काठमाडौंका महामेयरलाई जापानमा वाक्क !

 साउन २६, २०७५ शनिवार ८:३८:२७ | मिलन तिमिल्सिना
unn.prixa.net

देशको राजधानी रहेको महानगरलाई देशभरका महानगरको पनि महानगर भनेर मान्नै पर्‍याे । महानगरको पनि महानगरका मेयरलाई महामेयर भन्न सकिएन भने अपमान होला भन्ने डर । महामेयरको नाममै सबथोक छ । विद्या र सुन्दर । अनि महामानव गौतम बुद्धकै वंश मिसिएको शाक्य थर ।

नाम नै काफी भएपछि किन गर्नुपर्यो काम ? त्यसैले महामेयर भएको वर्ष दिनभन्दा बढ्दा भैसक्दा शाक्यमुनीका विद्यासुन्दर कामभन्दा आफ्नै नाममा मोहित छन् । सय दिनमा एकसय एक काम गर्छु भनेका उनले अहिलेसम्म आफ्नो नाम मात्र जपेर बसेका छन् । कामभन्दा नाम र मानमै सन्तुष्ट छन् । 

महामेयरको नाम नै स्मार्ट भएपछि महानगर यसै पनि स्मार्टसिटी हुने नै भयो । नाममा विद्या भएपछि महामेयरदेखि महानगरका सबै विद्वान हुने भैहाले । अनि महामेयरकै नाममा सुन्दर पनि जोडिएपछि महानगरलाई कसरी कुरुप भन्न मिल्छ ?

फोहोरको थुप्रो, धुवाँ, धुलो, हिलो, खाल्डोले महानगर सधैँ सुन्दर छ । ट्राफिक जाम, जथाभावी पार्किङ, असरल्ल तार, अस्तव्यस्त वातावरणले महानगर स्मार्ट सिटी भैसकेको छ ।

अहिलेको जमानामा पनि समयअनुसार आफूलाई हिँडाउने हो त ? आफूअनुसार पो समयलाई हिँडाउन सक्नुपर्छ । आफूलाई जुनबेला फुर्सद भयो, जुनबेला मन लाग्यो त्यहीबेला काम गर्ने र ठाउँमा पुग्ने मान्छे पो आधुनिक हुन्छ ।

घाम लाग्दा धुलोले आँखा मिच्दै, पानी पर्दा हिलोले लुगा पुछ्दै, सडकको खाल्डोमा बजारिँदै सार्वजनिक गाडीमा ठेलम्ठेल यात्रा गर्दै, घण्टौं ट्राफिक जाममा फस्दै, सडकमै पौडी खेल्दै, गाडीमै पानीजहाजको मज्जा लिँदै, घचेटिँदै, ठेलिँदै, असुरक्षित हुँदै, महंगीमा थिचिँदै, करले मिचिँदै महानगरबासीले स्मार्टसिटीको मज्जा लिइरहेका छन् । महानगरका महामेयरको नाममै सबैथोक छ भनेर चित्त बुझाउँदैछन् । त्यति मात्र हो र, महानगरवासीहरुले फोहोरको थुप्रोमा महामेयरको फोटो राखेर जयजकार गरेकै छन् ।

स्मार्टसिटीका यीनै  महामेयरलाई जापान भ्रमणको निम्तो आयो । अरुले भए सोधेर, अनुमति लिएर विदेश जानुपथ्र्यो । तर महानगरका पनि महानगरको महामेयरले किन सोध्ने ? कसलाई सोध्ने ? आफ्नो नामअनुसार महानगरलाई स्मार्ट र सुन्दर बनाएका महामेयरलाई दुईचार दिन विदेश नजाउ भन्ने आँट कसको ? 

फोहोरको थुप्रो, धुवाँ, धुलो, हिलो, अस्तव्यस्त, भद्रगोलले सुन्दर काठमाडौं छाडेर महामेयर जापान पुगे । जापानमा पाइला टेक्नेबित्तिकै उनलाई लाग्यो, यो ठाउँका मान्छे अझै पिछडिएका रहेछन् । देश अझै अविकसित रहेछ ।

जता हेर्‍याे, उतै हरियाली । काठमाडौंमा जस्तो न सडकमा खाल्डो, न हिलो र धुलो । सडकमा कहीँकतै फोहोरको थुप्रो त के, कागजको टुक्रो पनि देखिंदैन । सफा र चिल्लो सडक । हरियाली र स्वच्छ वातावरण । न ठेलम्ठेल, न होहल्ला र अस्तव्यस्त । यो सबै देखेर काठमाडौंबाट कसैलाई सोध्दै नसोधी जापान पुगेका महामेयरलाई छटपटी भयो । 

यस्तो पनि ठाउँ हुन्छ ? काठमाडौंमा जता हिँड्यो, उतै फोहोरको थुप्रो हेर्न पाइन्छ । नाक थुनेर हिँड्न पाइन्छ । खाल्डाखुल्डी, हिलो, धुलो र धुवाँमा आनन्द लिन पाइन्छ । काठमाडौंमा यस्तो आनन्द लिइरहेको मान्छेले जापानमा कसरी दिन कटाउने ?

जापानीको अर्को फेरि नराम्रो बानी रहेछ । उनीहरु सफाइलाई बढी जोड दिँदा रहेछन् । आफ्नो घर र वरपर मात्र होइन, सार्वजनिक ठाउँ र सडकमा उनीहरु फोहोर देख्नै नसक्ने रहेछन् । सडकमा फोहोर नफाल्ने, फोहोर देखेमा टिपिहाल्ने, सफा मात्रै मन पराउने उनीहरुको बानी देखेर महामेयरलाई वाक्कै न आउन आँट्यो ।

उनलाई लाग्यो, काठमाडौंभन्दा पनि गएगुजे्रका र पिछडिएका रहेछन् यहाँका मानिस । तोकिएको समयसीमाभित्रै काम गर्ने अचम्मको बानी रहेछ । अहिलेको जमानामा पनि समयअनुसार आफूलाई हिँडाउने हो त ? आफूअनुसार पो समयलाई हिँडाउन सक्नुपर्छ । आफूलाई जुनबेला फुर्सद भयो, जुनबेला मन लाग्यो त्यहीबेला काम गर्ने र ठाउँमा पुग्ने मान्छे पो आधुनिक हुन्छ । आधुनिक र स्मार्ट मान्छेलाई घडीको सुईका हरेक सेकेण्डलाई महत्व दिएर कहाँ साध्य लाग्छ ? यो त सरासर पुरातन सोच हो । त्यसैले समयलाई आफ्नो वशमा पारेर काम गर्ने जापानीका कला हाम्रा महामेयरलाई मन परेन । 

जापानीरुले भूकम्प र सुनामीले अस्तव्यस्त भएको शहरलाई निश्चित समयसीमाभित्र जस्ताको तस्तै बनाएका रहेछन् । गाडी, कम्पनी, स्कुललगायत सबै क्षेत्रमा समयको पाबन्दी रहेछ । यो थाहा पाएर महामेयरलाई झन् दिक्क लाग्यो । भूकम्प त काठमाडौंमा नि गएको हो नि । रानीपोखरी, धरहरा लगायत अरु सम्पदा त यता पनि पुनर्निर्माण गरिँदैछ नि । तर फुर्सदमा गर्ने हो नि । समयमै र छिटै काम सकेपछि अरु दिन फेरि के गरेर बस्ने नि ? 

जापानीको अर्को फेरि नराम्रो बानी रहेछ । उनीहरु सफाइलाई बढी जोड दिँदा रहेछन् । आफ्नो घर र वरपर मात्र होइन, सार्वजनिक ठाउँ र सडकमा उनीहरु फोहोर देख्नै नसक्ने रहेछन् । सडकमा फोहोर नफाल्ने, फोहोर देखेमा टिपिहाल्ने, सफा मात्रै मन पराउने उनीहरुको बानी देखेर महामेयरलाई वाक्कै न आउन आँट्यो । 

फोहोर र धुलो नै नभएपछि, महामेयर र अरु जनप्रतिनिधिले के गर्छु भनेर भाषण र योजना बनाउने ? केही काम गर्नलाई त केही भएको हुनुपर्यो नि ? फोहोर भयो भने पो सफा गर्छु भन्न पाइयो । सफाईको योजना ल्याउन पाइयो । अनि फोहोर नै नदेखिएपछि मास्कको के काम ? औषधि र अस्पतालको के काम ? एउटा फोहोरले कति धेरै क्षेत्रमा फाइदा पुगेको छ भन्ने जापानीलाई के थाहा ?

काममा निकै मेहनत गर्ने जापानीहरुको अर्को बानीले पनि महामेयरको टाउको दुखायो । काम भनेको फुर्सदमा गर्ने हो । नेपाली उखानै छ, काम साँचे आफूलाई । अर्थात अहिल्यै गर्नुपर्ने र गर्नसक्ने काम पछि गरौंला भनेर साँच्यो भने पछि आफैले गर्न पाइन्छ । फेरि यो काम मै गर्छु भनेर भन्न पाइन्छ । चुनाव जितिन्छ । फेरि त्यसैगरी काम साँच्न र काम गर्छु भनेर आउन पाइन्छ । यति जाबो कुरा पनि थाहा नपाएर जापानका मान्छे सबै काम अहिल्यै सक्छु भनेर मरिहत्ते गर्छन् ।

जापानको ठाउँ र त्यहाँका मान्छेले गर्ने काम देखेरै हाम्रा महामेयरलाई वाक्क, दिक्क लाग्यो । के गरौं, कसलाई भनौं भन्ने छटपटी भयो । जापानलाई पनि कसरी काठमाडौंजस्तै बनाउने भन्ने सन्देश दिन मन लाग्यो । एकजना दोभाषेमार्फत उनले जापानको सरकारसँग प्रस्ताव गरे, ‘यहाँको जिम्मा मलाई दिनुस्, केही दिनमै काठमाडौं जस्तै बनाउन सकिन भने भन्नुहोला ।’

काठमाडौंका महामेयरको प्रस्ताव सुनेर जापानीहरु झस्किए । यस्ता मान्छेलाई अब जापान नबोलाउने, बरु आफूहरु नै काठमाडौं जाने निधो गरे । अनि महामेयरलाई विश्वकै सर्वोत्कृष्ट मेयर पदकबाट सम्मानसहित बिदा गरे ।
 

अन्तिम अपडेट: भदौ २९, २०७५

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। उहाँलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

1 Comments

  • Jhal b thapa हाल कतार

    Aug. 11, 2018, 10:03 a.m.

    नाम बिद्या सुन्दर साक्य काम ठ्याक्कै उल्टो गरिब देशका नेता राजनीतिमा पाइला राखेपछि धनी लाजमर्दो छ हाम्रा नालायक भन्छु नेतालाई अब नेपालमा नेतालाई हैन जनताको जनमत र एकतन्त्रीय शासनको खाचो भएको छ । यो संविधान सङियता खारेज हुनुपर्छ । संविधान सङियता नेतामुखी भयो । जनतालाई करैकर कानुन आमजनतालाई मात्रै भो । नेताले जे गर्दापनी भो । सिस्टमको नाममा बेतिथी भो

तपाईको प्रतिक्रिया