चीनले आउँदाे ५ दिनमा चिङ्दाओ सहरका सबैकाे काेराेना परीक्षण गर्ने

 असोज २६, २०७७ सोमबार १४:३१:१७ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनको चिङ्दाओ सहरले सबै नागरिकको कोरोना भाइरसको परीक्षण गर्ने भएको छ । झण्डै ९० लाख जनसङ्ख्या रहेको चिङ्दाओ सहरले आउँदो पाँच दिनमा सबै नागरिकको कोरोना परीक्षण गर्ने जनाएको हो । 

विदेशबाट आएर अस्पताला उपचार गराइरहेका १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि चिङ्दाओ सहरले सबै नागरिकको कोरोना परीक्षण गर्ने भएको हो । 

गएको मे महिनामा पनि चीनले कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको वुहान सहरका एक करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो । 

कोरोना भाइरसको सङ्क्रमण चीनबाट फैलिन सुरु भए पनि अहिले त्यहाँ सङ्क्रमण नियन्त्रणतर्फ गइसकेको छ । 

तर विश्वका धेरै जसो देशमा कोरोना भाइरसको महामारी बढिरहेको छ र अझै पनि लकडाउन लगाइएको छ । 

चिनियाँ सामाजिक सञ्जाल साइट उइवोमा पोस्ट गरिएको एक विज्ञप्तिमा चिङ्दाओको नगरपालिका स्वास्थ्य आयोगले सङ्क्रमण देखिएकोमध्ये ६ नयाँ मामिला र ६ स्पर्शाेन्मुख (उनीहरुको सम्पर्कमा आएकाहरु) मामिला रहेको जनाएको छ । 

ती सबै मामिला एउटै अस्पतालसँग जोडिएको ग्लोबल टाइम्सले भनेको छ । 

चीनमा अहिलेसम्म ८५ हजार पाँच सय ७८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया