साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन

 साउन २५, २०७५ शुक्रबार २०:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधिको निधन भएको छ ।

२०५७ सालमा मृगौला फेल भएपछि डायलाइसिस गर्दै आउनुभएको दाहालको उपचारका क्रममा धापाखेलमा रहेको सुमेरु अस्पतालमा शुक्रबार साँझ निधन भएको हो । उहाँको निधनको पुष्टि आस्था कला केन्द्रका अध्यक्ष रमेश थापाले गर्नुभयो । 

यज्ञनिधि दाहाल (दाहाल यज्ञनिधि) नेपाली रेडियो तथा साहित्यिक क्षेत्रमा परिचित हुनुहुन्थ्यो । २०१० सालमा खोटाङको खाल्लेमा दाहालको जन्म भएको थियो ।  

रेडियो नेपालमा उहाँले चलाएको ‘साहित्य संसार’ कार्यक्रमका कारण उहाँ नेपाली रेडियो जगतमा निकै नै लोकप्रिय हुनुहुन्थ्यो ।  

२०३६ सालमा रेडियोमा चल्दै आएको साहित्यिक कार्यक्रमको नाम परिवर्तन गरी साहित्य संसार राखेर चलाउन थालेका दाहाल यज्ञनिधिले २०५६ सालसम्म निरन्तर रुपमा उक्त कार्यक्रम चलाउनुभएको थियो । 

दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख,साहित्य समीक्षा, समालोचना, अन्तवार्ता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा अतुलनीय टेवा पुर्‍याउनुभएको साहित्यकार, रेडियाेकर्मी तथा चलचित्र निर्देशक प्रकाश सायमीले बताउनुभयाे ।

तत्कालीन समयमा कथित तल्लो जातका मानिसहरूले प्रयोग गरिने अभिवादन ‘जदौ’ शब्दको सर्वव्यापी प्रयोगलाई उहाँले विस्तार गर्नुभएको थियो ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया