पर्यटनमन्त्री भट्टराईद्वारा सुकेटार विमानस्थलकाे अवलाेकन, सरकारले दिएकाे जिम्मेवारी पूरा गर्न निर्देशन

 कात्तिक २१, २०७७ शुक्रबार १६:१३:२८ | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – कञ्चनजङ्घा हिमालको काखमा रहेको ताप्लेजुङ जिल्लाको सुकेटार विमानस्थलको स्तरवृद्धि गरिने कामको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अवलोकन गर्नुभएको छ । 

शुक्रबार बिहान आफ्नो गृह जिल्ला ताप्लेजुङ आउनुभएका मन्त्री भट्टराईले विमानस्थलको स्तरवृद्धि गरिने काम समयअघि नै सक्न निर्देशन दिनुभयो । हेलिकप्टर, हवाई जहाज गरी दैनिक चार–पाँच उडान हुनेसमेत उहाँले बताउनुभयो । 

पर्यटनमन्त्रीसँगै आउनुभएका नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक राजन पोख्रेलले पनि विमानस्थलको निरीक्षण गर्नुभयो । देशका हिमाली तथा पहाडी जिल्लाका ३३ वटा विमानस्थलमा स्तरवृद्धि गर्ने काम भइरहेको पोख्रेलले बताउनुभयो । विभिन्न प्रदेशका राजधानीबाट सबै जिल्लामा हवाई जहाज सञ्चलान गरी नागरिकलाई सुविधा दिने योजना रहेको पनि निर्देशक पोख्रेलले बताउनुभयो ।  

सुकेटर विमास्थलको स्तरवृद्धि गर्ने काम भइरहेको र अहिलेसम्म ६५ प्रतिशत काम सम्पन्न भएको सुकेटर विमास्थल प्राधिकरण शाखा कार्यालयका प्रमुख सूर्य खत्रिले जानकारी दिनुभयो । अहिलेसम्ममा टर्मिनल भवन रङ्गरोगन गर्ने, विमानस्थलको मुख्य गेटदेखि सहायक गेटसम्मको बाटो ढलान गर्ने, नाली बनाउने काम सम्पन भएको प्रमुख खत्रीले बताउनुभयो । 

उहाँले विमानस्थलको पूर्वपटिको डाँडो काट्ने काम भइरहेको जानकारी दिनुभयो । साथै अहिले रहेको धावन मार्गलाई ७ सयबाट बढाएर आठ सय ५० मिटर बनाउने काम भइरहेको उहाँले बताउनुभयो । समयभन्दा एक वर्षअघि नै आउँदो चैतसम्ममा काम सक्ने प्रमुख खत्रीले बताउनुभयो । 

पर्यटकीय क्षेत्र भए पनि सुकेटर विमानस्थलमा १२ महिनामा ६ महिना मात्र जहाज सञ्चालन हुँदा पर्यटकको आगमनमा शिथिलता आएको छ । स्तरवृद्धि भएसँगै ताप्लेजुङका पर्यटकीय तथा धार्मिक स्थल पाथीभरा, कञ्चजङ्घा फुङफुङे भरनालगायतमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ ।  

चार वर्ष अगाडि विमानस्थलको सात सय मिटर लम्बाइको धवनमार्गको कालोपत्रे गरिएको थियो । २०२८ सालमा स्थानीयको पहलमा निर्माण भएको सुकेटार विमानस्थलमा ४४ वर्षपछि आर्थिक वर्ष २०७०/०७१ मा कालोपत्रे भएको थियो । 

सरकारले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन

सात दिने भ्रमणका लागि ताप्लेजुङ आइपुग्नुभएका मन्त्री भट्टराईले कामकाज गर्दा सरकारले दिएको जिम्मेवारीलाई इमानदारिताका साथ पूरा गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिनुभएको हो । सरकारले दिएको जिम्मेवारीबाट पन्छिएर नागरिकलाई दुःख दिने काम नगर्नसमेत उहाँले निर्देशन दिनुभयो । 

जिल्ला सदरमुकाममा कारोना सङ्क्रमितका लागि कम्तीमा ५० बेडको आइसोलेसन वार्ड बनाउनसमेत मन्त्री भट्टराईले निर्देशन दिनुभयो । साथै गाउँपालिकामा कम्तीमा पनि पाँच जनासम्मको आइसोलेसन वार्ड हुनुपर्ने उहाँको निर्देशन थियो । 

सांसद विकास कोषबाट छुट्याइएको रकमले विकास निर्माणका काम समयमा सक्नसमेत मन्त्री भट्टराईले निर्देशन दिनुभयो । उहाँले सबै कर्मचारीहरुले इमानदारिताका साथ काम गर्नुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ९, २०८१

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया