लाप्चानेकाे बन्द इलाका प्रशासन कार्यालय अझै खुलेन

 साउन २५, २०७५ शुक्रबार १५:१६:२२ | दीपक भट्ट
unn.prixa.net

रामेछाप - उमाकुण्ड गाउँपालिका वडा नं ५ प्रितीको लाप्चानेमा सञ्चालन भएको इलाका प्रशासन कार्यालय केही महिनामा नै बन्द भएपछि सेवाग्राहीहरु मारमा परेका छन् । 

सदरमुकामसम्म आएर सरकारी सेवा लिन नागरिकहरुलाई असुविधा भएको भन्दै सहज तरीकाले स्थानीय स्तरमा नै सेवा दिने उद्धेश्यले जिल्लाको उत्तरी क्षेत्रमा कार्यालय खोलिएको हो ।

उत्तरी क्षेत्रको उमाकुण्ड र गोकुलगंगा गाउँपालिका अन्तर्गत गुम्देल, वाम्ती, चुचुरे, प्रिती, भुजी, गुप्तेश्वर, कुभुकास्थली र ठोसे, लगाएत ८ वटा वडाका नागरिकहरुलाई सहज र सरल तरिकाले सेवा प्रदान गर्ने उद्धेश्यले संचालन भएको इलाका प्रशासन कार्यालय ६ महिना संचालन पछि बन्द भएको थियो । 

कार्यालय प्रमुखको अन्यत्र सरुवा भएको र पछि गृह मन्त्रालयले कर्मचारी पठाउन नसकेको भन्दै बन्द भएको कार्यालय एक वर्ष पूरा हुँदासमेत खुल्न सकेको  छैन । 

कार्यालयमा एकजना अधिकृत, २ जना नायव सुव्वा, १ जना सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी भएता पनि अधिकृतको दरबन्दी कायम गरिएको थियो ।

कार्यालय सञ्चालन भएको केही महिनामै कार्यालय प्रमुखको सरुवा भई अन्यत्र जिल्लामा गएपछि पुनः अर्को कार्यालय प्रमुख जिल्लामा नआउँदा उक्त कार्यालयले प्रदान गर्दै आएको सम्पूर्ण कामहरु ठप्प भएको   हो । 

जिल्ला सदरमुकाम मन्थलीवाट दुई दिन टाढा पर्ने इलाका प्रशासन कार्यालय सञ्चालन हुँदा लेकाली भूभागका नागरिकहरुले सहज तरिकाले नेपाली नागरिकता, राहदानी, नाता प्रमाणित जस्ता सेवाहरु गाउँबाटै पाएका थिए ।

गाउँमै सरकारी सेवा पाएर दङ्ग परेका नागरिकहरु सेवा प्रवाह गरेको केही महिनामै वन्द भएपछि फेरि दुई दिनको वाटो लगाएर जिल्ला सदरमुकाम मन्थली धाउन बाध्य हुनु परेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरवहादुर सुनुवारले जानकारी दिए । 

बन्द भएको इलाका प्रशासन कार्यालय पुनः संचालन गर्न जिल्ला प्रशासन कार्यालय रामेछापले पटक–पटक गृह मन्त्रालयमा परिपत्र गर्दा समेत अधिकृतस्तरको कर्मचारी नपठाएपछि पुनः संचालन गर्न नसकेको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । 

लामो समयदेखी वन्द रहेको इलाका प्रशासन कार्यालय लाप्चानेमा नै दरबन्दी रहने गरी गृहमन्त्रायले कर्मचारी खटाइसकेको भन्ने जानकारी आएकाले कार्यालय सञ्चालन गरेर उत्तरी क्षेत्रका नागरिकहरुलाई सेवा प्रदान गर्ने प्रजिअ शर्माले बताउनुभयो । 
    
 

अन्तिम अपडेट: चैत १४, २०८०

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया