लमजुङमा दैनिक ३५ हजार लिटर भैँसीको दूध उत्पादन : उत्पादित दूध सजिलै बिक्री

 कात्तिक ११, २०७७ मंगलबार १६:३५:१८ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – लमजुङमा पछिल्लो समय गाईपालनमा भन्दा भैँसीपालनमा किसानको आकर्षण बढ्दै गएको छ । गाईपालनमा भन्दा भैँसीपालनमा फाइदा हुने भएकाले व्यवसायिक भैँसीपालनमा किसानको आकर्षण बढ्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका प्रमुख डा. रुपेश श्रेष्ठले बताउनुभयो ।

‘बजारमा गाईको दूधको तुलनामा भैँसीको दूधको माग र मूल्य दुवै राम्रो छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले पनि पछिल्लो समय जिल्लामा गाईपालनमा भन्दा भैँसीपालनमा किसानको आकर्षण बढ्दो छ ।’

गाईको दूधको बजारिकरण व्यवस्थित भएन

उहाँका अनुसार अझै गाईको दूधको बजारिकरण व्यवस्थित हुन सकेको छैन । तर  भैँसीको दूधको माग र खपत स्थानीयस्तरमै हुन्छ ।

‘प्याकेजिङ’ र ‘ब्राण्डिङ’ नहुँदा जिल्लामा उत्पादित गाईको दूधको बजारिकरण व्यवस्थित हुन सकिरहेको छैन । बाहिरबाट दूध आउने तर स्थानीयस्तरमा उत्पादित दूधले बजार पाउन नसकिरहेको उहाँ बताउनुहुन्छ ।

‘उत्पादित गाईको दूधको गुणस्तरमा ध्यान दिन नसक्दा पनि स्थानीय स्तरमा उत्पादित दूधले बजार नपाइरहेको अवस्था छ । गुणस्तरमा ध्यान दिन सके यसले बजार पाउन सक्छ,’ उहाँले थप्नुभयो, ‘तर भैँसीको दूधको बजार सुनिश्चित छ । आम्दानी राम्रो छ ।’

भैँसीको दूध सजिलै बिक्री  

विज्ञ केन्द्रका अनुसार हाल जिल्लामा ८ हजार भैँसीपालन किसान रहेका छन् । जिल्लामा हाल ४२ हजार बढि भैँसी पालिएका छन । जिल्लामा दूधालु भैँसीको संख्या १२ हजार हाराहारीमा रहेको छ । 

लमजुङमा दैनिक ३५ हजार लिटर भैँसीको दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूध सबै स्थानीय स्तरमै खपत हुँदै आएको छ । किसानले प्रति लिटर १ सय २० रुपैयाँमा भैँसीको दूध बिक्री गर्दै आएका छन् ।

जिल्लामा हाल गाईभैँसीको गरी दैनिक ४५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । तर जिल्लामा दैनिक अपुग झण्डै ३ हजार लिटर गाईको दूध बाहिरबाट आयात हुँदै आएको छ ।

‘जिल्लामा उत्पादित गाईको दूधबाट परिकार बनाएर बिक्री हुने गरेको छ,’ डा. श्रेष्ठले भन्नुभयो, ‘जिल्लामा भैँसीको दूध जिल्लामै खपत हुने गरेको छ । तर दैनिक जिल्लामा अपुग ३ हजार लिटर हाराहारीमा गाईको दूध अन्य जिल्लाबाट आयात हुँदै आएको छ ।’

गाईपालन छाडेर भैँसीपालन 

जिल्लामा कतिपय किसानले गाईपालन छाडेर भैँसीपालनमा लागेका छन् । गाईपालन गरिरहेका किसान पनि गाईपालनसँगै भैँसीपालन व्यवसाय पनि गरिरहेका छन् ।

गाईपालनसँगै फर्ममा छिट्टै ३० वटा भैँसी पालन गर्ने लक्ष्यसहित संचरना निर्माणमा आफु जुटिरहेको जिल्लामा अग्रणी गाईपालनक किसानको परिचय बनाउनुभएका सुन्दरबजार नगरपालिका–७, पाउँदीका किसान धु्रवराज पोखे्रलले बताउनुभयो ।

कम, लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने भएकाले भैँसीपालन व्यवसाय सुरु गरिएको लमजुङ राइनास नगरपालिका–१, साइँलीटारमा सामुहिक भैँसीपालन गर्दै आएका ‘दीगो कृषि व्यवस्थापन तथा अनुसन्धान सहकारी’का अध्यक्ष खिलाशर्मा घिमिरेले बताउनुभयो ।

अन्तिम अपडेट: चैत २९, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया