विश्व आदिवासी दिवसमा झापाका सरकारी कार्यालय खुल्लै, गृहको पत्र नआएको दावी

 साउन २४, २०७५ बिहिबार १४:२५:४२ | सुश्मा राजवंशी

झापा – विश्व आदिवासी दिवसको अवसरमा प्रदेश एक सरकारले आज सार्वजनिक बिदा दिने निर्णय गरे पनि पूर्वका विषयगत कार्यालयहरु खु्ल्ला रहेका छन् । 

झापासहित प्रदेश एकका संघीय सरकार मातहत रहेका सम्पूर्ण विषयगत कार्यालयहरु खुल्ला रहेका छन् ।  प्रदेश एक सरकारले हिजो सूचना जारी गर्दै विश्व आदिवासी दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

तर संघीय सरकारबाट आधिकारिक रुपमा केही जानकारी नआएको भन्दै प्रमुख जिल्ला अधिकारीले भने प्रदेश सरकारको निर्णय अटेर गर्दै सरकारी कार्यालयमा बिदा नदिएका हुन् । जिल्लाका स्थानीय निकाय तथा विद्यालयमा भने बिदा दिइएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले गृह मन्त्रालयबाट बिदासम्बन्धी आधिकारिक पत्र नआएकोले संघीय सरकार मातहत रहेका सम्पूर्ण विषयगत कार्यालयहरु खुल्ला राखिएको बताउनुभयो । विशेषगरी प्रशासन, अदालत, कोष तथा लेखा नियन्त्रक, मालपोत, नापी, शिक्षा, भूमिसुधार लगायतका कार्यालयहरु खुल्ला रहेका छन् ।

यता जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार विश्व आदिवासी दिवसको अवसरमा प्रदेश एकका सम्पूर्ण स्थानीय तह बन्द छन् ।

त्यसैगरी शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख योगेन्द्रप्रसाद बरालका अनुसार संघीय सरकारले बिदा नदिएकोले शिक्षा विकास तथा समन्वय इकाई खुल्ला रहेको छ, भने विद्यालय स्थानीय सरकारको मातहत रहेकोले स्थानीय तहले नै बिदा दिएको बताउनुभएको छ । 

यसैबीच आदिवासीको पहिचानका लागि संगठित विभिन्न संघसंस्थाहरुले भने यसको विरोध गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १०, २०८१

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया