बाइडेनलाई अमेरिकी चुनावी इतिहासमै सबैभन्दा बढी मत, ओबामाकाे रेकर्ड ताेडियाे

 कात्तिक २०, २०७७ बिहिबार १८:४०:३१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकामा राष्ट्रपतीय चुनावमा डाेनाल्ड ट्रम्पसँग प्रतिस्पर्धा गरिरहनुभएका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले इतिहासमै सबैभन्दा धेरै लोकप्रिय मत पाएका छन् । 

उनले पूर्वराष्ट्रपति बाराक ओबामाको रेकर्डलाई पनि तोडेको समाचार संस्था अलजजिराले जनाएको छ । सन् २००८ मा बाराक ओबामाले ६ करोड ९४ लाख ९८ हजार पाँच सय १६ मत पाएका थिए भने अहिले बाइडेनले सात करोड २० लाखभन्दा बढी मत पाएकाे खबरमा उल्लेख छ ।

बाइडेनले अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लोकप्रिय मतमा जित्नुभएको छ । तर केही राज्यमा मत गणना भइरहेकाले अन्तिम नतिजासम्ममा ट्रम्पले पनि पूर्वराष्ट्रपति ओबामाले प्राप्त गरेको मत ल्याउन सक्ने सम्भावना रहेको खबरमा उल्लेख गरिएको छ ।

अमेरिकामा राष्ट्रपतिको चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा कायमै छ । अहिलेसम्मको नतिजाअनुसार जो बाइडेन जित नजिक पुगेका छन् । राष्ट्रपतिका लागि आवश्यक पर्ने दुई सय ७० इलेक्ट्राेल मतमा बाइडेन ६ मतले मात्रै पछि छन्  ।

पछिल्लो परिणामअनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले दुई सय ६४ र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले दुई सय १४ इलेक्ट्राेल मत प्राप्त गरेका छन् । अमेरिकाका ५० राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ ।  

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Dhanu somai magar

    Nov. 5, 2020, 7:02 p.m.

    अब यसले केही गर्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया