गायिका टीका प्रसाईं : हिट गीत, फिट जोडी !

 साउन २६, २०७५ शनिबार ११:२५:२४ | दिलिप कुमार ज्याेति
unn.prixa.net

‘हजुरबुवा अहिले नि भन्नुहुन्छ, कक्षा एकमा पढ्दा नै उहाँको काखमा बसेर ‘कान्छी हे कान्छी.....गीत लय मिलाएर गाउन सक्थेँ रे । घरमा कोही आयो कि गीत गाउन लगाउनुहुन्थ्यो । अलि लजालु स्वभाव मेरो गाली गरेर भए पनि गाउन लगाउने सबैले’ कक्षा २ मा पढ्दा ‘पात बिनाको मुनालाई घामले पोल्दो हो’ गीत गाएको स्मरण ताजै छ टीका प्रसाईंलाई । 

अहिले साना केटाकेटीले तोतेबोलीमा ‘माया लुकी लुकी’, र ‘नाइँ मलाई था छैन’ गीत गुन्गुनाउँदै कम्मर मर्काउँदा उनलाई त्यो बालापनको झझल्को अझै गाढा भएर आउँछ । 

संगीतका सरगम र तालको  उन्माद उही छ । बारुले कम्मरको मर्काई उस्तै छ । मात्र गीतका शब्द र गाउने पात्र फरक छन् । सामाजिक सञ्जाल र युट्यूबले गायनको दायरा र अवसरलाई केही फराकिलो पारे पनि संगीतका आरोह–अवरोह उही छन् । 

संगीत निरन्तर आफ्नो बाटोमा प्रवाहित छ । उसमा केही परिवर्तन छैन । मात्र हाम्रो सोचले नयाँ नयाँ भाका जन्मिएका छन् । युवा पुस्ताको ढुकढुकी टीका प्रसाईं गीतजस्तै आफ्नो भावना प्रवाहित गर्छिन् । ‘पहिले अरुलाई सुन्थेँ, अहिले म सुनाउँछु’ उनी सन्तुष्ट मान्दै भन्छिन् । 

अहिले टीकाको ‘माया लुकी लुकी’ गीतले रिलिज भएको एक महिनामै यूट्यूबमा एक करोड पटक हेरिएको गीतको रेकर्ड राख्यो । आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत रहेको यो गीत बजारमा आएको दुई महिना पुग्दा अहिले एक करोड ७४ लाखभन्दा बढी पटक हेरिसकिएको छ । भर्खरै मात्र उनको ‘नाई मलाई था छैन (डोयट क्लब मिक्स)’ बोलको गीत दुई करोड ६४ लाखभन्दा बढी पटक हेरिएको छ ।  चलचित्र बाहेक करोड क्लबमा दर्ज हुने गीतहरुमा टीकाको गीत पहिलो नम्बरमा छ ।  

संगीत उद्योगमा अहिले करोड क्लबमा दर्ज हुने गीतहरुको संख्या दिनप्रतिदिन बढ्दो छ । लोकलय र ‘टेक्नो म्युजिक’लाई आधार मानेर तयार पारिएका ‘फास्ट बिट’का गीतहरु यस अन्तर्गत परेका छन् । संगीत बजारको अहिलेको ट्रेण्ड हेर्दा सफ्ट, रोमान्टिक र सेन्टिमेन्टलको तुलनामा ‘फास्ट बिट’का गीतहरुले बजार चुटेको अवस्था छ । भलै यस प्रकृतिका गीतहरु क्षणिक र केही समयका लागि भए पनि नेपाली समाजका विशेष अवसरहरुमा घन्किने विदेशी गीतका पर्खालहरुलाई भत्काउन भने सफल छन् । संगीत बजारमा टिक्नु, बिक्नु र बजारमा कस्तो किसिमका गीतहरुको माग छ, यो कुरा बुझ्नु एउटा कलाकारको लागि अहिले जरुरी छ ।

बजारको यही ‘डिमाण्ड र ट्रेण्ड’लाई राम्रोसँग बुझेकी गायिका टिका प्रसाईं डेढ दशकदेखि गायन क्षेत्रमा छिन् । ‘तिमी भन्छौ भने’, ‘तिमी साथ भएपछि’, ‘नतोडन ती बाचाहरु’, ‘हातैमा चुरा अनि शीरमा शस्रबन्दी (डोयट)’, ‘तमलाई चट्ट सलाम छ (डोयट)’, ‘कान्छी रे’ जस्ता हिट नम्बरहरु उनले नेपाली संगीतलाई दिइसकेकी छिन् । ‘डान्सिङ र फास्ट बिट’का गीतहरुको चहलपहल रहेको अहिलेको बजारमा टीका अग्रपंक्तिमा छिन् । ‘डान्सिङ र फास्ट बिट’का गीतमा जमे पनि उनी स्वयं भने ‘क्लासिकल बेस’ र गजल प्रकृतिका ‘कम्पोजिसन’ गाउन मन पराउँछिन् ।

‘टेक्नो म्यूजिक’, ‘क्लब मिक्स’, ‘डान्सिङ र ‘फास्ट बिट’ अलावा  सफ्ट, रोमान्टिक र सेन्टिमेन्टल गीतहरु पनि गाएको छु मैले । तर अहिलेको जेनेरेसनले फास्ट प्याट्रन मन पराइदिनुभएको छ । ‘कमर्सियल्ली’ पनि बजारको ‘डिमाण्ड’ र स्टेज पर्फमेन्सलाई ध्यानमा राखेर गीत बनाउनु पर्छ अहिले । पर्सनल्ली भने मलाई क्लासिकल र गजल प्रकृतिका गीतहरु गाउन मन लाग्छ’, उनी भन्छिन् ।

टीकाको गीत करोड क्लबमा सामेल हुनु ‘कार्टुन्ज क्रु’ को कोरियोग्राफीले गर्दा हो भन्नेको पनि कमी छैन । तर यो संयोग मात्रै हो भन्छिन् उनी । करोड क्लबमा सामेल उनको ‘हिट नम्बर’ ‘नाइँ मलाई था छैन’ को पहिले ‘म्युजिक ट्यूनिङ’ मात्र तयार परिएको थियो ।

‘सुरुमा ट्यूनिङ मात्र सुनेको थिएँ मैले यो गीतको । ट्यूनिङले मन छोयो । पछि आशिष अविरल दाइलाई शब्द चाहियो भनेर ‘रिक्वेष्ट’ गरे । उहाँले एकनारायण भण्डारी दाइको शब्द दिनुभएको थियो । जोडी ढुकुरसँगै डुलेमने किन होला भन्ने शब्दसम्म मलाई खासै छोएको थिएन । जब नाइँ मलाई था छैन’ भन्ने शब्द आयो त्यसले चाहिँ मन छोयो । एक किसिमको शब्द जाल बुनिएको छ यो गीतमा’ उनले भनिन् ।

‘नाइँ मलाई था छैन’को ‘क्लब मिक्स’ आउनु पहिले ओरिजिनल भर्जन पनि ‘कार्टुन्ज क्रु’लाई सुनाइएको थियो । उनीहरुले ‘डान्सिङ नम्बर’ र ‘फास्ट बिट’को गीतको खोजीमा रहेको बताएपछि युवा पुस्ताको रोजाई र बजारको ट्रेण्डलाई बुझेर महिना दिन नबित्दै ‘क्लब मिक्स’ पनि तयार पारिएको थियो । समग्र टिमको प्रयास र समय सापेक्ष भएकोले यो गीत चर्चित भएको टीका बताउँछिन् । 

‘कार्टुन्ज क्रु’ सधैं नौलो प्रयोग गर्न रुचाउने ग्रुप हो । ‘माया लुकी लुकी’ मेरो ‘सोलो डान्सिङ नंबर’ हो । फिमेल भोकलमा नयाँ प्रयोग पनि गरौ भन्ने कुरा भयो । मेलोडी, बिट र कोरियोग्राफीको राम्रो  संयोजनले यो गीत पनि सबैले मन पराइदिनुभयो ।’

परिवारको इच्छा विपरीत भागेर विवाह !

झापाको तोपगाछी, सरङ्गपाडामा किसान परिवारमा जन्मेकी टीकाको संगीतको औपचारिक कखरा १० कक्षामा पढ्दा गुरु कुशेश्वर राईबाट भयो । राईसँग तीन महिना साधारण सरगम सिकेर उनी काठमाडौं आइन् । यहाँ उनले भानुभक्त ढकाल, इश्वर अमात्य, गुरुदेव कामद र रत्नबहादुर खड्कीसँग शास्त्रीय र आधुनिक गायनको अध्यनसँगै संगीतका विभिन्न रियालिटी शोहरुमा सहभागिता जनाउँदै थिइन् । 

०६१ सालतिर एनटीभीमा संगीतकार टीका भण्डारीले चलाएको म्युजिकल शो अन्ताक्षरीमा उनको पहिलो पटक (पति) लेखराज गुरुङसँग भेट भयो । गुरुङ पनि अन्ताक्षरीकै लागि ‘सेलेक्ट‘ भएका थिए । यो भेटले साधारण चिनजानको बाटो खुलाएको थियो यी दुईबीच । अन्ताक्षरीमा प्रथम भएकी टीकाको आवाज र प्रतिभाले लेखराज प्रभावित थिए । उनले  टीकाको फोन नम्बर मागे ।

गायन सँगसँगै गीत रेकर्डिङ र एफएममा पनि कार्यरत थिए लेखराज । गीत रेकर्डिङको सिलसिलामा लेखराजले भेटघाटका साथै बेलाबेलामा फोन गरिरन्थे टीकालाई । ०६१ सालमा नेपाली तारामा उत्कृष्ट ४० भित्र परेका थिए दुबै । सांगीतिक कार्यक्रमकोबारेमा लेखराज टीकालाई जानकारी गराइरहन्थे । 

टीकाका दाइ हरि प्रसाइँ रोजगारीको सिलसिलामा विदेशमा थिए । लेखराजको साथले दाइको न्यास्रो पनि मेटाएको थियो उनको । लेखराजको आवतजावत टीकाको परिवारसम्म हुन थालेको थियो । पारिवारिक कठिनाई केही आउँदा उनी टिकाको परिवारलाई सक्दो सहयोग गर्दथे । टीकाकी आमा बालकला टीका र लेखराजको सम्बन्ध साथीको भए पनि बाहिरी दुनियाँले उनीहरुको बारेमा गर्न सक्ने टिकाटिप्पणीको बारेमा सदैव सचेत गराउँथिइन् । यो जोडीको सम्बन्ध पनि साथीको जस्तै थियो ।

०६३ सालमा नेपाल वान टेलिभिजनको ‘रियालिटी शो’ ‘मायाको डोरी’मा यो जोडीलाई एकैसाथ स्टेज पर्फमेन्स गर्ने अवसर जु¥यो । डोयट गायनको मात्र शो थियो यो । कार्यक्रममा टीका र लेखराजको जोडीले दोस्रो स्थान हासिल गर्‍यो । त्यसपछि यो जोडीको कथाले अर्कै मोड लियो । 

कहिल्यै मदिरा सेवन नगर्ने लेखराजले एकदिन मदिरा पिएर रुँदै साथी टेकवीर लिम्बूलाई टीका आफूलाई मन पर्ने, तर भन्न नसकेको खुलासा गरे । यसैबीचमा टेकवीरले लेखराजको मनको कुरा टीका समक्ष प्रकट गरिदिए । टीका तटस्थ बसिन । 

‘१८-१९ वर्षको थिएँ म । कुनै पनि कुराको निर्णय गर्नसक्ने क्षमता थिएन । उहाँले मन पराउनु हुँदोरहेछ भन्ने चाहिँ पत्तो पाएँ । पछि उहाँ आफैले प्रस्ताव राख्नुभयो । मैले ल पनि भनिनँ, नाइँ पनि भनिनँ’ टिकाले त्यो क्षण सम्झनुभयो ।

‘मायाको डोरी’मा दोस्रो भएलगत्तै देशभरबाट यो जोडीलाई कार्यक्रमका अफर आउँथे सांगीतिक कार्यक्रमको सिलसिलामा देश दौडाहामा थियो यो जोडी । यही दौरान लेखराजले टीकाको मन जितिसकेका थिए । प्रेमको मुना झाँग्गिइसकेको थियो । बाँकी थियो सामाजिक प्रकृया पूरा गरेर टीकालाई भित्र्याउन । 

आमा बालकलाले सचेत गराउँदा गराउँदै पनि टीकाको मन लेखराजमै थियो । उनले आमालाई सम्झाउने प्रयास पनि नगरेकी होइनन्, तर बालकला राजी भइनन् । कारण थियो जात । 

टीकाले आमालाई सम्झाउन लेखलाई अनुरोध गरिन् । ‘जातको कुरा आइसकेपछि छोरी दिँदैनन् भन्ने थाहा थियो मलाई । त्यसैले सम्झाउने प्रयास गरिनँ’ सँगै बसेका लेखराजले भने । 

टीका र उनको भाइको पढाईको लागि काठमाडौं आएको थियो उनको परिवार । यो घटनापछि टीकालाई  आमाले झापामै गएर आफ्नो अध्ययन अगाडि बढाउनु भनिन् । टीका झापा लागिन् । लेखराज र टीका लगभग भाग्ने सुरसारमा थिए अब । भाग्ने नै भएपछि विवाहको तयारी पनि गर्नु थियो उनीहरुलाई । लेखराजले सुटपाइन्ट र टीकालाई आवश्यक पर्ने कपडाको किनमेल पनि गरिसकेका थिए । टीकाको अत्यावश्यक केही प्रमाणपत्र र कागजपत्र पनि आफ्नो कोठामा लगिसकेका थिए लेखले । 

‘जेठको अन्त्यतिर टीका झापा लागिन्, म असारको पहिलो साता आएँ । पाथिभरा एफएमका मेरो एकजना साथी थिए युवराज पौडेल । उ चाहिँ अन्तरजातीय विवाह भएपछि ससुरालीले नबोलाउन पनि सक्छन्, ससुराली त जसरी पनि जानै पर्छ है गुरुङ भन्थ्यो । उसैको मोटरसाइकलमा झापा पुगेर टेकवीरकोमा बसेँ’, लेखराज सम्झँदै भन्छन् ।

झापामा टीकाले आफ्नी  दिदीहरु दीपा  र मुनासँग भेट गरिन् । ठूली दिदी दीपालाई यसबारे थोरै जानकारी पनि गराइन् । दीपाले पढाई पनि पूरा नभएको यो अवस्थामा हतारमा विवाहको निर्णय नगर्न अनुरोध गरिन् । तर यो जोडी जसरी पनि विवाह गर्ने निधोसहित झापा लागेको थियो । अन्ततः यो जोडी इलाममा पिकनिकको निहुँ पारेर साथी टेकवीरको सहयोगमा इलामको नारायणथानमा विवाह बन्धनमा बाँधिन पुग्यो । 

‘मैले इलाममा सिन्दुर चाहिँ हालिनँ, किनकी मेरो घरमा पूरै हिन्दु रीतिरिवाज अनुसार टीकालाई भित्र्याउने तयारी भैसकेको थियो । असार १४ गते हामी सिन्धुली आएको खबर गरिसकेको थिएँ । १५ गते त पूरै गाउँभरी निम्तो बाँडिसकेको रहेछ घरमा । १६ गते धुमधामसँग विवाह भयो’, लेखराजले हाँस्दै भने । 

विवाहको दुई महिनापछि टीकाकी आमा बालकलाले तिमीहरुको गायन यात्रा त्यहाँ बसेर अगाडि बढ्दैन, काठमाडौं आउनु भनेर भदौ कृष्णअष्टमीका दिन छोरी र ज्वाईंलाई घरमा बोलाइन् । 

तीन दर्जनभन्दा बढी गीत गाएका लेखराज अहिले टीकाका प्रत्येक प्रोजेक्टलाई सम्हालिरहेका छन् । ३ सय ५० भन्दा बढी गीतमा स्वर भरिसकेकी टीका लेखराजको सहयोगमा आफ्नो गायन यात्रालाई अगाडि बढाइरहेकी छिन् । यो जोडीको ‘ल है लालीगुँरास फुल्यो’ बोलको युगल गीत जति मिठो छ सम्बन्ध पनि त्यति नै सुमधुर छ । निकट भविष्यमै संगीत अनुरागीका लागि विशेष कोसेली लिएर आउने तरखरमा छ टिका र लेखराजको जोडी ।


 

अन्तिम अपडेट: चैत ४, २०८०

दिलिप कुमार ज्याेति

ज्याेति कला मनाेरञ्जनमा कलम चलाउनुहुन्छ ।  

 

तपाईको प्रतिक्रिया