थाहा नगरकी पौरखी महिला, २ सय रोपनी जग्गामा ४ हजार किवीका बोट

 कात्तिक १५, २०७७ शनिबार १९:३७:९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – थाहा नगरपालिका–४, ठूलो मार्खुकी बरीबल तामाङको बारीमा किवी लटरम्मै फलेर झुलेका छन् । उहाँको बारीमा किवीसँगै तरकारी पनि देख्न पाइन्छ । ३४ वर्षीया बरीबल त्यही बारीमा कहिले किवी त कहिले तरकारी गोडमेल गर्दैै, झार हटाउँदै गरेको भेटिनुहुन्छ ।​

बरीबलले एकल प्रयासमा तरकारी र फलफूल खेती गरेको देख्दा वरपरका गाउँले समेत चकित परेका छन् । आफ्नो एक्लैको प्रयासले किवी र तरकारी खेती गरेको उहाँ गर्वका साथ बताउनुहुन्छ ।

पाँच वर्ष अगाडि थाहा पौरखी कृषि प्रालि फर्म दर्ता गरेर उहाँले महिलाहरुले पनि चाहेमा उद्यम गर्न सक्छन् भन्ने उदाहरण बन्नु भएको छ । उहाँले गर्नुभएको किवी खेतीका लागि वाग्मती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय हेटौंडाले सहयोग गरेको छ । भिरालो जमिनमा सिंचाइ गर्नका लागि थप समस्या हुने भएपछि लिफ्ट सिंचाइका लागि सहयोग गरिएको निर्देशनालयका निर्देशक रबिन्द्र बहादुर प्रधानले बताउनुभयो ।

‘बरीबल तामाङ्ले निकै मेहनतका साथ काम गरेको र सफल देखिएकाले उहाँलाई सहयोग गरिएको हो’, प्रधानले भन्नुभयो । लिफ्ट सिंचाइका कारण पानीको समस्या भने अहिले हटेको छ । राम्रो काम गर्ने र मेहनत गर्ने किसानका लागि लिफ्ट सिंचाइ प्रदान गरिएको प्रधानले बताउनुभयो । 

तामाङले सुरुमा ५० बोट किवी लगाएर सुरु गर्नुभयो र त्यसबाट राम्रो आम्दानी भएपछि थप किवी खेती गर्नुभएको हो । अहिले उहाँको बारीमा लगाइएका किवीबाट राम्रो उत्पादन भइरहेको छ । ८ वर्ष पुरानो किवीको एउटा बोटमा वर्षको ४० किलो सम्म फल्ने गरेको उहाँको भनाइ छ । अहिले बरीबलको बारीबाट किवी प्रतिकिलो २ सय देखि २ सय ५० सम्ममा बिक्री हुने गरेको छ । 

उहाँको बारीमा हेवार्ड, बरुनो र एलिसन लगायतको जातको किवीका बोटहरु छन् । दुईसय सय रोपनी जग्गामा ४ हजार किवीको बोट रोप्नुभएको छ । सबै बोटमा किवी फल्न सुरु भएको उहाँले बताउनुभयो । किवीको बोट सानो भएकोले त्यसको वरिपरि मुला र लसुन पनि रोप्नुभएको छ ।

उहाँका अनुसार किवी तथा तरकारी खेतीमा करिब १ करोड ५० लाख रुपैयाँ व्यक्तिगत लगानी लागेकाे छ । लिफ्टिङ सिंचाइको लागि वाग्मती प्रदेश सरकारको ३५ लाख अनुदान प्राप्त भएको र यसले धेरै सहयोग पुगेको उहाँको भनाइ छ । कृषि विकास निर्देशनालय हेटौंडाले दिएको लिफ्टिङ सिंचाइले किवी र तरकारी खेतीको लागि निक्कै सजिलो भएको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया