यु–१५ महिला साफ च्याम्पियनशिप : श्रीलंकाको पोस्टमा भारतको एक दर्जन गोल

 साउन २४, २०७५ बिहिबार २१:०:४६ | रासस
unn.prixa.net

थिम्पु, भुटान – महिला साफ च्याम्पियनशिपको साविक उपविजेता भारतले श्रीलंकालाई एक दर्जन गोल गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ । 

थिम्पुको चाङली मिथाङ रंगशालामा आजदेखि सुरु भएको १५ वर्षमुनिको उमरे समूहको साफ च्याम्पियनशिपको उद्घाटन खेलमा भारतले श्रीलंकालाई १२-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । 

भारतले खेलको पहिलो हाफमा ६ गोल गर्‍यो भने दोस्रो हाफमा पनि ६ गोल नै थप्यो । भारतका लागि कप्तान सिल्की देवीले ह्याट्रिक पूरा गरिन् । उनले खेल सुरुवाति पहिलो मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाइन् । त्यस्तै उनले खेलको २० र ४४औँ मिनेटमा दुई गोल थपिन् । 

त्यसैगरी भारतकी अभिका सिंह, सुनिता मुण्डा र अञ्जुले दुई दुई गोल गरे । अभिकाले खेलको १४ र ५९औँ मिनेटमा गोल गरिन् भने सुनिताले खेलको ४२ र ७९ तथा अञ्जुले खेलको ८७ र ८९औँ मिनेटमा गोल गरिन् । 

त्यसैगरी भारतकी अर्की खेलाडी लेण्डा कोमले खेलको ६ मिनेटमा गोल गरिन् भने खेलको ४७ मिनेटमा कृतिना देवी र खेलको ७२औँ मिनेटमा किरणले एक–एक गोल थपे । 

श्रीलंकाले खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई समेत सदुपयोग गर्न सकेन ।

बिहीबारदेखि सुरु भएकाे साफ च्याम्पियशिपमा नेपाल, बंगलादेश र पाकिस्तान रहेको समूह ‘बी’ मा परेको छ । समूहको पहिलो खेल साउन २६ गते पाकिस्तानसँग खेल्ने नेपालले दोस्रो खेलमा साउन २८ गते बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्नेछ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया