बज्यो बज्यो जोर सनई, खुल्यो खुल्यो जदौको जस्केलो !

 साउन २६, २०७५ शनिवार १२:१०:५७ | अच्युत घिमिरे
unn.prixa.net

मैले रेडियोमा काम गर्न थालेको अर्को साल बल्ल बीस वर्ष पुग्छ । उहाँले रेडियो नेपालमै झण्डै तीस वर्ष रेडियो कार्यक्रम सञ्चालन गर्नुभयो । त्यस बाहेक एचबीसी रडियोमा झण्डै आधा दशक र केही समयको अन्तरालमा अहिले फेरि अन्नपूर्ण एफएममा कार्यक्रम संचालन गरिरहनुभएको थियो ।

साहित्यिक कार्यक्रम संचालन गर्ने मजस्ता सैयौं रेडियो प्रस्तोता उहाँबाट प्रभावित मात्रै छैनौ, धेरै कुरा उहाँबाट सिकेर अहिले रेडियोमा प्रयोग गरिरहेका छौँ । लाखौं नेपालीभाषीहरु माझ आदर्श बनेर बाँच्नुभएका सबैका प्रिय दाहाल यज्ञनिधि अब हामीमाझ रहनुभएन । यो यथार्थसँगै नेपाली रेडियोको एउटा युग प्रवर्तकको देहावसान भएको छ । नेपाली रेडियो, साहित्य र संस्कृतिका लागि यो एउटा अपूरणीय क्षति हो ।

२०५८ सालतिर म एचबीसी एफएममा कार्यक्रम व्यवस्थापकका रुपमा काम गर्थें । बिस्तारै लोकप्रिय बन्दै गरेको एफएमलाई अझ धेरैको प्रिय बनाउनका लागि हामी नयाँ–नयाँ उपाय लगाइरहेका थियौँ । यस्तैमा रेडियो नेपालबाट अलग्गिएर बस्नुभएका दाहाल यज्ञनिधिलाई एचबीसीमा ल्याएर कार्यक्रम सञ्चालन गराउने योजना बन्यो र त्यसको जिम्मेवारी मलाई दिइएको थियो ।

उहाँको फोन नम्बर पत्ता लगाएर फोन गरेँ । सानैदेखि उहाँकै मिठो आवाज रेडियो नेपालबाट सुनीसुनी हुर्केको मलाई उहाँसँग फोन गर्दा मात्रै पनि आफ्नो उचाइ बढेको अनुभव भएको थियो । उहाँले भेटघाटका लागि ‘दाहालको दैलो’ मा बोलाउनुभयो ।

‘दाहालको दैलो’ भन्ने शब्द त्यतिबेला मैले पहिलोपटक सुनेको थिएँ । अनामनगरमा उहाँको घरको नाम उहाँले दाहालको दैलो राख्नुभएको रहेछ । सोध्दै खोज्दै म उहाँको घरमा गएँ । कुराकानी भयो । मेरा लागि उहाँ धेरै ठूलो मान्छे हुनुहुन्थ्यो । त्यसैले उहाँसँग भेट्न म डराइरहेको थिएँ । तर जब उहाँसँग भेट भयो, उहाँको व्यक्तित्वले यति मिठो गरी तान्यो कि मलाई त्यहाँबाट निस्कनै मन थिएन ।

व्यक्तिलाई कांग्रेस र कम्युनिष्ट भनेर नछुट्याउने थोरै मान्छेहरु मात्रै छन् नेपालमा । तीमध्ये एक दाहाल यज्ञनिधि पनि हुनुहुन्थ्यो । जस्तोसुकै अवस्थामा पनि प्रजातन्त्रका लागि लड्न, जुध्न र मर्न तयार ।

मैले एचबीसीमा आएर रेडियो कार्यक्रम सञ्चालन गर्नका लागि उहाँलाई अनुरोध गरें । भर्खरै मृगौला फेरेर डायलाइसिस गर्दै बस्नुभएका दाहाल यज्ञनिधि राम्रोसँग तंग्रिसक्नुभएको थिएन । उहाँलाई धेरै एफएमहरुले बोलाइरहेको तर आफ्नो स्वास्थ्य अवस्थाका कारण जान नसकेको बताउनुभयो ।

मैले भनेँ — सर हजुर तीनचुलीसम्म जानु पर्दैन । म हरेक हप्ता यहीँ हजुरको घरमा आएर रेकर्ड गरेर लैजान्छु र रेडियोबाट हजुरको आवाज बजाउँछु ।

उहाँले केहीबेर सोच्नुभयो । अन्तिममा उहाँले मेरो प्रस्ताव स्वीकार गर्नुभयो । मैले अर्कोपटक गएर उहाँको आवाज रेकर्ड गरेर ल्याएँ । नवीन खड्काहरुको अरुण उपत्यका सांस्कृतिक समूहको एउटा सीडी थियो । त्यसकै एउटा धुनलाई सिग्नेचर ट्युन बनाएर कार्यक्रम प्रसारण गर्ने छलफल भयो । कार्यक्रम रेकर्ड त गरेँ तर पहिलो कार्यक्रममै उहाँले बोल्नुभयो — “जदौ जदौ श्रोता । म दाहाल यज्ञनिधि तपाईँहरुको माझ फेरि आएको छु । मरि गएको थिइनँ, मार्यो रेडियो नेपालको प्रशासक ..... ले । देशमा ज्ञानेको सरकार छ । यीनै ज्ञानेहरुका कारण अब देश कता जान्छ, त्यो भनिहाल्ने अवस्था भएन ।”

यसभन्दा पछिका वाक्य म अहिले सम्झन्नँ तर राजाको प्रत्यक्ष शासनकालमा कुनै रेडियोले यो बजाउनु भनेको हामी सबै जेल जान सक्थ्यौँ र एचबीसी रेडियो सधैंका लागि बन्द हुन सक्थ्यो । आज सामाजिक सञ्जालमा सबैले दाहाल यज्ञनिधिलाई प्रख्खर वक्ता भनेर लेखेका छन् । उहाँ प्रख्खर मात्रै हैन, निडर र हकी स्वभावको पनि हुनुहुन्थ्यो । उहाँलाई मर्छु भनेर पटक्कै डर थिएन ।

व्यक्तिलाई कांग्रेस र कम्युनिष्ट भनेर नछुट्याउने थोरै मान्छेहरु मात्रै छन् नेपालमा । तीमध्ये एक दाहाल यज्ञनिधि पनि हुनुहुन्थ्यो । जस्तोसुकै अवस्थामा पनि प्रजातन्त्रका लागि लड्न, जुध्न र मर्न तयार ।

मैले रेडियो नेपालको प्रशासकको नाम र तत्कालीन राजाबारे बोलिएका वाक्यहरु सम्पादन गरेर प्रसारण गरेँ । प्रसारण हुनेबित्तिकै उहाँको फोन आयो र ती वाक्यहरु काटेकोबारे चित्त दुखाउनुभयो । यसरी जदौ कार्यक्रम प्रसारण भइरहँदा झण्डै आधा दशक उहाँका कतिपय बोलीहरु मैले सम्पादन गरेर प्रसारण गरेको छु ।

पछिपछि उहाँप्रतिको मेरो प्रेम र सद्भाव देखेरै होला, उहाँ अरुहरुका सामु मेरोबारे भन्नुहुन्थ्यो — “रेडियो नेपालमा जस्तो भए मैले सधैँ फाइट गर्नुपथ्र्यो । अच्युत बाबुले सर रिसाउला भनेर मलाई फकाईफकाई वाक्यहरु काट्नुहुन्छ । उहाँहरुको रेडियोलाई असर नपरोस् भनेर म अच्युत बाबुले मेरा बोलीहरु कति ठाउँमा काटिदिँदा पनि चुप लागेर बस्छु । यी बाइस तेइस वर्षका युवा भाइहरुको काम गर्ने जोश र जाँगर देखेर रेडियो क्षेत्रमा मलाई ठूलो आशा लागेको छ । भविष्य यीनै भाइहरुको काँधमा छ अब ।”

पछिपछि उहाँ आफैं तीनचुलीमा रहेको रेडियो एचबीसीमा आउन थाल्नुभयो र स्टुडियोमै बसेर रेकर्ड गर्न थाल्नुभयो । सुरुवाति दिनहरुमा उहाँलाई सहज बनाउनका लागि म आफैं उहाँको कार्यक्रमका लागि प्राविधिकको काम गर्थेँ । त्यसबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ ।

नेपालमा विभिन्न वाद र दर्शन बोकेका राजनीतिक दलहरु भए, नेताहरु भए र अनेकौं खालका क्रान्तिहरु पनि भए । दलित, जनजाति, महिला जस्ता पदावली भजाएरै धेरैले विदेशी डलर पचाएका छन्, आफ्नो दुहुनो सोझ्याएका छन् । तर दाहाल यज्ञनिधि जस्ता थोरै मानिसहरु मनैदेखि यस्ता कुराहरुमा क्रान्तिकारी थिए र छन् । उहाँको जुझारु स्वभाव यस्ता विषयहरुमा अत्यन्त संवेदनशील थियो ।

अरुले जस्तो खोक्रो आदर्शका रुपमा मात्रै हैन, विभेद गर्नुहुन्न भन्ने कुरा उहाँको मनबाटै निर्देशित थियो भन्ने कुरा यहाँ शब्दमा लेखेर सायद बुझाउन सकिन्न । उहाँसँग संगत गरेकाहरुले प्रष्ट बुझेका छन् । मानिसहरु नारामा यी विषयहरुमा उदारवादी देखिए पनि आफूभित्र रहेको संस्कारजन्य स्वभावका कारण कुनै न कुनै कुरामा यस्ता विषयमा चुक्ने गर्छन् तर दाहाल यज्ञनिधि यस्ता कुराहरुमा मनैदेखि सफा चरित्रको हुनुहुन्थ्यो ।

भन्छन् — कोही कोही मानिसको मुखमा धर्म हुन्न, पेटमा पाप हुन्न । दाहाल यज्ञनिधि यस्तै चरित्र हो । झर्रा नेपाली शब्दमा प्रशंसा वा खेदो गर्न उहाँलाई दुवै आउँछ । नेपालको राष्ट्रियता मात्रै हैन विश्वभरि छरिएर रहेका नेपालीहरु चाहे नेपालमा बसेका होउन् वा भुटान, बर्मामा, सबै नेपाली जाति एकै सन्तान हुन् र तिनको संस्कृति हाम्रो गौरव हो भन्ने भाव उहाँभित्र थियो । 

देशको कुना काप्चामा थोरै मात्रै साहित्यिक चेत भएका मानिसहरु भित्रको पनि साहित्यलाई प्रस्फुटन गराउनमा उहाँको आवाजको ठूलो भूमिका छ । विषयलाई अत्यन्त सरलताका साथ प्रस्तुत गर्न सक्ने र समसामयिकतालाई समातेर रेडियोमा प्रस्तुत हुने उहाँको खूबीकै कारण नेपालमा फ्यान फलो गर्ने रेडियो कार्यक्रमका अगुवाहरुमध्येका एक अग्लो खम्बाका रुपमा उहाँ स्थापित हुनुभयो ।

भुइँमान्छेहरुको नारा दिएर नेपालमा धेरै मानिस माथि पुगेका छन् र तिनै भुइँमान्छेहरुको नेतृत्वका आडमा सुखसयलको जिन्दगी जिउने धेरै मानिसहरु दाहाल यज्ञनििधकै उमेरमा अहिले बाँचिरहेछन् । तिनको परिचय उनीहरुकै केही आसेपासे झुण्डहरुमाझ मात्रै सीमित छ भने ३ करोड नेपालीमाझ सधैं उच्च शीर लिएर बाँचेक दाहाल यज्ञनीधि हिजो चौडा छाती फैलाएरै यो संसारबाट बिदा हुनुभयो । युगयुगसम्म मानिसहरुको मनमा दाहाल यज्ञनिधि बाँचिरहनुहुनेछ ।

सामान्य मानिसलाई युगले जन्माउँछ, विशिष्ट मानिसले युगलाई जन्माउँछ । दाहाल यज्ञनिधि यस्तै युग जन्माउन सफल एक विशिष्ट प्रतिभा हो । दाहाल यज्ञनिधि बाँचुञ्जेल सामान्य मानिसका रुपमा बाँच्नुभयो । दरबारिया शान र मनोरञ्जनका लागि नेपालमा सुरु गरिएको रेडियो मानिसहरुका लागि अनौठो विषय बनिरहेका बेला किसान, मजदुर, पिछडिएको वर्ग, जनजाति, दलितका आवाजहरु रेडियोमा पुर्‍याएर रेडियोलाई सामान्यीकरण गर्नमा उहाँको विशेष योगदान छ । उहाँबाट धेरै रेडियोकर्मीहरुले सिकेका छन् भने कैयौं पुस्ताले अझै सिक्नुपर्ने कुराहरु छन् ।

अहिले देशभरिमा रहेका सात सय भन्दा बढी संख्याका रेडियोले आफूलाई जनप्रिय बनाउन साहित्यिक कार्यक्रमहरु बजाउने गरेका छन् । यस किसिमको साहित्यिक कार्यक्रम शुरु गर्ने यसको प्रवर्तकको जश दाहाल यज्ञनिधिलाई नै जान्छ भन्दा अत्युक्ति नहोला ।

एचबीसी ९४ एफएमको निरन्तरको सहकार्यपछि उहाँसँग नभेटेको लामो समय भइसकेको थियो । वि.सं. २०७० तिर दाहाल यज्ञनिधिलाई अलि सञ्चो नभएको खबर पाएपछि सशीन्द्र गौतम र म एक पटक भेट्न गएका थियौं । त्यति बेला पनि उज्यालोबाट मैले सञ्चालन गर्ने कार्यक्रमहरु आफूले सुन्ने गरेको भन्दै मलाई प्रोत्साहन दिनुभएको थियो । 

बिमारी हुँदा पनि उस्तै ओजिलो वाणी र तेजिलो व्यक्तित्व मेरा आँखावरिपरि अहिले पनि नाचिरहेको छ । त्यसपछि भेट्छु भन्दा भन्दै फेरि लामो समयको ग्याप हुन गयो । हिजो साँझ एक्कासि उहाँको निधनको खबरले मन त्यसै भक्कानिएको छ ।

रेडियोमा एउटा अभिभावक गुमाएको महसुस भइरहेको छ । यो रिक्ततालाई अब केही कुराले पनि पूर्ति गर्दैन, त्यो म बुझद्छु । यी शब्दहरु दाहाल सर् प्रति श्रद्धाञ्जलीका मेरा केही शब्दहरु मात्रै हुन् । रेडियोमा कार्यक्रम बिट मार्ने बेला बोल्ने गरेका उहाँकै शब्द सापटी लिएर मेरो यो सानो लेख समाप्त गर्दछु ।

आउँदा जाँदा लाउँला पिरती, आजलाई जदौ !!

अन्तिम अपडेट: असोज ३, २०७५

अच्युत घिमिरे

घिमिरे उज्यालाे रेडियाे नेटवर्कका कार्यक्रम संयाेजक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया