अमेरिकी चुनाव : ट्रम्पले पहिले बाइडेनले जितेको भने, पछि आफ्नो ‘जितको घोषणा’ गरे

 मंसिर १, २०७७ सोमबार १६:५६:२३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बिहान आफ्नो आधिकारिक ट्विटर एकाउन्टबाट आफ्नो जितको घोषणा गरेका छन् । 

यद्यपि ट्रम्पले यसअघि पहिलाे पटक डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको जित स्वीकार गरेको देखिएकाे छ । तर पनि उनले राष्ट्रपतीय चुनावमा हार नमान्ने बताएका छन् ।  

उनले चुनावमा धाँधली भएको अपुष्ट दाबी गर्दै ट्विटरमा लेखेका थिए, ‘उनी (जाे बाइडेन) ले जिते किनकि चुनावमा धाँधली भएको छ ।’

यो भनेको एक घण्टापछि ट्रम्पले आफूले गएको ३ नोभेम्बरमा भएको मतलाई स्वीकार नगर्ने बताएका थिए । ट्रम्पको टिमको तर्फबाट केही महत्त्वपूर्ण राज्यमा मुद्दा दायर गरिएको छ तर आफ्नो दाबी सिद्ध गर्नको लागि कुनै प्रमाण पेस गरिएको छैन । अहिलेसम्म दायर गरिएका सबै मुद्दा असफल भएका छन् । 

यता, चुनाव अधिकारीहरुले गएको शुक्रबार यो चुनाव अमेरिकी इतिहासकै सबैभन्दा सुरक्षित चुनाव भएको बताएका थिए । उनीहरुले भनेका थिए, ‘चुनावी प्रक्रियामा मत मेट्ने, हराउने र परिवर्तन कोसिस भएको प्रमाण भेटिएको छैन ।’

अहिले डेमोक्रेटिक पार्टीसँग ३०६ इलेक्टोरल कलेज मत छ, चुनाव जित्नका लागि २७० मतको आवश्यकता पर्छ । यस्तो अवस्थामा मतको गणना फेरि गरिए वा कुनै कानुनी चुनौती आए पनि चुनावको मूल नतिजामा परिवर्तनको सम्भावना देखिँदैन । 

लोकप्रिय मतमा पनि बाइडेन ५० लाखभन्दा धेरै मतले अघि छन् । यति हुँदा पनि ट्रम्पले अहिलेसम्म हार स्वीकार गरेका छैनन् ।  

हार स्वीकार नगर्दा चिन्ता बढ्यो  

राष्ट्रपति ट्रम्पले हार स्वीकार नगर्दा नयाँ सरकार गठनसँग जोडिएको समान्य हस्तान्तरण प्रक्रिया रोकिएको छ । तर आउँदो २० जनवरीमा नयाँ सरकारको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ । 

यो प्रक्रिया सम्हाल्ने संस्था जनरल सर्भिस एडमिनिस्ट्रेशनले अहिलेसम्म जो बाइडेन र उनका सहकर्मी कमला ह्यारिसलाई विजेताको रुपमा स्वीकार गरेको छैन ।

बाइडेनको टिमलाई वर्गीकृत सुरक्षा ब्रिफिङ, सङ्घीय एजेन्सी र कोष आदि उपलब्ध गराइएको छैन, यी सब कुरा सत्ताको सहज हस्तान्तरणका लागि आवश्यक छ । 

अमेरिकामा शीर्ष सङ्क्रामक रोग विशेषज्ञ तथा ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य डाक्टर एन्थोनी फाउचीले सार्वजनिक स्वास्थ्यको लागि पनि सहज सत्ता हस्तान्तरण आवश्यक भएको बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया