रेलिगेसनविनाको लिग गर्ने निर्णयमा पुनर्विचार हुँदैन: एन्फा

 साउन २५, २०७५ शुक्रबार १८:३३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - अखिल नेपाल फुटबल संघ एन्फाले रेलिगेसनविनाको लिग गर्ने आफ्नो निर्णयमा कम्तिमा यो सिजनका लागि पुनर्विचार गर्न नसकिने प्रष्ट पारेको छ ।
 
एन्फाले हरेक महिना पत्रकार भेटघाट कार्यक्रम गर्ने प्रणालीको विकास गर्न पहिलो पटक गरेको पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले नयाँ कार्यसमिति निर्वाचित भएपछिको तीन महिनाको कार्य विवरण पेश गरेका थिए ।
 
फिफा र एएफसीको अनुमति लिइसकेको, क्लबहरुसँग सहमति भइसकेको तथा लिग कमिटीले पनि धेरै काम अघि बढाइसकेको अवस्थामा यस सिजनका लागि लिगबारेको निर्णय पुनर्विचार नहुने प्रवक्ता राईले प्रष्ट पारे ।
 
पाँच वर्षको अन्तरालपछि पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग फुटबल आगामी असोज १४ गतेदेखि सुरु हुँदैछ । लिग माघसम्म सञ्चालन हुनेछ । 

त्यसका लागि एन्फाले लिग संयोजकको रुपमा पूर्व राष्ट्रिय खेलाडी विज्ञानराज शर्मा र निर्देशकको रुपमा विश्लेषक सञ्जीव मिश्रलाई दिएको छ ।
 
त्यस्तै एन्फाले एन्फाको विदेश विभाग प्रमुखमा नियुक्ति भइ फिफा कंग्रेसमा सहभागिता जनाएका नवीन पाण्डे विदेशी नागरिक नभएको बरु गैरआवासीय नेपाली भएको भन्दै आफ्नो बचाउ गरेको छ ।

गैरआवासीय नेपालीसँग सहकार्य गर्ने सरकारी नीति नै भएकाले उनलाई बिदेश बिभाग प्रमुख बनाइएको प्रवक्ता किरण राईले जनाए । 

साथै फिफा कंग्रेसमा पाण्डे अध्यक्षका सल्लाहकारका रुपमा नियुक्त भएको एन्फाले प्रष्ट पारेको छ ।
 
‘उहाँलाई एनआरएनको रुपमा हामीले समावेश गरेका हौं र सरकारी नीति पनि यस्तै छ, उहाँलाई नियुक्त गरेर हामीले घाटा भएको महसूस गरेका छैनौं, फाइदै भएको छ’ पत्रकार सम्मेलनमा प्रवक्ता किरण राईले भने, ‘भविष्यमा उहाँले नेपालको प्रतिष्ठामा आँच आउने काम गर्नुभयो भने पुनर्विचार गर्न सकिएला ।’
 
यस्तै नेपालले ९ अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेसमेत राईले बताए । 

पुरुष राष्ट्रिय टोली हाल एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारीका लागि थाइल्याण्डमा छ । त्यहाँबाटै नेपाल यू–२३ टिम इन्डोनेसिया जानेछ ।
 
यू–१५ महिला टोलीले अहिले भुटानमा साफ च्याम्पियनसिप खेलिरहेको छ । 
सेप्टेम्बरमा सिनियर पुरुष टोलीले बंगलादेशमा साफ च्याम्पियनसिप खेल्नेछ भने नेपालमै यू–१६ एएफसी महिला च्याम्पियसिप असोज पहिलो साता आयोजना हुनेछ ।
 
नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजुकाजी शाक्यलाई करार अवधि बाँकी रहेकै अवस्थामा एन्फाको प्रशिक्षकको जिम्मेबारीबाट विमुख गरेको आरोपबारे दुई पक्षबीच कुरा भइरहेको र आपसी असमझदारी हल भइसकेको प्रवक्ता राईले जानकारी दिए ।


 
आफ्नो सोच र सपना पूरा गर्ने पहिलो सैद्धान्तिक मार्गप्रशस्त गर्न विधान संशोधन आवश्यक हुने भन्दै विशेष साधारणसभाबाट विधान संशोधनको तयारी एन्फाले गरेको छ ।
 
एन्फाको विशेष साधारणसभा आउँदो साउन ३० गते चितवनमा हुँदैछ । त्यस साधारणसभाले संघीयता अनुकूल विधान बनाउनेछ भने अन्य केही महत्वपूर्ण संशोधन गर्दैछ ।
 
शुक्रबारको पत्रकार सम्मेलनमा राईले एन्फामा नयाँ कार्यसमिति आएपछि अहिलेसम्म भएका कामकारबाही व्यवस्थित रुपमा प्रचार गर्न नसक्दा नकारात्मक हल्ला फैलिएको दावी गरे । 

एन्फालाई पूर्ण व्यवस्थित बनाउनका लागि अझै १ वर्षको समय लाग्ने उनको भनाइ थियो ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया