नो पार्किङमा पार्किङ गर्न पाउनुपर्ने माग राख्दै जनप्रतिनिधि नै आन्दोलनमा !

 साउन २४, २०७५ बिहिबार २०:३३:५७ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – सधैँ बन्द हड्तालको विरोध गर्दै आएका मकवानपुर उद्योग वाणिज्य संघले बिहीबार भने आफै हेटौंडा बजार बन्द गरेको छ । 

हेटौंडाका मुख्य राजमार्गअन्तरगत बजार क्षेत्रमा नो पार्किङ तोकिएको विरोधमा बिहीबार हेटौंडाका पसलहरु बन्द गरिएको हो । हेटौंडाको मेनरोड र राप्तीरोडमा नो पार्किङ गरिएको विरोधमा हेटौंडाका पसलहरु बन्द गरिएको हो ।

हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले निर्णय गरेर हेटौंडाको मुख्य सडकमा विकल्प दिएर नो पार्किङ तोकेको थियो । त्यसको विरोधमा हिजो दिउँसो र बिहीबार दिनभर व्यवसायीहरुले बजार बन्द गरेका हुन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौंडाको मेनरोड र रापतीरोडका पसल बन्द गरिए पनि हेटौंडाको स्कुल रोड र कान्ति लोकपथका व्यापारीहरुले भने बजार बन्द गराउने निणयको विरोध जनाउँदै आफ्ना पसलहरु खोलेका थिए ।

केही व्यापारीहरुले बजार बन्द गराए पनि केहीले भने बजार खोलेर आफ्ना व्यवसाय सञ्चालन गरेका थिए । बिहीबार हेटौंडाको स्कुलरोड, बसपार्क, भित्री सडकहरुलगायतका क्षेत्रका पसलहरु भने खुलेका थिए । मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले भने नो पार्किङको निर्णय कार्यान्वयन नगर्नका लागि माग गर्दै आएको बताउनुभयो । 

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत भने हेटौंडाको सवारी पार्किङ व्यवस्थित नगर्ने कामबाट आफू पछाडि नहट्ने बताउनुभएको छ । हेटौंडा बजारको राजमार्ग क्षेत्रमा लगाइएको नो पार्किङ कुनै पनि हालतमा नहटाइने बताउनुभयो ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीसहित ज्ञापनपत्र बुझाउनका लागि पुगेको टोलीलाई मेयर महतले राजमार्गमा पार्किङ गर्नुपर्छ र व्यवसायीले आफ्ना पसल अगाडि सवारीका साधन रोक्न पाउनुपर्छ भन्नु जायज नभएको बताउनुभयो । हेटौंडाको मेनरोड, रापती रोडमा लागू भएको नो पार्किङ बिस्तारै अरु क्षेत्रमा पनि लागू हुने बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेले ज्ञापनपत्र बुझाउँदै नो पार्किङ नहटाइए चरणवद्ध आन्दोलन गरिने घोषणा गर्नुभयो । 

नो पार्किङमा पार्किङ गर्न पाउनुपर्ने जनप्रतिनिधिकै माग

हेटौंडाका जनताले जिताएका दुईजना वडाध्यक्ष नै कानुन विपरीत राजमार्गमा सवारी पार्किङ गर्न पाउनुपर्छ भन्दै आवाज उठाएका छन् । देशका कुनै पनि राजगमार्गमा सवारी पार्किङ गर्न पाउने कानुनी व्यवस्था छैन । तर आफू जनताको जनप्रतिनिधि र स्थानीय सरकारको प्रतिनिधि भन्ने कुरा नै बिर्सिएर बिहीबार हेटौंडाका व्यापारीको पक्षपोषण हुने गरी अभिव्यक्ति दिएका छन् ।

हेटौंडाको राजमार्ग क्षेत्रमा नो पार्किङ गर्ने सबै जिम्मा प्रशासनलाई दिने भनेर हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा सही गरेका हेटौंडा ५ का वडाअध्यक्ष राजेश बानियाँ र हेटौंडा १४ का वडाअध्यक्ष दिपक खड्काले व्यवसायीको पक्षपोषण हुनेगरी आन्दोलनमा सहभागी भए । दुवै जनाले आफैले सही गरेको ‘निर्णय मान्दैनौँ, राजमार्गमा पार्किङ गर्नै पाउनुपर्छ’ भन्दै हास्यासपद अभिव्यक्ति दिएका थिए । 
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया