बदनियतपूर्वक थुन्ने प्रहरीलाई पनि कारबाही हुने

 साउन २७, २०७५ आइतबार १०:३४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रहरीलाई अब जथाभावी कसैलाई पनि पक्राउ गर्न नपाउने भएको छ ।

मुलुकी अपराध संहिता ऐन परिच्छेद – १५ को गैरकानूनी थुना सम्बन्धी दफामा  बदनियतपूवर्क थुनछेक गर्न नहुने उल्लेख छ ।

अपराधमा सामेल भएको पक्का भए पनि प्रहरीले कसुरदारलाई पक्राउ गरिहाल्न नमिल्ने दफामा उल्लेख छ । पक्राउ गर्नु पहिले प्रहरीले कसुरदारलाई पक्राउ गर्नुको कारण खुलाई पक्राउ पुर्जी दिनुपर्ने छ । अन्यथा पक्राउ गर्नेमाथि नै कारबाही हुने ऐनमा उल्लेख छ ।

भदौ १ गतेदेखि लागू हुन लागेको यो ऐनमा कसैले कुनै व्यक्तिलाई कानून बमोजिम बाहेक बदनियतपूर्वक अन्य कुनै किसिमले थुनामा राख्न वा राख्न लगाउन नहुने उल्लेख छ । 

यदि बदनियतपूर्वक थुनामा राखिएको पाईए त्यस्तो कार्यमा संलग्न जो कसैलाई पनि तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने ऐनले व्यवस्था गरेको छ ।

यसअघि प्रहरीले शंका लागेकै भरमा कसैलाई पनि पक्राउ गरेर थुन्न सक्थ्यो । पक्राउ गरेको २४ घण्टाभित्र अदालतमा पुर्याएर म्याद थप गरे हुने थियो । तर अहिलेको नयाँ मुलुकी ऐनले भने पक्राउ गर्नुपूर्व नै कसुरदारलाई कुन अभियोगमा पक्राउ गर्न लागिएको हो त्योबारेमा पक्राउ पुर्जी दिनुपर्ने अनिवार्य गरेको हो । 

पक्राउ गर्नुपर्ने कारण र व्यक्तिको विवरण सहित अदालतबाट पक्राउ पुर्जी लिएर मात्रै अभियोगीलाई पक्राउ गर्नुपर्ने व्यवस्था ऐनमा छ । आपतकालिन अवस्था अर्थात अपराधि भाग्नसक्ने खतरा छ भने मात्रै प्रहरीले आफै पक्राउ पुर्जी जारी गरेर २४ घण्टाभित्र पक्राउ गरेको समर्थन लिन अदालतमा हाजिर गराउनै पर्ने व्यवस्था पनि ऐनमा छ । यसले प्रहरीलाई जिम्मेवार बनाउनुका साथै यसअघि लाग्दै आएको जथाभावी पक्राउको आरोप पनि घट्ने विश्वास लिइएको छ । 

यसैगरी कुनै पनि व्यक्तिलाई  गोप्य तरिकाले थुनामा राख्न नहुने व्यवस्था पनि ऐनले गरेको छ । पहिले प्रहरीले विभिन्न घटनामा व्यक्तिलाई गोप्य तरिकाले थुन्ने र घटना मिलाउने गरेको भन्ने आरोपहरु लाग्दै आएको थियो । अब ऐनले नै थुनामा भएको व्यक्तिको थुनिएको कुरा वा थुनिएको ठाउँको जानकारी अनिवार्य दिनुपर्ने व्यवस्था गरेपछि यस्तो कार्य नियन्त्रणमा आउने देखिएको छ ।

प्रहरी वा अरु कसैले पनि गोप्य तरिकाले कुनै व्यक्तिलाई थुनामा राखे त्यस्तो कार्यमा संलग्नलाई त्यस बापत चार वर्षसम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना हुने  ऐनमा उल्लेख छ ।

यस्तै ऐनले थुनामा रहेका व्यक्तिलाई कानून बमोजिम उपलब्ध गराउनु पर्ने सुविधाबाट बन्चित गर्न नहुने ग्यारेण्टी गरेको छ । यदि थुनामा राखिएका व्यक्तिलाई न्यूनतम मानवोचित सुविधाबाट बन्चित गरे थुनामा राख्ने अधिकार प्राप्त अधिकारीलाई डेढ वर्षसम्म कैद र १५ हजार रुपैयाँसम्म जरिबाना हुने ऐनले व्यवस्था गरेको छ । 

अन्तिम अपडेट: चैत २३, २०८०

3 Comments

  • लक्ष्मी मैनाली

    Aug. 14, 2018, 2:07 p.m.

    अब चाहिँ केही हदसम्म बिनाकारण कुटपिट गर्ने अपराधी लाई फोन गरेर भगाउने, पक्राउ गर्नु त परै जाओस् उल्टो घुस लिएर प्रमाण हरू गायव गर्ने पुलिस हरू केही ठेगानमा आँउछन कि नत्र यो देशमा यस्ता पुलिस हरू छन् कि जसले पैसाको लागि आफ्नो जिम्मेवारी राम्रोसँग भुलिसकेका छन्।

  •  0 Reply
  • Karan Rajbanshi

    Aug. 13, 2018, 4:23 a.m.

    Police ko tarfa bat galti vaye der barsh r 15 hajar sajaye kam vayo, dabal hunu paryo.

  •  0 Reply
  • prem pun

    Aug. 12, 2018, 9:15 p.m.

    यो नियम पनि बरिस्ठहरु कै हो , तेस्तो काम पनि वरिष्ठकै कार्यकर्ताले गर्छन , चाहे सुरक्षाकर्मी हुन चाहे सर्वसाधारण /

  •  0 Reply

तपाईको प्रतिक्रिया