नेकपाकै सांसदले किन गरे अर्थमन्त्री खतिवडालाई हटाउन माग?

 साउन २५, २०७५ शुक्रबार १९:०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मेटमणि चौंधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन माग गर्नु भएको छ । 

प्रधानमन्त्री केपी ओलीसँगको भेटमा उहाँले सरकारलाई अलोकप्रिय बनाउने काम गरेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन माग गर्नु भएको हो ।

शुक्रबार प्रधानमन्त्री ओलीले प्रदेश ५ का पार्टीका सांसदहरुसँग सामूहिक भेट गर्नु भएको थियो ।

सोही भेटमा दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद चौंधरीले बजेट सार्वजनिक भएसँगै सरकारप्रति जनताको आकर्षण ह्वात्तै घटेको स्मरण गराउँदै सकिन्छ भने बजेट करेक्सन तत्काल गर्न पनि पार्टी अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री ओलीको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले गरिव समूदायको चाहनालाई सम्बोधन गर्न पनि प्रधानमन्त्री ओलीसँग आफूले आग्रह गरेको बताउनुभयो ।

यता, प्रधानमन्त्री ओलीले भने नेपाली जनताको भावना अनुसार काम गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको थियो ।

उहाँले काँग्रेस नेतृत्वको अघिल्लो सरकारले मुलुकको अर्थतन्त्र धराशायी बनाएकाले यस वर्षको बजेटमा वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न नसकिएको पनि स्पष्ट पार्नु भएको थियो ।

प्रधानमन्त्री ओली जनताको भावना, चाहना र आवश्यक्ता अनुसार काम गर्न प्रतिवद्ध रहनु भएको भेटमा सहभागी सांसद सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले सरकारले धराशायी भएको मुलुकको अर्थतन्त्रमा सुधार ल्याएको दावी गर्दै अa जनताको अपेक्षा अनुसार काम हुनेमा ढुक्क हुन पनि पार्टीका सांंसदहरुलाई आश्वस्त पार्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले जनताको गुनासो सुन्न पार्टीका सांसद र नेता-कार्यकर्ताहरुसँगको भेटलाई पनि निरन्तरता दिँदै आउनु भएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया