उपत्यकामा दिउँसो पनि टिप्पर र ट्रक चलाउन पाउनुपर्ने व्यवसायीको माग

 साउन २४, २०७५ बिहिबार १८:३५:३७ | उज्यालो सहकर्मी

भक्तपुर – दिउँसोको समयमा उपत्यकाभित्र ट्रक तथा टिप्पर गुडाउन निषेध गर्दा व्यवसायी र उपभोक्ता मारमा परेको भन्दै उपत्यकाका ट्रक, टिप्पर व्यवसायीहरुले निषेध खारेज गर्न सरकारसँग माग गरेका छन् । 

व्यवसायीले बिहीबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी दिउँसो ट्रक, टिप्पर सञ्चालनमा रोक लगाउँदा व्यवसाय धरापमा परेको बताएका हुन् । 

पत्रकार सम्मेलनमा बोल्दै भक्तपुर ट्रक तथा टिप्पर व्यवसायी संघका निर्वतमान अध्यक्ष नवीन प्रजापतिले सरकारले दिउँसोको समयमा निर्माण सामग्रीहरु इँटा, बालुवा, ढुङ्गा, गिट्टी बोकेर चल्न नदिने र रातिको समयमा मात्र चलाउँदा ढुवानीका समयमा ध्वनी प्रदुषण भएर स्थानीयले विरोध गर्ने गरेकोले ढुवानीमै समस्या परेको बताउनुभयो । 

उहाँले अहिले पनि माग अनुसारको निर्माण सामग्री दिन नसकिरहेको अवस्थामा दुर्घटना न्यूनिकरणको नाममा यातायातका साधनलाई नै दिउँसो निषेध गर्दा निर्माण सामग्रीको मूल्य समेत आकाशिएको बताउनुभयो ।

व्यवसायीले निर्माण सामग्रीको मूल्य बढाउन थालेकोले उपभोक्तालाई निकै मार परेको बताउँदै उहाँले अव्यवहारिक निर्णय सच्याएर निषेध हटाउँदै अन्य विकल्प सोच्न माग गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘टाइम कार्ड लागू गर्दा सरोकारवालाहरुसँग छलफल नै गरिएन, हाल उपत्यकामा दैनिक २२ सयदेखि २५ सयसम्म टिप्पर गुडिरहेका छन्, यस्तै अवस्था रहे, आगामी दिनमा थप २५ सय टिप्पर आयात गर्नुपर्ने बाध्यता हुन्छ, यसले एकातिर नेपाली पूजीँ विदेसिन्छ, अर्कोतर्फ निमार्ण सामग्रीको मूल्य आकाशिन्छ ।’

कार्यक्रममा भक्तपुर ट्रक व्यवसायी संघका अध्यक्ष महेन्द्र खायमलीले सरकारले व्यवसायी कमजोरी देखाएर निषेधको उपाय अबलम्बन गरे पनि त्यो स्थायी उपाय नभएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले समस्याको वैकल्पिक समाधानको उपाय खोज्नु पर्नेमा व्यवयाय सञ्चालनमा नै निषेध लगाएको छ, यसले उपभोक्तादेखि सरकारसम्मलाई नोक्सानी पुर्याउँछ, यसमा सरकारले पुर्नविचार गर्नुपर्छ ।’

कार्यक्रममा बाग्मती टिप्पर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले रात्रीकालीन समयमा मात्र टिप्पर चलाउन दिनु झनै खतरनाक रहेको बताउनुभयो । उहाँले यसो गर्दा सवारी चालकलाई आरामको समय समेत नमिल्ने दिउँसोभर सामानको खोजी गर्नुपर्ने, रातिमा ढुवानी गर्नुपर्ने र राति नै फर्कनु पर्ने बाध्यताले व्यवसायी, उपभोक्ता मारमा परेको बताउनुभयो । 

उपत्यकामा टिप्परकै कारण दुर्घटना वृद्धिका साथै मृत्यु हुनेको संख्यामा वृद्धि भएपछि सरकारले समयतालिका निर्धारण गर्दै साँझ ८ बजेदेखि बिहान ५ सम्म समय चलाउन पाउने व्यवस्था गरेपछि व्यवसायीले माग प्रस्तुत गरेका हुन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया