कहिल्यै नबिर्सने घाउ बन्यो छोरा निशानको हत्या, छिनछिनमा भक्कानिन्छन् बाबुआमा

 साउन २७, २०७५ आइतबार १७:४५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

भक्तपुर – भक्तपुरको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ काँडाघारीमा किरियापुत्री बस्ने घरमा बस्दै आउनु भएकी चमेली खड्का छोराको शोकबाट अलिकति पनि माथि उठ्नु भएको छैन ।

अपहरणकारीले उहाँको छोरा ११ वर्षका बालक निशान खड्का अपहरण गरी हत्या गरेको आइतबार सात दिन भइसक्यो तर उहाँको अवस्था भने उस्तै नै छ । छोराको अपहरण भएदेखि आजसम्म खाना नखाएको चमेलीको रातमा निन्द्रा समेत राम्ररी नपर्दा शरीर निकै कमजोर भइसकेको छ । 

‘आमा म एकछिन खेलेर आउँछु है, भन्दै खेल्न गएको छोरा फर्कंदैन भन्ने के थाहा थियो र ?, मेरो बाबु म कसरी बिर्सँनु’, उहाँको पीडा उत्तिकै झल्कन्छ ।मलेसियाबाट फर्कनु भएका उहाँका श्रीमान् गणेश खड्काको अवस्था पनि उस्तै छ । सम्झाउन आउने र सान्त्वना दिन भेट्न आउनेहरुसँग बोल्ने शब्द पनि छैन उहाँहरुसँग ।

छोरा निशानको किरियामा बसेका गणेश छोराको बिभत्स हत्याले बनेको मनको घाउ बिर्सन नसक्ने अवस्थामा पुगेको परिवार बताउँछन् । अपहरणकारीले अपहरण गरी मारेको सात दिन बितिसक्दा पनि यो परिवारको अवस्था बुझ्न र सान्त्वना दिन आइतबारसम्म कुनै सरकारी टोली पुगेको छैन । चमेली भन्नुहुन्छ, ‘सात दिन भयो, सरकारी टोली कोही आएका छैनन्, मलाई त्यसको वास्ता पनि छैन, म केही बोल्न सक्ने अवस्थामा छैन ।’ उहाँ छोराको सम्झनामा भक्कानिएर रुँदा भेट्न आउनेहरुको आँखा पनि रसाउने गरेको छ ।  

सात दिन बितिसक्दा पनि चमेलीको आँखा ओभाएको छैन । शोक र पीडाले उहाँको अवस्था कमजोर बन्दै गएको चमेलीको भाई रामकाजी सापकोटा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘घट्ना भएको दिनदेखि दिदीले आजसम्म खाना खानुभएको छैन, न त राम्ररी सुत्नु नै भएको छ, कमजोर भइसक्यो, सम्झाउँदा, बुझाउँदा पनि आमाको मन न हो, कसरी मान्थ्यो र ?’

निशानका बाबु गणेशको मलेसियाबाट सिधैं आर्यघाट पुगेर छोराको दाहसंस्कार गरेर आएपछि टोलाउने गरेको उहाँ बताउनुहुन्छ । ‘छोराको शोकले बाबुलाई पनि निकै पिरोलेको छ’, उहाँ भन्नुहुन्छ । ‘निशानका साना दुई दिदीहरुको पीडा पनि उस्तै छ । सानो भाइ गुमाउँदाको ती साना नानीहरुको आँखा पनि ओभाएको छैन’, सापकोटा भन्नुहुन्छ । 

बुढेसकालमा पुग्नु भएको चमेलीका बुबा मिनबहादुर सापकोटाको अवस्था पनि उस्तै छ । नातीको सम्झनामा टोलाउने, बेलाबेलामा आरुलाई सम्झाउँदै आफू पनि रुँने गर्दा पीडा सधैंका लागि निको नहुने घाउ बनेर बसेको छ । 

सरकारी टोली र सरकारले पीडितका बारेमा बेवास्ता गरेको आफन्तको गुनासो छ । चमेलीका भाइ रामकाजी सापकोटा भन्नुहुन्छ, ‘अहिलेसम्म कोही सरकारी टोली भेट्न आएका छैनन, अवस्था बुझ्न पनि कोही आएका छैनन्, अब के गर्ने भन्नेबारेमा केही सल्लाह भएको छैन, १३ दिनको किरिया सकिएपछि यसबारेमा केही कुरा होला, अहिले त्यतातिर ध्यान दिएका छैनौ ।’ 

जिल्ला प्रशासन कार्यालय काठमाडौका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले औपचारिक रुपमा पीडित बालकको परिवारलाई भेट्न नगए पनि अनौपचारिक रुपमा सम्पर्कमा रहिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘घटना प्रति सरकार दुःखी छ, सरकारको सहानुभूति पनि छ, उहाँहरु अहिले शोकमा हुनुहुन्छ, किरियामा हुनुहुन्छ, किरिया सकिएपछि भेटघाट होला ।’

गएको २० गते आइतबार झण्डै ५ बजे खेल्न गएका ११ वर्षका निशानको अपहरण गरी हत्या गर्ने सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङ्ग र नुवाकोट समरीका २४ वर्षीय अजय तामाङ्ग सोही दिन प्रहरीको इन्काउण्टरमा मारिएका छन् ।

बालकको शव भने बुबा गणेश मलेसियाबाट फर्किएपछि २४ गते पुशपति आर्यघाटमा दाहसंस्कार गरिएको छ भने अपहरणकारी मध्ये दुवैको शव पनि आफन्तले बुझेर दाहसंस्कार गरिसकेका छन् । 


 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया