनुभवी खेलाडीहरु शरद भेषावकर परेका छैनन् ।

भेषावकर नेदरल्याण्ड्सविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय खेलका क्रममा दायाँ हातको कान्छी औंलामा चोट लागेका कारण कम्तिमा चार साता मैदान बाहिर रहने भएका छन् । 

नेपाली टोलीले आगामी साउन २९ गतेदेखि बन्द प्रशिक्षण सुरु गर्नेछ । मलेसियामा हुने एशिया कप छनोटका लागि १५ सदस्यीय टोली घोषणा हुनेछ । नेपाली टोलीको ब्याटिङ कन्सल्ट्यान्टको रुपमा भारतीय प्रशिक्षक अपूर्व देसाई आउने निश्चित भएको छ । उनी साउन २९ गते नेपाल आइपुग्नेछन् ।

मलेसिया जानुअघि नेपालले भदौ ४ गते ३ अभ्यास खेल र वैदेशिक तयारीका लागि श्रीलंका भ्रमण गर्नेछ ।

नेपाली टोलीका सदस्यहरुमा, कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिलकुमार साह, बसन्त रेग्मी, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, किशोर महतो, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दिप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनील धमला र सुशान भारी छन् ।

भदौ १३ देखि २१ गतेसम्म हुने एसिया कप छनोटमा नेपालसँगै हङकङ, ओमान, मलेसिया, सिंगापुर र युएई छन् ।

यस प्रतियोगिताको विजेता टोलीले एशियाकपमा स्थान बनाउनेछ ।

जहाँ एशियाका टेष्ट मान्यताप्राप्त पाँच टोलीहरु भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । एसिया कप सेप्टेम्बर १५ देखि २८ सम्म युएईमा आयोजना हुँदैछ ।

छनोट प्रतियोगितामा नेपालले पहिलो खेल भदौ १३ गते ओमानसँग खेल्नेछ ।

त्यस्तै भदौ १४ गते युएईसँग, १६ गते मलेसियासँग, १७ गते सिंगापुरसँग र १९ गते हङकङसँग खेल्दैछ ।

राउण्ड रोविन लिगमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । उपाधि विजेताले एशिया कपको समूह ए मा भारत र पाकिस्तानसँग खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया