भीएस नयपाल : डायस्पोरा साहित्यका पर्याय

 साउन २७, २०७५ आइतवार १३:३१:८ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

चर्चित लेखत तथा साहित्यमा नोबेल पुरस्कार विजेता भीएस नयपालको आइतबार ८५ वर्षको उमेरमा निधन भएको छ । 

मेरो कुनै घर छैन,
मलाई यस्तो घर चाहियो
घरभित्र प्रकाश नहोस्
मलाई यसमा चिन्ता छैन
प्रकाशको घेराभित्र मेरो घर होस्
मलाई यस्तै घरको खाँचो छ
छ यस्तो कुनै घर तपाईंले देखेको?
 
देखेको हुनुहुन्छ भने 
मलाई त्यसको ठेगाना दिनुस्
देख्नुभएको छैन भने पनि केही छैन
म तपाईंलाई पनि सहानुभूति दिन सक्छु
मानिस भएर पनि तपाईँ–हामी यस्तो घरमा बस्न सकेका छैनौं
जुन प्रकाशको घेराभित्र छ । 
तर पनि हामी बेघरहरू परस्पर भरोसाको घेरामा त बस्न सक्छौं । 
(छ यस्तो कुनै घर तपाईंले देखेको?) –अज्ञेय 
 
हिन्दी कवि अज्ञेयको ‘छ यस्तो कुनै घर तपाईंले देखेको ?’ कविताका यी पंक्तिले मानिसलाई घरको महत्व कति हुन्छ भनेर देखाएको छ । अहिले विभिन्न कारणले हामी आफू बसेको गाउँ र समाज मात्रै होइन, मुलुक नै छाड्न बाध्य छौं । हामीमध्ये कति आफ्नै रहरले सुखसयल र समृद्धिको खोजीमा विदेशिएका छौँ त कतिपय विभिन्न कारणले बाध्य पारिएका छौं । कतिपय विभिन्न कालखण्डमा भएका युद्ध, हिंसात्मक घटना र प्राकृतिक प्रकोपका कारण आफ्नो देश छोड्न बाध्य छन् । यस्तो अवस्थामा आर्थिक रूपले जति नै सम्पन्न भए पनि मानिसहरू आफू जन्मेको देशको भाषा, संस्कृति र रहनसहनप्रतिको झुकावले परदेशमा रमाउन सक्दैनन् । आफू जन्मेको मात्रै होइन, आफ्ना पुर्खाहरू जन्मेको ठाउँप्रतिको मायाले पनि मानिसहरूलाई सताएको देखिन्छ । यस्तो समस्या खासगरी युरोप अमेरिकामा जन्मेका अफ्रिकी तथा भारतीयमूलका नागरिकहरूलाई भएको पाइन्छ ।

उपनिवेशकालमा धेरै भारतीय तथा अफ्रिकी नागरिकहरूलाई मजदुरका रूपमा युरोप, अमेरिका लगिएको थियो । तिनै नागरिकका सन्ततिहरू अहिले दोहोरो पहिचानसहितको जीवन बिताउन बाध्य छन् । त्यसो त बेलायती सेनामा कार्यरत नेपालीका छोराछोरीमा पनि त्यस्तो समस्या देखिन्छ । त्यही देशकै नागरिकता पाए पनि उनीहरू आफूलाई त्यहाँ प्रवासी नै महसुस गर्छन् ।

हामी जहाँसुकै रहे पनि हामीलाई आफ्ना मान्छेको आड र भरोसा चाहिन्छ भन्ने भारतीय कवि अज्ञेयको सन्देश यथार्थपरक छ । दोस्रो मुलुकमा रहँदा त्यहाँ हामीले भाषिक, तथा सामाजिक, सांस्कृतिक संघर्ष झेल्नुपर्छ । त्यस्तो स्थितिमा हामीलाई आफ्नाको खाँचो पर्दछ । त्यति मात्रै होइन, आफ्नो वास्तविक पहिचानका लागि पनि आफ्नै समूहको आवश्यकता पर्दछ ।

धेरै कवि, कलाकारहरू आफैं पनि यस्ता समस्याबाट गुज्रेका छन् र उनीहरूका कृतिमा यस्तै विषयको उल्लेख्य चर्चा पाइन्छ । नोबेल पुरस्कार विजेता नाइजेरियाली लेखक वोल सोयन्काले देशको राजनीतिक कारणले विदेशमा शरण लिनुपरेको थियो । जर्मन नाटककार बर्तोल्त ब्रेख्तले पनि आफ्नो जीवनको अधिकांश समय निर्वासनमा बिताएका थिए । उनले सन् १९३३ देखि १९४१ सम्म डेनमार्क, १९४१ देखि १९४७ सम्म अमेरिका र १९४७ देखि १९४९ सम्म स्विजरल्यान्डमा निर्वासित जीवन बिताएका थिए ।

बेलायती साम्राज्यले आफ्नो राज्य विस्तारसँगै अफ्रिका तथा भारतबाट धेरै मानिसलाई मजदुरका रूपमा फिजी, सुरिनाम, गुयाना तथा ट्रिनिडाड एन्ड टोबागो जस्ता मुलुक लगिएको थियो । तिनै मजदुरका सन्तान हुन्– सन् २००१ का लागि साहित्यमा नोबेल पुरस्कार विजेता लेखक भीएस नयपाल ।

पछिल्लो ५ दशकभन्दा लामो समय विश्व साहित्यमा आफ्नो दबदबा कायम राख्न सफल नयपालका कृतिहरूले विशेषगरी उपनिवेशताकाका र बेलायती साम्राज्यको पतनपछिका विषयवस्तुलाई समेटेका छन् । उनको उपन्यासहरूमा भारतीय प्रवासीहरूको मुद्धालाई प्राथमिकताको साथ उठाइएको छ ।

भारतीय नागरिक मात्रै होइन, उपनिवेश बनाइएका धेरै मुलुकका नागरिकहरू अल्पसंख्यक युरोपेली शासकबाट भएको दमन सामना गर्न बाध्य थिए । सोही क्रममा उनीहरूले युरोपेली भाषा, संस्कृति र कला–साहित्यलाई अफ्रिका÷एसियामा प्रचार–प्रसार गरे । भारतीय तथा अफ्रिकी शैक्षिक प्रणालीको बदलामा युरोपेली शैक्षिक प्रणाली प्रवेश गराए । आफ्नै देशमा भारतीय तथा अफ्रिकी नागरिक अपमान सहन बाध्य भएका थिए । त्यसै कारणले पनि साम्राज्यवादविरुद्ध आन्दोलन सुरु भएको थियो । अझ दोस्रो मुलुकमा लगिएका आप्रवासी कामदारलाई त मानवको व्यवहार पनि गरिँदैनथ्यो ।

सन् १९५९, १९६० र १९६१ मा भएको तिब्बत विद्रोहपछि धेरै तिब्बती नागरिकहरू नेपाल र भारतका विभिन्न ठाउँमा शरण लिन पुगे र शरणार्थी जीवन बिताउन बाध्य भए । उनीहरू नेपाल बसेको पनि लामो समय भइसक्यो । दोस्रो–तेस्रो पुस्ताका तिब्बती नागरिकहरूको त बिहेवारी नै नेपाली नागरिकसँग भइसकेको छ । सन् १९८९ भन्दा अघि आएका तिब्बती नागरिकलाई संयुक्त राष्ट्रसंघले शरणार्थी परिचयपत्र दिएको छ र उनीहरूले नेपालमा व्यवसाय तथा सम्पत्ति आर्जन गर्न सक्छन् । तर पनि उनीहरूलाई नेपाल घरजस्तो लाग्दैन । उनीहरूमा तिब्बती माटोप्रतिको माया देख्न सकिन्छ ।

भीएस नयपालले पनि धेरै समयपहिले भारतबाट क्यारेबियन मुलुक ट्रिनिडाड पुगेका भारतीयहरूको जीवनलाई आफ्ना उपन्यासका विषयवस्तु बनाएका छन् । ट्रिनिडाडमा रहेका भारतीयमूलका नागरिकहरूको पहिचान संकटमा रहेको कुरा उनका कृतिहरू पढ्दा थाहा पाउन सकिन्छ । उनले आफ्नो संस्कृति, भाषा र धर्मबाट बिछोडिनु पर्दाको दुःख आफ्ना रचनामा समेटेका छन् ।

आफ्नै जीवन र समाजका कुराहरू अभिव्यक्त गर्ने नयपालले सन् १९५५ मा २३ वर्षकै उमेरमा पहिलो उपन्यास ‘मिगेल स्ट्रिट’ लेखेका थिए । बीबीसीको क्यारेबियन सेवामा कार्यरत नयपालले त्यो उपन्यास ६ हप्तामै लेखेर सकेका थिए ।

त्यसो त लेखन क्षेत्रमा प्रवेश गर्दै गर्दा भीएस नयपालले अनेकौँ दुःख कष्ट भोगे । कलेजजीवनमा उनलाई निकै ठूलो आर्थिक अभाव भएको थियो । एकान्तपन र भविष्यको चिन्ताले एकपटक नयपालले आत्महत्याको प्रयाससमेत गरेका थिए भनिन्छ । नयपाललाई डिप्रेसनको खाल्डोबाट बाहिर ल्याउने काम उनकै बुवाले गरेका थिए । उनका बुवाले उनलाई थुप्रै पत्र लेखेर सम्झाए । नयपालले पछि ती पत्रलाई ‘लेटर्स बिट्वीन ब फादर एण्ड अ सन’का रुपमा पुस्ताकाकार दिए । 

सन् १९५७ मा उनले ‘द मिस्टिक मासेर’ उपन्यास प्रकाशित गरेपछि मात्रै उनले लेखेको पहिलो उपन्यास प्रकाशित भएको थियो । दर्जनौं प्रसिद्ध साहित्यिक पुरस्कार विजेता नयपाललाई नोबेल समितिले उनको लेखनशैलीको प्रशंसा गर्दै भनेको थियो, “नयपाल परम्परालाई बोक्ने आधुनिक दार्शनिक हुन् ।”

त्यसो त नयपाललाई समितिले प्रसिद्ध लेखक जोसेफ कोन्राडसँग तुलना गरेको थियो । नयपालको साहित्यिक यात्राले ‘अ हाउस फर मिस्टर विश्वास’को प्रकाशनसगै नयाँ मोड लियो । यो उपन्यासको प्रकाशनसँगै नयपाल साहित्यिक बजारमा आफ्नो उपस्थिति जमाउन सफल भए । उपन्यासले ट्रिनिडाडको ग्रामीण भेगको गरिब परिवारमा जन्मेको मोहन विश्वासको भद्रगोल जीवन र मृत्युसम्मको घटना समेटेको छ । मोहन ज्योतिषशास्त्र अनुसार अशुभ साइतमा जन्मेको हुन्छ र उसको दुबै हातमा ६ वटा औँला हुन्छन् । हिन्दू पुरोहितले यसलाई अशुभको संकेतको संज्ञा दिन्छन् । जब मोहन विश्वासका पिता उसलाई बचाउने क्रममा नदीमा डुब्छन्, ज्योतिषको भविष्यवाणी पूरा भएको मानिन्छ । त्यसपछि मोहन आफ्नी काकी ताराको सहयोगमा आमासँग माटोको झुपडीमा बस्न बाध्य हुन्छ ।

यो उपन्यासको मुख्य पात्र नयपालका पिता हुन् भनिन्छ । उपन्यास उनै नइपालका पिताको जन्मदेखि मृत्युसम्मका घटनाको संकलन हो । आमाले मोहन पण्डित बनोस् भन्ने चाहन्थिन् तर उसको चकचके व्यवहारका कारण गुरुले मन पराउँदैनन् । आमाले उसलाई बन्दोबस्तीको व्यवस्था मिलाउन अनेकौं प्रयास गर्छिन् । मोहनको जीवनले तब नयाँ मोड लिन्छ, जब उसले काम गर्ने साहुकी छोरीले उसलाई विवाहको प्रस्ताव राख्छे । सम्पत्तिको नाममा कौडी नभएको मोहनलाई ससुरालीमा बस्न दिन आमा राजी हुन्छिन् । ऊ बिहेपछि ससुरालीमै बस्न थाल्छ । मोहनलाई ससुरालीले बनाएका नियमदेखि रिस उठ्छ । उसलाई दिइने नमीठो खानादेखि पनि उसलाई खपिनसक्नु हुन्छ ।

मोहनले आफ्नै श्रीमतीको पनि साथ पाउँदैन । उसकी श्रीमती पनि बच्चाहरूसँग माइतीमै बस्न मन पराउँछे । मोहनले जागिर खाएर आफ्नै घर बनाउने सपना देख्छ । तर, पैसाको अभाव तथा अन्य कारणले उसको सपना पूरा हुँदैन । तर कालान्तरमा उसले आफ्नै घर बनाउँछ । त्यसपछि उसको जीवनमा खुसी फर्किन्छ । जीवनको उत्तराद्र्धमा मोहनले सन्तोषजनक रूपमा जीवन व्यतीत गर्छ ।

यो उपन्यास पात्रहरूको संरचनाका साथै मनोविज्ञानका माध्यमबाट पाठकहरूलाई तान्न सफल छ । यसलाई अर्को दृष्टिकोणबाट हेर्ने हो भने मोहनको ससुरालीलाई उपनिवेशको रूपमा लिन सकिन्छ, जहाँ शासित भारतीयहरूको जस्तै जीवन बिताउन बाध्य छ मोहन । सुख र समृद्धिको आशामा धनी केटीसँग बिहे गरे पनि मोहनले ससुरालीमा आत्मसम्मान पाउँदैन, जसरी प्रवासी नागरिकहरूले पाउँदैनन् ।

त्यस्तै, उनको अर्को चर्चित उपन्यास ‘हाफ अ लाइफ’मा साम्राज्यवादीहरूले छाडेर गए पनि बाँकी रहेका अवशेषहरूको बारेमा लेखिएको छ । साम्राज्यवादको पतन भए पनि त्यसले छाडेको प्रभाव भारत तथा धेरै अफ्रिकी मुलुकहरूमा देख्न सकिन्छ । अझै पनि अफ्रिकी मुलुकहरूमा स्वदेशी प्रविधिलाई मात्रै होइन, स्वदेशी जनशक्तिलाई पनि विश्वास गरिँदैन । अफ्रिकाका सडक डिजाइन कि त युरोपेलीले गर्छन् कि त चिनियाँले । अफ्रिकी इन्जिनियरहरू सक्षम नभएका होइनन तर पनि उनीहरूको क्षमतामाथि आफ्नै देशका नागरिकले विश्वास गर्दैनन् ।

प्याट्रिक फ्रेन्चले लेखेको उनको जीवनी ‘द वल्र्ड इज ह्वाट इट इज’मा नयपाल आफ्नी श्रीमती प्याट हेलसँग असन्तुष्ट भएर वेश्यालय धाउने गरेको कुरा उल्लेख छ । नयपालले हेललाई ‘तिमी केवल महिला मात्रै होऊ, तिमीमा कुनै कौशल नै छैन । तिमी त क्लर्ककी श्रीमतीले झैँ व्यवहार गर्छ्यौ’ भनेको कुरा उल्लेख छ उनको जीवनीमा ।

यस्तै साम्राज्यवादको अवशेष तथा धङधङीलाई प्रस्तुत गरेका छन् नाइजेरियाली लेखक वोल सोयन्काले चर्चित उपन्यास ‘इन्टरप्रेटर्स’मा । ‘हाफ अ लाइफ’मा नयपालले साम्राज्यवादीहरू वरिपरि नभए पनि उनीहरूले छोडेर गएको रोग भने यथावतै छ भनेका छन् । अझै पनि आफूहरू म्याथ्यु आर्नोल्डले भनेझैं उनीहरूबाटै सभ्यताको पाठ सिक्न चाहेको उल्लेख गरेका छन् । पुस्तकमा भनेका छन्, “अहिले हामी विभाजित जीवन बाँच्न बाध्य छौँ । हामी आफ्ना मौलिक संस्कृति र सभ्यतालाई पछ्याउनु भन्दा पनि आधा जीवनशैली यताको र आधा उताको जीवनशैली पछ्याइरहेका छौं ।”

नयपाल पटक–पटक आफ्ना अभिव्यक्तिका कारण विवादमा आएका छन् । कहिले इस्लाम धर्मलाई साम्राज्यवादको एउटा रूपको संज्ञा दिएर त कहिले अर्नेस्ट हेमिङ्वेजस्ता महान लेखकलाई ‘झुटो’ भनेर ।

त्यस्तै, आफूसमानका महिला लेखक विश्वसाहित्यमा नभएको भनेर विवादमा आएका नइपाल आफ्नो पारिवारिक जीवनका कारण पनि विवादमा आइरहन्थे । प्याट्रिक फ्रेन्चले लेखेको उनको जीवनी ‘द वल्र्ड इज ह्वाट इट इज’मा नयपाल आफ्नी श्रीमती प्याट हेलसँग असन्तुष्ट भएर वेश्यालय धाउने गरेको कुरा उल्लेख छ । नयपालले हेललाई ‘तिमी केवल महिला मात्रै होऊ, तिमीमा कुनै कौशल नै छैन । तिमी त क्लर्ककी श्रीमतीले झैँ व्यवहार गर्छ्यौ’ भनेको कुरा उल्लेख छ उनको जीवनीमा । सन् १९९६मा हेलको मृत्यु भएपछि नयपालले पाकिस्तानी पत्रकार नादिरा खानुम अल्वीसँग विवाह गरेका थिए ।

नयपालले रोजीरोटीका लागि प्रवासमा संघर्षरत भारतीयहरूको पीडालाई आफ्ना कृतिहरूमा उतारेका छन् । साथै उनले बेलायती शासकहरू भारतलगायतका देशहरूमा भौतिक रूपमा उपस्थित नभए पनि मनोवैज्ञानिक, सामाजिक तथा सांस्कृतिक रूपमा उनीहरूको उपस्थिति रहेको कुरा प्रष्ट पारेका छन् ।

‘अ बेन्ड इन् द रिभर’, ‘द एनिग्मा अफ् अराइभल’, ‘एन एरिया अफ् डार्कनेस’, ‘द लस अफ एल डोराडो’ जस्ता चर्चित पुस्तकका लेखक नयपाल भारतीय डायस्पोरालाई विश्वसाहित्यमा परिचित गराउने लेखक हुन् । सलमान रुस्दी, अमिताभ घोष, झुम्पा लहिरीहरू पनि विशेषगरी भारतीय डायस्पोराकै बारेमा कलम चलाउँछन् । 
 

अन्तिम अपडेट: भदौ २६, २०७५

उपेन्द्रराज पाण्डेय

कला, साहित्य र संस्कृतिमा कलम चलाउने उपेन्द्रराज पाण्डेयलाई फेसबुकट्विटरमा भेट्न सकिन्छ।

तपाईको प्रतिक्रिया