विराटनगर महानगरपालिका बम काण्ड : यस्तो थियो भित्री अवस्था, एकजना घाइते

 साउन २७, २०७५ आइतबार १७:४:५७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगर महानगरपालिकामा दिउँसो झण्डै २ बजेको समयमा कर्मचारीहरु काममा व्यस्त थिए ।

आइतबार भएकोले शुक्रबारका केही काम पनि पूरा गर्नु पर्ने भएकोले कर्मचारीहरु व्यस्त हुनु स्वभाविकै थियो । तर साउन महिना भएको कारण सेवाग्राहीहरु भने कमै थिए । सधैं व्यस्त हुने मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको सचिवालयमा भने कोही थिएनन् । 

महानगरपालिकाका मेयर भीम पराजुली पत्रकार शिवबहादुर कार्कीसँगको कुराकानीमा व्यस्त हुनुहुन्थ्यो । त्यही समयमा एकाएक ठूलो आवाज आएको मेयर पराजुलीले बताउनुभयो । 

एकाएक ठूलो आवाज आएपछि कुनै तार सर्ट भएको वा एसी पड्किएको हुनसक्ने शुरुमा अनुमान आफूले लगाएको मेयर भीम पराजुली बताउनुहुन्छ । तर धुुवाँको मुस्लो र बारुदको गन्ध आएपछि बम पड्किएको थाहा पाएको उहाँले बताउनुभयो । तर बम कसले विस्फोट गराएको भन्ने विषयमा अझै खुलेको छैन ।

विस्फोट मेयरको कार्यकक्षमा प्रवेश गर्ने ढोकाको प्यासेजका दक्षिण पट्टीको कोठामा भएको हो । दोश्रो तलामा रहेको मेयरको कार्यकक्षमा भएको विस्फोटको झड्काले तल रहेको को १ झ ४९४ नम्बरको गाडीमा समेत क्षति भएको छ ।

गाडीको  पछाडिको भागको शिशा फुटेको छ । विस्फोटबाट भवनका शिशा पनि फुटेका छन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
विराटनगर महानगरपालिकाकाकी उपमेयर इन्दिरा कार्कीले आइतबार भएको घटना सपना जस्तो लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो कार्यकक्षमा एउटा विवादको विषय आएको थियो । त्यो विषयमा छलफल गराउनको लागि तयारीमा थिएँ । निस्कँदै गरेको अवस्थामा एक्कासी ठूलो आवाज आएर पड्कियो । शुरुवामा उडाएको जस्तो लाग्यो । हेर्दा शरीर भरी धुलै–धुलो भएको रहेछ । धन्न बाँचे ।’

विराटनगर महानगरपालिकामा भएको बम विस्फोटको बारेमा प्रहरीले बुझ्न महानगरपालिकामा राखिएको सीसी क्यामेराको डिभाइस नियन्त्रणमा लिएको छ । घटना स्थलमा नेपाल प्रहरीको टोलीले अनुसन्धान गरिरहेको छ ।

एक्कासी बम विस्फोटको खबर आएपछि सुरक्षाकर्मी व्यापक परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीले बताउनुभयो । उहाँले सीसी क्यामेराको फुटेज हेरेपछि कसरी घटना भएको हो भन्ने बाहिर आउने जानकारी दिनुभयो ।

बम विस्फोटमा एकजना घाइते भएका छन्  । विराटनगर महानगरपालिकाका कार्यालय सहयोगी शिवचन्द्र ठाकुर बम विष्फोटमा घाइते भएको र उहाँलाई कोशी अञ्चल अस्पतालमा भर्ना गरिएको मेयर पराजुलीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया