लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलामा बन्यो ‘बेलिब्रिज’

 साउन २४, २०७५ बिहिबार १६:१०:१९ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ– हिमाली जिल्ला मनाङ र लमजुङ जोड्ने म्यार्दी खोलामा ‘बेलिब्रिज’ बनेको छ ।

पुल बनेसँगै गएको आइतबारबाट पुलबाटै सवारी आउजाउ गरिरहेका छन् । ‘बेलिब्रिज’ निर्माणको जिम्मा ग्याल्बा द क्याराभान जेभीले लिएको हो । जेभीका सुपरभाइजर नारायण लामाका अनुसार २ करोड ५ लाख १७ हजारको लागतमा म्यार्दी खोलामा ‘बेलिब्रिज’ निर्माण गरिएको हो । 

‘बेलिब्रिज’को लम्बाई २४.३८४ मिटर रहेको छ । ‘डबल स्पान’को पुलको अहिलेको चौडाई भने ४ मिटर रहेको छ । लामाका अनुसार ग्याल्बा द क्याराभान जेभीले मनाङको पिसाङखोला, तिमाङखोला र हुम्डे–ङावल जोड्ने पुल निर्माणको पनि काम गरिरहेको छ ।

आवत–जावतमा सहज

म्यार्दी खोलामा पुल बनेसँगै सवारी आवतजावतका साथै पैदल यात्रुलाई समेत हिँड्डडुलका लागि सहज भएको लामाले जानकारी दिनुभयो । पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्नेमा अहिले पुल बनेसँगै आवतावतमा निकै सजिलो भएको स्थानीय सञ्चारकर्मी नेगम परियारले बताउनुभयो । 

पुल बनेपछि यात्रा सुरक्षित भएको केही दिनअघि मात्रै मनाङ पुगी आएका लमजुङका रामकृष्ण सुनारले बताउनुभयो । ‘पुल नबन्दा जोखिम मोलेरै गाडी खोलामा हाल्दा गाडी बगाउने, मान्छेको ज्यानै जाने, सवारी साधन बिग्रने समस्या हुन्थ्यो । अहिले पुल बनेपछि जोखिम कम भएको छ । यात्रा सुरक्षित भएको छ,’ मोटरसाइकलमै मनाङ पुगी फर्केका रामकृष्णले भन्नुभयो ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया