मानव आश्रमलाई ‘भाग्यले बाँचेका’हरुको सहयोग

 साउन २४, २०७५ बिहिबार १८:१४:५३ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङ समाज यूएईले चर्चित डकुमेन्ट्री ‘भाग्यले बाँचेकाहरु’को प्रदर्शनबाट संकलित रकम मानव सेवा आश्रमलाई सहयोगस्वरुप प्रदान गरेको छ ।

बेवारिसे मानिसहरुलाई उद्धार गरी आश्रय दिइरहेको बेसीशहरमा रहेको मानव सेवा आश्रमलाई समाजले सहयोग गरेको हो ।

बिहीबार बेसीशहरमा आयोजित कार्यक्रममा लमजुङ सेवा समाज यूएईका संरक्षक अर्जुनबहादुर गौली, ‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डे, जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डे, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल लगायतले एक लाख एक हजार एक सय एक रुपैयाँको चेक आश्रमलाई हस्तान्तरण गर्नुभएको हो ।

‘भाग्यले बाँचेकाहरु’ गएको असार १ र २ गते लमजुङ समाज यूएईले दुबई, आबुधाबी र शारजाहमा प्रदर्शन गरेको थियो ।

‘च्यारिटी शोबाट संकलित रकम गृह जिल्लाकै परोपकारी संस्थालाई सहयोग गर्न पाउँदा अत्यन्तै खुशी मिलेको छ’, समाजका संरक्षक गौलीले भन्नुभयो ।

‘भाग्यले बाँचेकाहरु’का निर्देशक गणेश पाण्डेले वृत्तचित्रबाट संकलित रकमबाट विभिन्न परोपकारी कार्यहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो । परोपकारी अभियानलाई अझै निरन्तरता दिने उहाँले बताउनुभयो ।

पाण्डेका अनुसार नेपालको २०७२ मा गएको भूकम्पमा परि चमत्कारिक रुपमा ज्यान बचाउन सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ । १३ वटा भाषामा अनुवाद भएको छ ।
 
आश्रमको व्यवस्थापन गरिरहेको ‘साँचो जीवन निर्माण अभियान’का संयोजक किसान संगीत नेपाली र आश्रमकी संयोजक अनिता अधिकारीले सहयोग गरेकोमा लमजुङ समाज यूएई र ‘भाग्यले बाँचेकाहरु’ टिमप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । बेसीशहरमा दुई वर्षदेखि सञ्चालित मानव सेवा आश्रममा बेवारिसे अबस्थामा सडकमा भेटिएका ९ जना आश्रित छन् ।

अन्तिम अपडेट: चैत २३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया