दुर्इ महिनाकाे बीचमा विराट मेडिकल कलेजमा फेरि अर्की सुत्केरीको ज्यान गयाे

 साउन २४, २०७५ बिहिबार २०:५५:३० | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - टंकीसिनवारीमा रहेकोे विराट मेडिकल कलेजकाे टिचिङ्ग हस्पिटलको लापरबाहीले सुत्केरी महिलाको ज्यान गएको  छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका– १३ खनारकी २५ वर्षीया सगिरा खातुनको उपचारमा भएको लापरवाहीको कारण ज्यान गएको मृतकका आफन्तको आरोप छ ।

सुत्केरीको मृत्युपछि आक्रोशित आफन्तले नारावाजी गरेपछि अस्पताल दिनभर तनावग्रस्त बन्यो ।

पीडितका आफन्तहरुले लापरबाही गर्ने चिकित्सकलाई कारबाही नगरे आन्दोलनमा उत्रिने मृतकका काका ससुरा रहमल मियाँले बताए ।  

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएपछि पीडितहरुको आक्रोशित भीड नियन्त्रण गर्न मोरङ प्रहरीले प्रहरी निरीक्षको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ ।

सामान्य पेट दुखेपछि साउन १७ गते खातुनलाई आफन्तले विराट टिचिङ्ग हस्पिटलमा भर्ना गराएका थिए । ‘सामान्य पेट दुखो भनेर हस्पिटल लगेको थियौँं,’ मृतकका काका ससुरा रहमलले भने, ‘८ महिनाको गर्भ रहेको बुहारीको चिकित्सकले भर्ना गरेकै दिन शल्यक्रिया गरिदयो ।’

लापरवाही गर्ने चिकित्सकलाई कानुनी रुपमा कारवाही गर्नुपर्ने उनीहरुको माग छ । हस्पिटलको स्त्री रोग तथा प्रसूति रोग विशेषज्ञ डा. हनुनी प्रसाद पोखरेलको टाेलीले सगिराको उपचार गरेका थियाे ।

अस्पताल व्यवस्थापक अरविन्द्र मण्डलले बिरामीलाई इन्फेक्सन भएर आमा र बच्चाको अवस्था खतराजनक भएको कारणले आफन्तको सल्लाह्मा शल्यक्रिया गरेको बताए ।

उनले भने, ‘बिरामी भएकी खातुनलाई ‘एक्मसिया’ देखियो । एक्मसिया हुँदा शल्यक्रिया गरिएन भने बिरामीको मृत्युसम्म हुन सक्छ,’ उनले भने ।

बिरामी भएकी खातुनमा पोषणको समेत कमी रहेको अस्पताल प्रशासनले जनाएको छ ।  खातुनको मृत्यु भएपनि उनको नवजात शिशु छोरी सकुशल रहेको अस्पतालले जनाएको छ ।

दुई महिना अघि पनि यस अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएको थियो । दुहवी-९ सोनापुर घर भएकी रफीद मियाँको छोरीको मृत्यु भएको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया