निशानलाई ‘बर्थ डे’ को चकलेट दिन पाइनन् सविनाले

भाइको हत्या भएको थाहै थिएन

 साउन २४, २०७५ बिहिबार १९:३१:२७ | उज्यालो सहकर्मी

काठमाडौं – सविना, भक्तपुरमा आइतबार राती हत्या भएका निशान खड्काकी कान्छी दिदी । विराटनगरमा बस्ने सविनालाई भाइको हत्या बारेमा अत्तोपत्तो थिएन ।

त्यही भएर नै होला भाइको अन्त्येष्टिका लागि मलेसियाबाट आएका बुवा गणेशबहादुरलाई लिन विमानस्थल पुग्दा पनि उनी दिदीसँग जिस्किँदै थिइन् । कति बेला दिदीसँग बोल्थिन् अनि कति बेला सँगै रहेका माइजूहरुसँग । उनलाई निशानको हत्याका बारेमा परिवारले भनेका थिएनन् । 

‘उनलाई हामीले बुवा आउँदै हुनुहुन्छ तिमी पनि आउ भनेर विराटनगरबाट बोलाएका हौं’ सँगै रहेका मामा रामकाजी सापकोटा आग्रह गर्दैै भन्नुभयो ‘तपाईंहरुले पनि उनलाई थाहा नदिनुहोला ।’ 

यो कुरा हामीलाई मात्रै होइन सविनाकी दिदी नविनालाई पनि भनेका थिए मामाहरुले । त्यसैले न माइजूहरु आँखामा आँसु देखाउन पाउँथे । न त निशानकी जेठी दिदी भाइको हत्या भएकोमा रुन नै पाइरहेकी थिइन् । 

परिवारका सदस्य मलेसियामा रहेका निशानका बुवा गणेशबहादुरका दुई जना जेठान, जेठानी दिदीहरु अनि केही छिमेकी १ नबज्दै विमानस्थल पुगिसकेका थिए उहाँलाई लिन । तर मलेसियाबाट उड्नु अघि उहाँले भनेको समयभन्दा ढिलो गणेशबहादुर विमानस्थलबाट बाहिर निस्किनुभयो । 

आगमन गेटभन्दा केही पर पर्खिरहेकी सविना बुवालाई देख्ने बित्तिकै उहाँतिर जान खोजिन् तर बुवालाई अरु दुई जनाले समातेर ट्याक्सी भएतिर लगे । ट्याक्सीतिर जाने बेला गणेशबहादुरले पनि एक्कैछिन टक्क अडिएर छोरीहरु भएतिर हेर्नुभयो ।

तर लिनलाई भित्रै पुगेका जेठान र साथीहरुले उहाँलाई सविनालाई भाइका बारेमा केही पनि नभनेको भन्दै छोरीको छेउमा नरुन सम्झाइसकेका थिए । खुट्टा लरबरिँदै थिए, ओठ काम्दै थिए । तर उहाँले मन थाम्नुभयो । ट्याक्सीमा चढनुभयो । 

दुई जना आफन्त बाहेक छोरीहरु र छिमेकीहरु बस चढेर आर्याघाटतिर लागे । घरतिर जानुपर्नेमा गाडी पशुपतितिर लागेपछि सविनाले सँगै रहेकी माइजुलाई सोधिन् ‘माइजू हामी किन यता गएको, अनि हाम्रो घरमा के भको छ धेरै मान्छे आका छन् त बाबालाई लिन ?’

माइजूलाई सविनाको प्रश्न थियो याे । तर श्रीमानले नभन्नु भनेकाले उहाँले मनमा गाँठो पारेर राख्नुभयो । तर त्यो गाँठो आधा घण्टापछि अार्यघाटमा अाफै फुक्याे ।  आर्यघाट पुगेपछि त्यतिञ्जेल नभनेको अप्रिय खबर सविनाले अाफ्नै आँखाले देखिन् ।

बुवाआमा एकातिर बेहोश हुँदै होशमा आउँदै थिए अनि सविना र नविना बुवाआमाको अघिल्तिर आँखाबाट नरोकिएका आँसु हातले पुछ्दै रुँदै थिए । उनीहरुले आफूलाई सम्हाल्न सकिरहेका थिएनन् । माइजूहरुसँगै अरु आफन्तहरुले उनीहरुलाई सम्हाले । 

भाइलाई ‘बर्थ डे’ को चकलेट दिन पाइनन् सविनाले

सविनाको आज जन्मदिन । त्यसैले आजै मामाहरुले बुवा आउँदै गरेको भनेर बेलाएपछि सविना खुशीले दङ्ग थिइन् । आफ्नो जन्मदिनको दिनमै बुवा घर आउने अनि दिदी र भाइलाई भेट्न पाउने भएपछि सविनाले भाइका लागि आफ्नो ‘बर्थ डे’ को ‘डेरी मिल्क’ चकलेट पनि किनेकी थिइन् दुई वटा । 

तर उनले न भाइलाई भेट्न पाइन न त आफ्नो ‘बर्थ डे’ को चकलेट दिन नै । चकलेट सायद गाेजीमै थियो सायद उनले निकाल्न पाइनन् । उनले आँखै अगाडि भाइ धुवाँसँगै सधैंका लागि आफूहरुबाट टाडा गएको हेरिरहिन् । 

शब्द/फोटाे : माेहन पाैडेल/रीतु थेबे 

यो पनि पढ्नुहोस् ।

मलेसियाबाट फर्किएका बुवाले निशानलाई दागबत्ती दिन सकेनन्

अन्तिम अपडेट: चैत २२, २०८०

1 Comments

  • बिक्रम थापा मगर

    Aug. 10, 2018, 7:10 a.m.

    अपहरण पश्चात हत्य गरिएको भाईको आत्मालाई शान्ती मिल्योस ।। हत्यारालाई नर्क बास होस ।। बुबा आमालाई धैर्य धारण गर्ने शक्ती मिल्योस।।

  •  0 Reply

तपाईको प्रतिक्रिया