इंग्ल्याण्डसामु भारत फेरि पनि निरीह, दोसो टेष्टमा एक इनिङ र १५९ रनको लज्जास्पद हार

 साउन २८, २०७५ सोमबार ८:३०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले दोसो टेष्टमा एक इनिङ र १५९ रनको हार व्यहोरेको छ ।

यससँगै पाँच टेष्टको श्रृंखलामा इंग्ल्याण्डले २-० को अग्रता पनि लिएको छ ।

क्रिकेटको मक्का मानिने लर्ड्समा भारतविरुद्ध इंग्ल्याण्डले एक इनिङ र १५९ रनको विशाल जित हासिल गरेको हो ।

वर्षाले प्रभावित दोस्रो टेष्टमा तीव्र गतिका इंग्लिस बलरसामु भारतीय ब्याट्सम्यानको प्रदर्शन दयनीय रह्यो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ३५ ओभरमै अलआउट हुँदै मात्र १०७ रन बनाएको थियो ।

भारतलाई कमजोर बनाउन जेम्स एण्डरसनले ५ विकेट तथा क्रिश वाेक्सले २ विकेट लिएका थिए ।

पहिलो इनिंगमा जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले क्रिश वाेक्सको शानदार शतकको सहयोगमा ३९६ रन बनायो । ७ विकेट गुमाएर इंग्ल्याण्डले इनिंग समाप्तिको घोषणा गर्दा भारत पहिलो इनिंगमै २८७ रनले पछि पर्यो ।

वाेक्सले १३७ रनको शानदार इनिंग खेलेका थिए भने जाेनी वेरस्टोले पनि ९३ रन बनाएका थिए ।

दोस्रो इनिंग भारतका लागि अझै बिर्सनलायक रह्यो । स्टुवार्ट ब्रोड र जेम्स एण्डरसनले दुई छेउबाट लगातार विकेट लिएपछि दोस्रो टेष्टको चौथो दिन नै इंग्ल्याण्डले खेल जित्यो ।

भारत ४७ ओभर खेलेर १३० रनमै अल अाउट भएपछि इंग्ल्याण्डको इनिङ र १५९ रनको जित सम्भव भएको हो ।

पहिलो इनिंगमा सर्वाधिक २९ रन जोडेका रविचन्द्रन आश्विनले नै दोस्रो इनिंगमा पनि सर्वाधिक अविजित ३३ रन बनाए ।

बलिङ तर्फ ब्राेड र एण्डरसनले ४-४ विकेट लिएका थिए । अब तेस्रो टेस्ट नटिङह्याममा अगष्ट १८ देखि शुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया