सेनाले सडक खोलेपछि स्थानीय खुशी

 साउन २४, २०७५ बिहिबार १४:४७:४४ | विमल बिष्ट
unn.prixa.net

डोटी – वर्षाका कारण एक महिनादेखि अवरुद्ध भएको डोटीको केआईसिंह गाउँपालिकाको–६, र ७ नम्बर वडा जोड्ने १२ किलोमिटर सडक नेपाली सेनाले खोलेको छ ।

सुदूरपश्चिम पृतना तथा गुरुबक्स गुल्मका करिब एक सय १० जना सैनिक तथा केआई सिंह गाउँपालिकाको जेसीबीले महिनौंदेखि अवरुद्ध भएको सडक बिहीबार खोलेको हो । सडक अवरुद्ध भएपछि स्थानीय नागरिकलाई निकै सास्ती भएको थियो । सडक अवरुद्ध हुँदा स्थानीयलाई आवत–जावतमा पनि निकै समस्या भएको थियो ।

गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही तथा वडाअध्यक्ष हर्कबहादुर विष्टको आग्रहमा नेपाली सेनाको सुदूरपश्चिम पृतना तथा मातहतका सैनिकहरुले सडक खोलेका हुन् । वर्षादका कारण सडकका विभिन्न भागमा पहिरो आउनुका साथै सडकको बीच भागमा चिरा परेर यातायातका साधन चलाउन बन्द भएको थियो ।

सडक अवरुद्ध हुँदा स्थानीयनागरिकलाई मर्का परेको खबर पाएपछि आफूहरुले सडक मर्मत गरी पुनः सुरु गरेको सुदूरपश्चिम पृतनाका पृतनापति तथा उपरथी झंकरबहादुर कडायतले बताउनुभयो ।

‘सेना र नागरिकको सम्बन्ध सुमधुर होस भन्ने हाम्रो चहना हो’, पृतनापति तथा उपरथी कडायतले भन्नुभयो, ‘सडक अवरुद्ध हुँदा नागरिकलाई दुःख भयो भन्ने हामीले खबर पायौं र आफ्नो जनशक्ति लगेर सडक सुरु गरायाैं ।’

सेनाले अवरुद्ध भएको सडक खोलेपछि त्यो गाउँपालिकाका स्थानीय सेनाप्रति निकै खुशी भएको सलेनाका स्थानीय जगतबहादुर बलायरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सडक अवरुद्ध हुँदा हामीलाई निकै सास्ती भएको थियो, बिरामी समेत समयमै अस्पताल पुर्‍याउन सकेका थिएनौं, सडक सुरु गरेकोमा सेनालाई धन्यवाद छ ।’

सेनाले केआई सिंह गाउँपालिकाको जेसीबी तथा आफ्नो जनशक्ति प्रयोग गरेर सडक किनारामा नाली समेत निर्माण गरी अवरुद्ध भएको सडक सुरु गराउन सफल भएको छ । 

वर्षाले वडा कार्यालयसम्म अवरुद्ध भएको सडक सेनाले खोलेपछि अहिले यातायातका साधनहरु चलाउन सजिलो भएको त्यो सडकमा यातायात चलाउने चालकहरु बताउँछन् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया