स्थापनाको २१ वर्षपछि बिमस्टेकको बडापत्र बन्दै

 साउन २६, २०७५ शनिबार २०:२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को शिखर सम्मेलनले बडापत्र बनाउने भएको छ । 

काठमाडौंमा बसेकाे बिमस्टेकका सदस्य राष्ट्रका पदाधिकारीहरुकोे बैठकले बिमस्टेकको बडापत्र बनाउने सहमति गरेको हो ।

स्थापनाको २१ वर्षपछि बिमस्टेकले औपचारिक रुपमा दूरदृष्टीसहितको बडापत्र पाउने भएको छ । साथै बैठकमा शिखर सम्मेलनपछि जारी हुने घोषणापत्रका विषयमा पनि सहमति जुटाएको छ ।

बिमस्टेकलाई प्रभावकारी र क्षेत्रीय विकासको अवधारणालाई प्राथमिकतामा राख्नुपर्नेमा सदस्य राष्ट्रका पदाधिकारीहरुले जोड दिएको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिनुभयो ।

नेपालले भूपरिवेष्ठित राष्ट्रको अावद्धताका मुद्धालाई समेत जोड दिएको जानकारी दिनुभयो । विद्युतीय प्रसारण लाइन विस्तार, सडक सञ्जाल लगायतका विषयमा समेत सदस्य राष्ट्रका पदाधिकारीबीच छलफल भएको थियो ।

बैठकमा बिम्स्टेकको आम्दानी तथा खर्च, सचिवालयको प्रभावकारी सञ्चालन लगायतका विषयमा समेत छलफल भएको थियो ।

यस्तै बैठकमा नेपाल–भारत प्रबुद्ध समूह जस्तै प्रबुद्ध समूह इपीजी गठन र यसका क्षेत्राधिकारका विषयमा समेत चर्चा गरिएको सचिव वैरागीले जानकारी दिनुभयो ।

भदौ १४ र १५ गते काठमाडौंमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको अन्य तयारीमा सरकार जुटेको छ ।

बिम्स्टेक शिखर सम्मेलनको तयारीस्वरुप बसेको बैठकमा बिम्स्टेकका महासचिवसहित सदस्य राष्ट्रको विदेश मन्त्रालयका सचिवहरु सहभागी थिए ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया