अपहरण तथा शरीर बन्धक मुद्दाका फरार ‘माेस्ट वाण्टेड’ अाराेपी ६ वर्षपछि पक्राउ

 साउन २५, २०७५ शुक्रबार १८:३:४४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न भई प्रहरीको मोष्ट वान्टेड सूचीमा समेत रहेका प्रतिवादी बकैया गाउँपालिका वडा नम्बर ४ बस्ने घट्टघरे कान्छा भन्ने दुधबहादुर लाे पक्राउ परेका छन् । 

३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार बिहान पक्राउ गरेको हो । 

वि.सं. २०६९ फागुन २१ गते काठमाण्डौं कुलेश्वरका प्रमोद चौधरीको छोरा अपहरणमा संलग्न भई गएको ६ वर्षदेखि फरार रहेका ४२ वर्षीय लोलाई क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

पक्राउ पर्ने डरले लो आफ्नो घरमा नबसी अर्काको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

मकवानपुरको हात्तिसुँडे सोफी घर भई विभिन्न अपराध तथा उच्छृङ्खल गतिविधिमा संलग्न लोलाई पक्राउ गर्न विभिन्न प्रहरी कार्यालयले गरेको पटक–पटकको प्रयास असफल भएको थियो । 

हिँडडुल गर्दा हातहतियार बोकेर हिँड्ने र गाउँघरका विभिन्न व्यक्तिहरुलाई कुटपिट गर्ने, झैझगडा गर्ने, जबरजस्ती असुली गर्ने लगायतका कार्यहरुमा संलग्न लोबाट स्थानीय सर्वसाधरण पीडित बनिरहेको सूचना प्राप्त भएको प्रहरीले बताएको छ । 

अपहरणमा संलग्न भएका लो को अन्य अपराधजन्य कार्यमा समेत संलग्नता देखिएकोले त्यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

     
 

अन्तिम अपडेट: चैत २७, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया